ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, August 23, 2009

माओवादी नेताहरु देश दौडाहामा

किरण पुन, काठमाडौं, भदौ ७- प्रमुख प्रतिपक्षी एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकपछि कार्यकर्तासम्म एकताको भाव पुर्‍याउने भन्दै शीर्ष नेताहरुको जम्बो टोली देश दौडाहामा छ। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन बैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिवद्वय चन्द्रप्रकाश गजुरेल र पोष्टबहादुर बोगटी राज्य समितिस्तरीय प्रशिक्षण दिन राजधानीबाहिर ब्यस्त छन्।
गत मंसिरमा सम्पन्न खरिपाटी राष्ट्रिय कार्यकर्ता भेला र माओवादी-एकताकेन्द्र मसालसाग एकीकरणपछि देशव्यापी प्रशिक्षण राखिएको पार्टीले जनाएको छ। खरिपाटीदेखि चुलिएको अध्यक्ष दाहालको संस्थापन र मोहन बैद्य गुटबीचको 'दूरी' मेट्न र पार्टी एकीकरणपछि कार्यकर्ताबीचको भावनात्मक एकता कायम गर्न दौडाहा थालिएको हो।

'केन्द्रीय समितिको निर्णय कार्यकर्तासम्म पुर्‍याउन र पार्टीभित्र वैचारिक एकरुपता कायम गर्न र त्यस्तो भावलाई तलैसम्म सम्प्रेषण गर्न देशव्यापी प्रशिक्षण थालिएको हो,' प्रवक्ता दीनानाथ शर्माले नागरिकसँग भने।

गत साउन पहिलो साता सम्पन्न बैठकमा संस्थापन र मोहन बैद्य समूहबीच जनविद्रोहको बाटोमा जाने वा अहिलेकै कार्यनीतिलाई सदर गर्ने भन्ने विषयमा चर्को बहस भएको थियो। मोहन बैद्य गुटमा सचिव चन्द्रप्रकाश गजुरेल मात्र छन्। खरिपाटी राष्ट्रिय कार्यकर्ता भेलामा पनि अध्यक्ष दाहाल र मोहन बैद्यको फरक मत मिसाएर प्रतिवेदन पारित गरिएको थियो।

प्रशिक्षण एकता केन्द्र-मसालसितको एकतापछिको भावनात्मक एकताभन्दा पनि दाहाल र वैद्य गुटबीचको संघर्षले बनाएको दरार मेटाउनतिर केन्द्रित रहेको एक केन्द्रीय नेताले बताए। दुई गुटको चर्को विवाद तलसम्म पनि पुगेको छ। एक गुटले अर्को गुटलाई पछार्ने आन्तरिक खेलले माओवादीलाई घाटा पुर्‍याएको ती नेताले बताए। 'सकेसम्म सातैजना पदाधिकारी जाने भनेका छौं,' प्रवक्ता शर्माले भने, 'जरुरी काम परेरै कतिपय प्रशिक्षणमा सबै जान सकेका छैनन्।'

केन्द्रीय बैठकलगत्तै नेवाः र ताम्सालिङ राज्य समितिको काठमाडौंमा र पोखरामा तमुवान र मगरात राज्य समितिको प्रशिक्षण सम्पन्न भएका थिए।

पोखरा प्रशिक्षणलगत्तै गत साउन २४ मा सपरिवार युरोप गएर अध्यक्ष दाहालले बेल्जियम र बेलायतका कार्यकर्तालाई प्रशिक्षण दिएका थिए। दाहालको एक साता लामो युरोप भ्रमणलगत्तै धरानमा किराँत, लिम्बुवान र कोचिला राज्य समितिको प्रशिक्षण सम्पन्न भएका छन्।

यसैगरी, शुक्रबार मात्र मधेस राज्य समन्वय समिति अन्तर्गतका अबध, भोजपुरा र मिथिला राज्यको प्रशिक्षण सकिएको छ। आइतबार नेपालगन्जमा थारुवान्, भेरी-कर्णाली र सेती-महाकाली तीन राज्य समितिको प्रशिक्षणपछि माओवादीको राज्य समितिस्तरीय प्रशिक्षण सकिने छ।

भारतमा क्रियाशील माओवादी कार्यकर्तालाई प्रशिक्षण दिएपछि प्रशिक्षण सकिने विदेश विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिए।


source:[http://nagariknews.com/politics/party-politics/4247-2009-08-23-02-49-56.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by