ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, August 27, 2009

सभासद्ले कुटे मजदुर


'मलाई जानाजान दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रयास गरियो, जनताको प्रतिनिधि सभासद्माथि दुव्र्यवहार गर्नेमाथि कारबाही हुनुपर्छ’सभासद् इस्तियाक राई

ठाकुरसिंह थारू/नयाँ पत्रिका

नेपालगन्ज, १० भदौ

संविधान बनाउन चुनाव जितेर काठमाडौं पुगेका सभासद् गाउँ फर्केर जनता कुट्न थालेका छन् । भारतीय गाडीमा सवार सभासद् इस्तियाक राईले साइकल चढेका मजदुर कुटेपछि नेपालगन्ज बुधबार दिनभर तनावग्रस्त रह्यो ।

साइकलमा चढेका श्याम खड्काले बाटो नछाडेको भन्दै सभासद् राईसँग विवाद भएको थियो । विवादसँगै सभासद् राईले मजदुर खड्कालाई कुटपिट गरे । स्थानीय बासिन्दाले प्रतिकार गर्न खोजेपछि सभासद् राई भागेर आफ्नो पार्टी (फोरम) कार्यालयभित्र पसे । पार्टी कार्यालयबाट फोन गरेर सभासद् राईले जम्मा गरेको समूहले स्थानीय व्यवसायीको किया माइक्रोबस जलाइदिएको छ । सभासद् राईको गाडी भने प्रहरीले 'स्कर्टिङ' गरेर सीमा पार गराइदिएको छ ।

बिजुली 'वायरिङ'को काम गर्ने मजदुर श्याम खड्का बुधबार स्थानीय सहिद सेतु विक चोकमा वाइरिङ गर्दागर्दै थप सामान ल्याउन बजार जाँदै थिए । सेतु विक चोकबाट श्याम साइकलमा गइरहेका थिए, पश्चिमबाट भारतीय नम्बरको जीप आइरहेको थियो । गाडीचालकले साइड दिन भनेपछि साइकल र गाडीवालाबीच विवाद भयो । साइकलमा एकजना थिए, गाडीमा चार-पाँचजना ।

'गाडी विपरीततिरबाट साइड पेलेर आएको थियो, मैले साइड दिनुपर्ने कुरै थिएन,' खड्काले नयाँ पत्रिकासित भने, 'तर उनीहरूले हकारेपछि मैले किन गाली गरेको भन्ने प्रश्न गरेँ, तर उनीहरू मेरो प्रश्नको जवाफ दिनुको साटो ओर्लेर भटाभट कुट्न थाले ।'

खड्कालाई कुनै भारतीयले कुट्यो भन्ने लागेको थियो । त्यसैले नेपालमा आएर भारतीय ज्यादती गरेको भन्दै उनले गुहार मागे । खड्काको आवाज सुनेर जम्मा भएका स्थानीय युवाले प्रतिकार गर्न खोजेपछि सभासद् राईको समूह त्यहाँबाट हिँडिहाल्यो ।

गाडी गुडेपछि स्थिति साम्य भएको थियो । तर, केहीबेरमा सभासद् राईलाई सहिद सेतु विक चोकनजिकै केही युवाले अभद्र व्यवहार गरेको भन्दै फोरमका कार्यकर्ताले बजार बन्द गराउन थाले, गाडी जलाउन थाले । फोरम कार्यकर्ताले त्रिभुवन चोकमा रा.१ज ३७० नम्बरको किया माइक्रोबस जलाएको प्रहरीले जनाएको छ ।

तर, मजदुर खड्काले भने आफूलाई कुटपिट गर्ने समूह सभासद् राईको भएको पछि मात्र थाहा पाएको बताए । 'उहाँ (सभासद् राई) को नाम त सुनेको थिएँ, तर मसँग विवाद गर्ने र कुटपिट गर्ने त कुनै भारतीय होला भन्ने ठानेको थिएँ,' उनले भने । उता सभासद् इस्तियाक राईले आफूमाथि दुव्र्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । 'मलाई जानाजान दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रयास गरियो । जनताको प्रतिनिधि सभासद्माथि दुव्र्यवहार गर्नेमाथि कारबाही हुनुपर्छ,' उनले नयाँ पत्रिकासित भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक मिग्मार लामाले सभासद् राई र अर्को पक्षलाई राखेर सहमतिको प्रयास भइरहेको बताएका छन् । बुधबार रातिसम्म भएको वार्ता असफल भएपछि बिहीबार बिहान फेरि बसेर विवाद टुंग्याउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलमा राजनीतिक दल र सम्बन्धित पक्ष सहभागी छन् ।

जानाजान दुव्र्यवहार भयो

इस्तियाक राई, सभासद्

हामी धम्बोझी चोकनजिकै रहेको जामा मस्जिदमा नवाज पढेर फर्किंदै थियौँ । मेरो आफ्नै दाइ जमालुद्दिनले गाडी चलाउनुभएको थियो । चोकदेखि केही पूर्व साइकल लिएर एकजना युवा बाटोमा उभिएको थियो ।

हामी त्यहाँ पुग्दा उसले एक्कासि गाली गर्‍यो । मसँगै रहेका प्रहरी हवल्दारले सभासद्ज्यू हुनुहुन्छ भन्दा पनि उसले गालीगलौज गर्‍यो । तर, हामीले उसलाई केही पनि गरेनौँ । हामीले गालीगलौज किन गरेको भनेर सोध्न नपाउँदै त्यहाँका एक/डेढ सय मानिस आएर कुटपिट गर्न खोजे । हामी त्यहाँबाट भाग्न सफल भयौँ ।

परिचय दिँदादिँदै पनि मलाई अभद्र व्यवहार गरियो । आफूमाथि भएको अभद्र व्यवहारबारे प्रहरीलाई पनि जानकारी गराएँ । तर, त्यति मतलब गरेन प्रहरीले । आफूमाथि भएको अभद्र व्यवहारबारे आफ्ना कार्यकर्तालाई जानकारी गराएँ । आक्रोशित बनेका कार्यकर्ता र जनताले बजार बन्द गराएका हुन् । कुरा यत्ति हो ।

मैले त चिनेको पनि थिइनँ

श्याम खडका, २२ वर्षीय मजदुर

म बिजुलीको काम गर्छु । सहिद सेतु विक चोकनजिकैको घरमा बिजुली वायरिङ गर्दागर्दै थप सामान ल्याउन साइकल चढेर बजार आइरहेको वेला पश्चिमबाट एउटा भारतीय नम्बरको जीप आइरहेको थियो । म साइडमा थिएँ । अगाडि अरू पनि गाडी थिए ।

जीपका चालकले मलाई साइड लाग्न भन्दै हकारे । मैले पनि किन गाली गरेको ? आफ्नो साइडमा छु भनेँ । मैले सभासद् इस्तियाक राईज्यूलाई चिनेको थिइनँ, विवाद हुँदा पनि चिनिनँ । गाडी उहाँको रहेछ, गाडीमा चार/पाँचजना मानिस बसेका थिए ।

मेरो विवाद पहिले गाडी चलाउने व्यक्तिसँग भएको हो । त्यसपछि गाडीबाट अर्को मानिस झर्‍यो ।

उसलाई पनि मैले चिनिनँ । उनीहरूले गाडीबाट झरेर मलाई कुटपिट गरे । मलाई कुटपिट गरेको देखेपछि नजिकै रहेका मानिस जम्मा भए । र, किन कुटेको हो भन्दै उनीहरूको प्रतिकार गरे ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/5310.html]


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by