ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 6, 2009

डलर लुटपाट काण्डमा एआइजी

केपी ढुंगाना, काठमाडौं (नागरिक)- 

तीन लाख अमेरिकी डलर लुटपाट घटनामा संलग्न अभियुक्त र साक्षी डेढ महिना पछि प्रहरी सम्पर्कमा आएका छन तर, प्रमाणको अभावमा कारवाही प्रकृया कसरी अगाडि बढाउने प्रहरी अन्यौलमा छ। असोज ३१ गते लक्ष्मी पूजाको दिन क्षेत्रपाटीवाट खासा लैजान तयार पारिएको रकम २ जना प्रहरीले लुटेका थिए। अहिले लुटपाटमा संलग्न २ जना प्रहरी, गाडि चालक,रकमको बारेमा प्रहरीलाइ जानकारी दिने ब्यक्ति र लुटिएको रकमका धनी सबै प्रहरीको सम्पर्कमा छन। तर,पक्राउ परेका २ अभियुक्तलाई लामो समयसम्म आफ्नो नियन्त्रणमा राखेर ब्यत्तिगत तजवीजका आधारमा अनुशन्धान गरेका कारण अहिले अनुशन्धानमा जुटेको प्रहरीलाई प्रमाण जुटाउन हम्मे हम्मे परेको छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख गणेश केसी परिस्थितीजन्य प्रमाणहरु फेला परेपनि घटनालाई पुष्टी गर्ने ठोस प्रमाण फेला नपरेको स्विकार गर्छन। उनले भने...रकमको बारेमा जानकारी दिने ब्यक्तिको बयान र घटना भएको दिन अभियुक्तहरु ड्युटीमा नहुनुले केही प्रमाण जुटेको छ,तर अहिलेसम्म ठोस प्रमाण फेला पर्न सकेको छैन।'
लुटपाटको घटनामा संलग्न रहेको अभियोगमा कात्तिक ११ गते नै २ जना प्रहरी पक्राउ परेका थिए। तर, पक्राउ प्रहरीद्धयलाई बैधानीक रुपमा अनुशन्धानका लागि प्रहरी युनिटमा बुझाउनुको साटो आफ्नै नियन्त्रणमा राखेर महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रमुख कल्याणकुमार तिमल्सीनाले ब्यक्तिगत तजवीजका आधारमा अनुशन्धान गर्दा सबै प्रमाण नष्ट भइसकेका थिए।  चीनिया व्यापारीहरुवाट संकलीत अमेरिकी डलर बोकेर खासा हिड्नेक्रममा असोज ३१ मा रकम लुटिएपनि घटना गुपचुप राखिएको थियो। लुटिएको रकम बैदेशिक मुद्रा रहेकाले रकमधनीहरु बैधानीक रुपमा प्रहरीमा उजुरी गर्न नआएपनि प्रहरीले आन्तरिक रुपमा घटनाको अनुशन्धान शुरु गरेको थियो। काठमाडौं परिसरले अनुशन्धान गरिरहेको बेला आयुक्त तिमल्सीनाले आफ्नो छुट्टै टोली खटाएर २ जना प्रहरी पक्राउ गरेका थिए।
 
तिमल्सीनाले पक्राउ परेका दुबै प्रहरीलाई कहिले आयुक्तको कार्यालय त कहिले प्रहरीको २ नम्बर गणमा राखेर अनुशन्धान गरेका थिए। पक्राउ परेका प्रहरी कहा" छन अनुशन्धानको अधिकार पाएको महानगरिय प्रहरी परिसर र बालाजु बृत्त दुबैलाई जानकारी नै थिएन। डलर लुटपाट विवाद बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले हस्तक्षेप गर्दै एआइजी तिमल्सीनाको कार्यशैलीको बारेमा अनुशन्धान गर्न छुट्टै समिति गठन गरी उनलाई आयुक्तको कार्यालयवाट सरुवा गरी प्रहरी प्रशिक्षण प्रतिष्ठान पुर्‍याएपछि दुबै प्रहरी पक्राउ परेको ३२ दिनपछि काठमाडौं परिसरको नियन्त्रणमा आएका थिए।
 
