ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, August 28, 2009

प्रमको विदेश भ्रमणमा २ करोड खर्च


काठमाडौ भदौ १२ (नागरिक) - आर्थिक वर्ष सुरु भएको डेढ महिना नपुग्दै विशिष्ट व्यक्तिको भ्रमणमा तीन करोड रुपैयाँ सकिएको छ। प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको भ्रमणमा सबैभन्दा बढी खर्च भएको छ।

सरकारले विशिष्ट व्यक्तिको भ्रमण भत्ताका लागि यस वर्ष २ करोड ५० लाख रुपैयाँ छुट्याएको थियो। दुई महिना नबित्दै बजेट सकिएको हो।

प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका बेला सबैभन्दा बढी रकम खर्च भएको छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाँदा १ करोड ५९ लाख ५० हजार खर्च भएको जनाउँदै अर्थ मन्त्रालयसँग पैसा मागेको छ।


प्रधानमन्त्री नेपालले नयाँ दिल्ली र भारतको आर्थिक राजधानी मुम्बईको भ्रमण गरेका थिए। प्रधानमन्त्री भारत जानुअघि मन्त्रिपरिषद्ले भ्रमणका लागि २४ लाख रुपैयाँ मात्र स्वीकृत गरेको थियो।


अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जाँदा १ करोड २ लाख रुपैयाँ खर्च भएको थियो। दाहालअघि भारत गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भने सम्पूर्ण भ्रमण खर्च भारत सरकारले नै ब्यहोरेको थियो। गत आर्थिक वर्ष पनि बजेटमा विनियोजन विशिष्ट व्यक्तिको भ्रमणमा बजेटमा राखिएभन्दा बढी खर्च भएको थियो।

प्रधानमन्त्रीको पाँचदिने भारत भ्रमण दलमा ६४ जना थिए। प्रधानमन्त्रीभन्दा केही दिनअघि भारत भ्रमणमा जाँदा परराष्ट्र मन्त्री सुजाता कोइरालाले करिब १२ लाख खर्च गरेकी थिइन्। कोइरालाले प्रधानमन्त्रीको भारत भ्रमणका लागि वातावरण बनाउन गएको बताएकी थिइन्। तर, उनी प्रधानमन्त्रीको भ्रमणमा सहभागी भइनन्।

रक्षा मन्त्री विद्यादेवी भण्डारीसमेत ४ जनाको समूहले भारत भ्रमण गर्दा ४ लाख रुपैयाँ खर्च गरेको थियो। प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको भ्रमणको पैसा अर्थले परराष्ट्रलाई भुक्तानी दिन बाँकी छ।

प्रधानमन्त्रीले असंलग्न आन्दोलनको १५ औं शिखर सम्मेलनमा जाँदा ८७ लाख ६६ हजार खर्च भएको थियो। यो रकम अर्थले परराष्ट्रलाई भुक्तानी दिइसकेको छ।

1 comment:

  1. sala neta haru yestai hun, mamako ghoda mero hehe

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by