ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 12, 2009

राष्ट्रपति ओबामाको पत्र नेपाललाई (पत्र र तस्वीरसहित)

राजेन्द्र फुयाल/काठमाडौ (कान्तिपुर)- 



अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रधानमन्त्री माधबकुमार नेपाललाई पत्र लेखी राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल र नेपाली सेनाले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसंघको ६४ औ महासभाका सिलसिलामा गत सेप्टेम्बर २३ मा राष्ट्रपति ओबामा र प्रधानमन्त्री नेपालबीच न्यूयोर्कमा भएको बैठकको स्मरण गर्दै ह्वाईटहाउसले पत्रका साथ तस्वीरसमेत पठाएको हो ।
 भेटवार्ताको ठीक एक महिना पछिको मितिमा ओबामाले लेखेको र कान्तिपुरले शुक्रवार प्राप्त गरेको पत्रको विवरणमा शान्ति मिसनका सन्दर्भमा प्रधानमन्त्री नेपालको बिश्लेषण र गम्भीरताबाट आफु प्रभावित भएको उल्लेख छ ।   शान्ति मिसनमा योगदान गर्ने १० प्रमुख राष्ट्रहरुसंग राष्ट्रपति ओबामाले गरेको उच्चस्तरिय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री नेपालले गरेका थिए । ओबामाले आफ्नो पत्रमा उक्त बैठकमा प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गरेका छन् ।


'राष्ट्रसंघीय शान्ति मिसनले सामना गरिरहेको मुख्य चुनौतिमा तपाईले गर्नुभएको विवेकपुर्ण विश्लेषण, खासगरि समग्र र संयोजित विधि अपनाउनुपर्ने आवश्यक्ताबारेको तपाईको धारणाबाट म ज्यादै प्रभावित छु,' राष्ट्रपति ओबामाले पत्रमा भनेका छन्- 'भेटवार्तामा तपाईले गर्नुभएको प्रस्तावको इमान्दारिता र गम्भीरताबाट म प्रभावित छु । आगामी महिना र वर्षहरूमा जिम्मेवारी निभाउन तपाईसित सूगै काम गर्ने आशा गरेको छु ।'

न्यूयोर्कमा प्रधानमन्त्री नेपाल र ओबामाबीच दुई पटक भेटघाट भएको थियो । राष्ट्रपति ओबामाले आफ्नो रिसेप्सनमा पनि नेपाली प्रधानमन्त्रीलाई महत्व दिएका थिए । प्रधानमन्त्री नेपालले नेपाली वीरताको चिनोका रुपमा गोर्खाली खुकुरी मात्र नभई जलवायु परिवर्तनले हिमाली पर्यावरणमा पारेको नकारात्मक असरको सन्देश दिन ओबामालाई सगरमाथाको चट्टान समेत उपहार दिएका थिए । १० राष्ट्रको बैठककै क्रममा ओबामाले नेपाली उपहार खुकुरीको खोजी गरेका थिए । त्यसैक्रममा ओबामाले नेपाल भ्रमणको चाहना ब्यक्त गरेका थिए ।

नेपाललाई लेखेको पत्रको सुरुमा ओबामाले भनेका छन्- 'एक्काइशौं शताब्दीको चुनौति सामना गर्न राष्टँसंघीय शान्ति सेना मजवुत पार्ने विषयमा छलफल गर्न मसँग गर्नुभएको भेटघाटका लागि मेरो सहृदयी धन्यवाद स्वीकार्नुहोस् ।'

अन्तराष्ट्रिय रुपमा शान्ति स्थापना गर्नु राष्ट्रसंघको सबैभन्दा महत्वपुर्ण कार्य भएको उल्लेखगर्दै ओवामाले यसमा नेपालको भूमिका महत्वपूर्ण रहेको जनाएका छन् । 'यो काम धेरै वर्षदेखि तपाईूको देशले पुर्‍याईरहेको निस्वार्थ योगदान र बलिदान बिना सम्भव थिएन,' उनले भनेका छन्- 'राष्ट्रसंघले प्राप्त गरेको धेरै उपलब्धीमा नेपाल विशेष रुपमा गौरवान्वित हुन सक्छ ।'



नेपालले लेवनान, हाइटी, डार्फर र लाइबेरियाजस्ता ठाउूमा राष्ट्रसंघीय शान्ति मिशनमा ठुलो मात्रामा सैन्य टुकडि र प्रहरी परिचालन गरी सहयोग पुर्‍याएको स्मरण समेत ओबामाले गरेका छन् ।  'यो महत्वपूर्ण प्रयासमा तपाईँको देशले पुर्‍याएको योगदान हामी ज्यादै प्रसंशा गर्छौं,' उनले पत्रमा अगाडी भनेका छन्- 'हामीले छलफल गरे अनुसार संयुक्त राज्य अमेरिकाले अन्तराष्ट्रिय समुदायको आह्वानमा शान्तिका लागि जोखिम उठाउने सेनाका टुकडी र प्रहरीलाई उनीहरूको महत्वकांक्षी र चुनौतिपुर्ण कार्यादेश पुरा गर्न आवश्यक पर्ने सहयोग सुनिश्चित गर्न आग्रह गरेको छ ।'

ओबामाले न्यूयोर्क संवादको मर्म अनुरुप आपसी सहयोगका क्षेत्र बढाउने आफ्नो प्रशासन तयार रहेको समेत उल्लेख गरेका छन् । 'शान्ति स्थापकलाई धरातलीय रुपमा सहयोग बढाएर हामी सँगै काम गर्ने अवस्था सिर्जना गर्न मेरो प्रशासन, हामीले न्युयोर्कमा सुरु गरेको संवादलाई द्विपक्षीय र बहुपक्षीयरुपमा अगाडि बढाउन प्रतिबद्ध छ,' उनको पत्रमा छ ।

उनले नेपाली सेनाको कार्यक्षमता अभिवृद्धिमा सहयोग बढाउन मनसाय समेत ब्यक्त गरेका छन् । 'शान्ति स्थापकहरूको कार्यक्षमता बढाएर प्रभावकारी पार्न हामी तपाईँ र अरु साझेदारसँग काम गर्न चहान्छौं,' उनले भनेका छन्- 'हामी उदेश्य पुरा गर्न शान्ति स्थापकका लागि आबश्यक राजनीतिक प्रक्रिया अगाडि बढाउन र स्थानीय क्षेत्रको अवस्था सुधार गर्नर् पनि काम गर्छौं ।'

प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले ओबामाको पत्र नेपालका लागि गौरवको विषय भएको बताए । 'यो प्रधानमन्त्री नेपालका लागि मात्र होइन, समग्र नेपालीले पाएको सम्मान हो,' उनले कान्तिपुरसंग भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by