आफ्नो नियन्त्रणमा आए लगत्तै परिसरले दुबै प्रहरीलाई काठमाडौं जिल्ला अदालतमा पेश गरी अनुशन्धानका लागि म्याद लिएर अनुशन्धान गरिरहेको छ। रकम लुटिएको बा ६च ३०८९ गाडिका चालक चेङ्गा शेर्पाले एक साता अगाडि महानगरिय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि मंसिर १२ वाट घटनाको अनुशन्धान प्रकृया शुरु गरेको थियो। लुटिएको रकम आफ्नो भएको दावी गर्नेको संख्या १९ छ। शुक्रवार २ जना चीनिया नागरिक प्रहरीको सम्पर्कमा आएका छन। तर,अन्य १७ जना भने अझै सम्पर्कमा आएका छैनन। गाडि चालक र प्रहरीलाई डलरको बारेमा जानकारी दिने उनको भतिज अहिले परिसरको सम्पर्कमा छन। 

चेङ्गाको जाहेरीमा लुटिएको रकम खासा व्यापार गर्ने चिनिया नागरिक टासीको रहेको उल्लेख गरेका छन। उनको जाहेरीमा ...खासा व्यापारी चिनिया नागरिक टासी भन्ने ब्यक्तिले रकम खासा पुर्‍याईदिनु भनेर रकम दिएको' उल्लेख गरेका छन। डलर लुटिएको भएपनि उनले जाहेरीमा २ करोड ९० लाख नेपाली रुपैंया लुटिएको दावी गरेका छन। उनले जाहेरीमा...असोज ३१ गते बिहान ५ः४० वजे क्षेत्रपाटीमा बा ६ च ३०८९ नम्बरको गाडि रोकेरे २ जना ब्यक्तिले रकम लुटेको' दावी गरेका छन। चेङ्गाले डलर लुटपाटमा संलग्न रहेको भन्दै स्वयम्भु प्रभागमा कार्यरत प्रहरी हवल्दार मकर श्रेष्ठ, जवान रामहरि सुवेदीको सनाखत गरेपछि उनीहरु अहिले परिसरको हिरासतमा छन।
 
लुटिएको रकम दावी गर्न शुक्रवार मध्यान्ह टासी र अर्का एक चिनिया काठमाडौं परिसर आएका थिए। तर,भाषाको समस्याका कारण प्रहरीले उनीहरुसित बयान लिन भने सकेन। दुबै चिनिया नागरिक अंग्रेजी र नेपाली भाषा नजान्ने भएकाले प्रहरीले दुबैलाई आइतवार अनुवादक लिएर आउ भन्दै पठाएको छ।  लुटपाटका घटनाका बारेमा जानकार रहेका चालक चेङ्गाका भतिज फरसाङ्ग बु समेत प्रहरीको सम्पर्कमा छन। उनीवाट प्रहरीले डलर लुटपाटको थप तथ्यहरु खुलेको अनुशन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। 

यसरी लुटियो डलर
काका चेङ्गा गैर कानुनी अमेरिकी डलर बोकेर खासा जाने तयारीमा रहेको जानकारी आएपछि फुरसाङ्ग बुले चिनजान रहेको प्रहरी जवान सुवेदीलाई गाडि नम्बर टिपाएका थिए। बुको जानकारीको आधारमा जवान सुवेदीले चेङ्गाको गाडिको निगरानी गरेका थिए। बुले अबैध रकम बरामद भएपछि राज्यले सुराकीलाई दिने कमीशन पाउने सर्तमा उनले चेङ्गा रकम लिएर जाने गाडि नम्बर टिपाएका थिए। 

