ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, August 26, 2009

कोसी अर्को स्थानमा फुट्ने खतरा

जयकृष्ण यादव/इनरुवा

कोसी नदीको बाँध फेरि नयाँ स्थानमा फुट्ने खतरा बढेको छ । सप्तकोसी गत वर्ष भदौ २ गते फुटेको स्थानभन्दा एक किलोमिटर दक्षिणमा पूर्वी तटबन्धको उचाइ कम रहेको तथा झन्डै चार किलोमिटर उत्तरमा फुट्ने खतरा बढेको स्थानीयवासीहरूले बताएका छन् ।

लगातारको वषर्ा र बालुवा थुपि्रएर कोसीको सतह माथि उठेकाले कोसीमा तीन लाख क्युसेकभन्दा बढी पानीको बहाव भएको खण्डमा पुरानो स्थानमा फुटेको पश्चिम कुशाहा गाविस-४ देखि एक किलोमिटर दक्षिणमा पूर्वी तटबन्ध तल हुने अवस्था भएकाले कोसीको बाँध माथिबाट बग्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् ।

अहिले बेलैमा पश्चिम कुशाहा गाविस-४ देखि एक किलोमिटर दक्षिण हरिपुरसम्ममा पूर्वी तटबन्धको उचाइ बढाउने प्रयास नभए कोसी फुट्ने खतरा बढेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका इन्जिनियर मोहन भट्टराईले जानकारी दिनुभएको छ ।

यता कोसीको पानीको बहावले महेन्द्रनगरस्थितको पुथ्लेगौँडामा ११ र १२ नम्बरको स्पर कटान गरेर कोसी फुट्ने खतरा बढेको स्थानीयवासीहरूलाई उद्धृत गर्दै हरिपुरका सञ्जय पण्डितले बताउनुभयो ।

अहिले खतरा देखिए पनि आत्तिने अवस्था नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले बताउनुभयो । उहाँले यसबारेमा भर्खरै सिँचाइमन्त्री बालकृष्ण खाँडले निरीक्षण गर्नुभएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार कोसीमा देखिएको सम्भावित खतरा र यसको रोकथामबारेमा भारतीय पक्षसँग छलफल भइरहेको छ ।

यसअघि गएको असार १९ गते कोसीमा एक लाख ९० हजार ५४६ क्युसेक प्रतिसेकेन्डसम्मका दरले पानीको बहाब हुँदा १२ नम्बर ढोका क्षतिग्रस्त भएको थियो तर सो ढोकाको मर्मत भइसकेको छ ।

पानीको बहाब घट्दै गएपछि कोसीको प्रकाशपुरस्थित राजाबास, महेन्द्रनगर, ब्राहाक्षेत्रलगायतका स्पर कटान सुरु भएको र विभिन्न स्थानका स्परहरू जोखिममा रहेको स्थानीय धर्मेन्द्र मेहताले बताउनुभयो ।

पानीको सतह नदीमा बढेसँगै तटबन्ध र स्परहरू जोखिममा रहेको पाइएकाले सुनसरीका हरिपुर, श्रीपुर, प्रकाशपुर र पश्चिम कुशाहाका स्थानीयवासीहरू अझै त्रसित बनेका छन् ।

कोसीमा पानीको बहाव बढ्ने, घट्ने र कटान भएका कारणले त्रसित रहेका स्थानीयवासीहरूले ब्यारेजको सबै ढोका निरन्तर खोलेर बालुवा बगाउनुपर्ने सुझाव दिँदै ५२ वटै ढोका खोल्नुपर्नेर् माग गरेका छन् ।

कोसीको पूर्वी तटबन्ध सुनसरीको महेन्द्रनगर र प्रकाशपुरको राजाबास जोखिममा रहेकाले तटबन्धको छेउमा पानी आउन नदिन तथा पानीकोबहाव रोक्नका लागि कटान नियन्त्रण गर्न प्रकोपाइन निर्माण गरी राखिएको छ ।

राजाबास आसपास क्षेत्रमा करिब तीन सय मिटर दूरीमा कोसी नदीको पूर्वी तटबन्धछेउमा पाँच/पाँच मिटरको फरक दूरीमा ६० बढी प्रकोपाइन राखिएको जनाएको छ ।

प्रकोपाइनले पानीको बेग, माटो, लेदो र बगेर आएका काठपातलगायतलाई रोक्ने गरेको प्रकाशपुर युवा जमातका अध्यक्ष प्रदीप राईले जानकारी दिनुभएको छ ।

सप्तकोसी नदीको पूर्वी तटबन्ध भत्केर गाउँ पस्दा गत वर्ष यहाँका हजारौँ सर्वसाधारण घरवारविहीन भएको बेला कोसी ब्यारेजको पुलले अर्को विपत्ति ननिम्त्याउला भन्नसक्ने अवस्था नरहेकाले त्रास पैदा भएको स्थानीयवासी बताउँछन् ।


Source:[http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=23411&cat_id=14]


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by