ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, August 28, 2009

संवैधानिक समितिको सभापतिमा आचार्य

आचार्यले सपथ लिए
काठमाडौं, भदौ १२ (नागरिक)- संविधानसभा संवैधानिक समितिको निर्वाचनमा नेपाली कङ्ग्रेसका नीलाम्बर आचार्य निर्वाचित भएका छन्। उनको पक्षमा २९ मत परेको थियो भने उनका विपक्षी माओवादीका नारायणकाजी श्रेष्ठले २१ मत पाएका थिए। तराई मधेश लोकतान्त्रिक पार्टीका ३ जना र राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले बहिष्कार गरेका थिए। ५९ मतदातामध्ये ५० जनाले मतदान गरेका थिए। समितिका कुल सदस्य ६३ रहे पनि अन्य समितिमा मताधिकार प्रयोग गरेका चार जनाले मतदानमा सहभागी हुन पाएनन्।

जीतपछि आचार्यले आफू सबैको सभापति भएको र सबैको सहयोगमा अघि बढ्ने प्रतिक्रिया दिए। आम सहमति हुन नसकेकाले केही असहज हुन्छ नै भन्दै उनले सबैलाई मिलाएर जाने पनि बताए। 'म संवैधानिक समितिले गर्नुपर्ने सबै काम तत्काल अघि बढाउँछु'- उनले भने। निर्वाचनबाट आएको सभापति सबैको सभापति हो भन्दै उनले माओवादीले पनि सहयोग गर्ने आश्वासन दिइसकेको आचार्यले बताए।

चुनावमा पराजयपछि माओवादी उम्मेदवार श्रेष्ठले यो माओवादीलाई अलग्याउने प्रयास भएको प्रतिक्रिया दिए। उनले आफूले निर्वाचित अध्यक्ष आचार्यलाई 'संघीय जनगणतन्त्रात्मक संविधान निर्माणमा तपाईंको ठूलो भूमिका हुने भएकाले त्यसलाई पूरा गर्नुस्, हाम्रो पूर्ण सहयोग हुनेछ' भनेको सञ्चारकर्मीलाई बताए।

आचार्यलाई नेपाली काँङ्ग्रेसका सुप्रभा घिमिरेले प्रस्ताव र सोही पार्टीका रत्न शेरचेनले समर्थन गर्नुभएको थियो। सभापति पदका अर्का उम्मेदवार श्रेष्ठलाई एकीकृत नेकपा (मओवादी) का वरिष्ठ नेता बाबुराम भट्टराईले प्रस्ताव र देव गुरुङ्ले समर्थन गर्नुभएको थियो।

समितिका तत्कालिन सभापति माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु भएपश्चात् गत जेठ ९ गतेदेखि सो समितिको सभापति पद रिक्त भएको थियो।

मतदान प्रक्रियामा का‍ग्रेस सभापति गरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका अध्यक्ष झलनाथ खनाल, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार लगायत संविधानसभामा प्रतिनिधित्व गरेका २४ वटै राजनीतिक दलका शीर्ष नेताको सहभागिता थियो।

समितिका जेष्ठ सदस्य कुलवहादुर गुरुङ्को अध्यक्षमा बसेको शुक्रबार बैठक विहान ८ वजे हुने भनिएतापनि ११ वजे मात्र सुरु भएको थियो।

बैठक सुरुहुनु पूर्व समितिको सभापति सर्वसम्मत गराउन शीर्ष दलका नेतृत्व बीच सभामुखको कार्यकक्षमा द्विपक्षीय, त्रिपक्षीय वार्ता भएपनि सो सम्बन्धमा सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको थियो।

समितिमा एनेकपा (माओवादी)का १८, नेपाली काँङ्ग्रेस नौ, एमाले नौ, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)तीन्ा, तराइ मधेश लोकतान्त्रिक पार्टी तीन सदस्य छन्।

संवैधानिक समितिको कार्यक्षेत्र संविधानको प्रस्तावना, पहिलो भागमा रहने विषयवस्तु, संविधान संशोधन प्रक्रिया, राजनीतिक दलसम्बन्धी व्यवस्थासहितका विषयवस्तु रहेका छन्।

को हुन् निलाम्बर आचार्य ?
आचार्य २००० सालमा सल्यानको खलंगामा जन्मिएका हुन् । उनको राजनतिक पृष्ठभूमि कम्युनिष्ट पार्टीसँग जोडिएको छ। २०१९ सालदेखि विद्यार्थी राजनीतिमा सहभागी हुँदै २०२४ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका आचार्य २०४७ सालमा बाम मोर्चाको तर्फबाट अन्तरिम सरकारमा न्याय तथा कानुन मन्त्रीसमेत बनेका थिए। कानुनमा बीएल र मस्कोबाट पत्रकारितामा एमए गरेका आचार्य २०४८ सालबाट कम्युनिष्ट पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरे। २०५३ देखि ०५६ सम्म श्रीलंकाको राजदूतसमेत भएका आचार्यलाई नेपाली कांग्रेसले मनोनित गर्दै संविधानसभामा सभासद बनाएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by