फुरसाङ्गको जानकारीको आधारमा हवल्दार मकर सहयोगिका रुपमा प्रहरी जवान सुवेदीलाई लगेका थिए। फरसाङ्गको जानकारी अनुसारनै बा ६ च ३०८९ गाडिलाई क्षेत्रपाटीमा रोकेर चेङ्गाको साथमा रहेको रकम लुटेर हिडेका थिए। उनीहरुले आफुहरु प्रहरी हुँ भन्दै धम्क्याएर उनको साथमा रहेको रकम बोकेर हिडेका थिए।  मकरले पक्राउ गरेको रकमवाट आउने कमिशन फरसार्ङ्गलाई दिने वाचा गरेपनि रकम लिएको दिनवाट उनीहरु सम्पर्कविहिन भएपनि फरसार्ङ्गले मकरलाई फोन गरेर पैसाको बारेमा सोधेका थिए। फरसाङ्गको बयान अनुसार मकरले अहिले पैसा पाउंदैनस तीन वर्षपछि दिउंला भनेपछि उनले मकरमाथि शंका गरेका थिए। 

घटना जानकारीमा आए लगत्तै अनुशन्धानमा जुटेको प्रहरी टोलिले फरसार्ङ्गमाथि शंका गरी नियन्त्रणमा लिएर सोधपुछ गर्दा मात्र उनले प्रहरीले डलर पक्राउ नगरी लुटेको तथ्य जानकारी पाएको बताएका छन। उनले अबैध अमेरिकी डलर पक्राउ गर्दा सुराकीवापत पाउने रकमको आशामा आफ्नो चीनजान भएका प्रहरीलाई रकमको बारेमा जानकारी दिएको स्विकार गरेका छन। उनले आफ्नो बयानमा भनेका छन 'काका चेङ्गा साहुसंग डलर बोकेर तिब्बत जाने तयारीमा रहेको जानकारी पाएपछि कमिशन पाईन्छ भनेर प्रहरीलाई जानकारी दिएको थिए,तर उनीहरुले उल्टै पैसा लुटेछन्।' 

बयानका क्रममा फरसाङ्गले डलर लिने प्रहरी चिन्ने दावी गरेपछि प्रहरी टोलिले उनलाई लिएर महानगरिय प्रहरी प्रभाग स्वयम्भु गएका थिए। स्वयम्भुमा मकर फेला परेपछि आयुक्त कार्यालयवाट खटिएको प्रहरी टोलिले कात्तिक ११ मा पक्राउ गरी आयुक्तको कार्यालय रानीपोखरीमा रोखेका थिए। पक्राउपछि दुबैलाई प्रकृयागत रुपमा अनुशन्धान गर्नुको साटो तत्कालीन आयुक्त कल्याकणकुमार तिमल्सीनाले पक्राउ परेका दुबै प्रहरीलाई आफ्नो नियन्त्रणमा राखी ब्यक्तिगत तजवीजको आधारमा अनुशन्धान गरेका थिए। उनले पक्राउ परेका दुबै प्रहरीलाई स्वविवेकका आधारमा आयुक्तको कार्यालय प्रहरीको २ नम्बर गणमा राखेर अनुशन्धान गरेपछि विवाद बढेको थियो।  घटनाको बारेमा जानकारी पाए लगत्तै काठमाडौं परिसरवाट समेत अनुशन्धान टोलि खटिएको थियो। तर्क तिमल्सीनाले काठमाडौंको टोलिलाई जानकारी नै नदिई आयुक्त कार्यालयवाट टोली खटाएर अनुशन्धान गरी डलर लुटपाटमा संलग्न रहेका अभियुक्तहरुलाई पक्राउ गरी ब्यक्तिगत तजविजको आधारमा अनुशन्धान अगाडि बढाएका थिए। 

उनले पक्राउ परेका दुबै प्रहरीलाई गैर कानुनी थुनामा राखेर अनुशन्धान अगाडि बढाएपछि विवाद बढेको थियो। विवाद बढ्दै गएपछि मंसिर १ गते प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि अपराध अनुशन्धान विभागका डिआइजी राजेन्द्रमानसिंह भन्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो। समिति गठन भए लगत्तै मंसिर ३ गते मन्त्रीपरिषद्को बैठकले तिमल्सीनालाई आयुक्तको कार्यालयवाट प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको थियो। तिमल्सीनाको सरुवापछि दुबै प्रहरी काठमाडौ परिसरको नियनत्रणमा आएका थिए। एआइजी तिमल्सीनाले अनुशन्धानका क्रममा खुलेका कुनै प्रमाण बुझाएका छैनन। उता, हिरासतमा रहेका दुबै प्रहरीले पनि घटनामा आफ्नो संलग्नता स्विकार गरेका छैनन। एक प्रहरीले भने...लुटिएको रकम बरामद हुन सकेको छैन, अनी अन्य प्रमाणहरु पनि फेला नपरेकाले प्रमाण पुर्‍याउन हम्मे परेको छ।'

एआइजीमाथि लागेका अभियोग
डलरकान्डमा मुछिएर विवादमा आएका एआइजी कल्याण तिमल्सीनाले आयुक्तको कार्यालयमा बसेर गरेका कामकार्वाहीको बारेमा अनुशन्धान गर्न गठीत समितिले अहिले तीन वटा केसका बारेमा अनुशन्धान गरिरहेको छ। अनुशन्धान समितिका एक सदस्यका अनुसार आयुक्त कार्यालयको प्रमुखको रुपमा कार्यरत रह"दा एआइजी तिमल्सीनाले भन्सार छली ल्याएको २० किलो चा"दी छुटाएको र कमलपोखरी निवासी व्यापारी सञ्जय सुरेखाका अपहरणको अनुशन्धानमा बाधा पुर्‍याई अभियुक्तलाइ जोगाएको उजुरी आएपछि समितिले तीनवटै केसको अनुशन्धान गरिरहेको छ।

चाँदी कान्ड
महानगरिय प्रहरी प्रभाग थानकोटले असोज २७ गते भन्सार छलेर ल्याएको गहना सहित जीवन महर्जनलाई पक्राउ गरेको थियो। सवारी चेकजांचकोक्रममा चांदीका गहना फेला परेपछि भन्सारको रसिद खोज्दा मर्हजनले विल देखाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। तर, महर्जन पक्राउ परेको जानकारी आए लगत्तै एआइजी कल्याणकुमार तिमल्सीनाले उनलाई छोड्न दवाव दिएपछि प्रभागले उनलाई त्यत्तिकै छोडेको थियो। शसस्त्रका डिआइजी जीवन थापा र राष्ट्रिय अनुशन्धान विभागका एआइजी जितबहादुर केसी गएर महर्जनलाई रिहा गराएका थिए। 

पक्राउ परेको समय महर्जनले आरके ज्वलेलर्स र सालीमार ज्वेलर्सका लागि नेपालभित्रैवाट चा"दीका गहना ल्याएको दावी गरेपनि उनीसित चांदी किनेको विल थिएन। विल विनाको सामान फेला परेपछि प्रभागका प्रहरीले उनीमाथि कार्वाही प्रकृया अगाडि बढाउने प्रयास गरेपछि तिमल्सीनाले उनलाई रिहा गर्न दवाव दिएका थिए। पटक पटक दवाव दिंदापनि महर्जन रिहा नभएपछि तिमल्सीना शसस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभागका उच्च अधिकृत लिएर शुरक्षा अनुगमनको बहाना गर्दै थानकोट गएर महर्जनलाई छोड्न दवाव दिएका थिए। तिमल्सीनाको दवावपछि प्रभागले बेलुका ६ वजे जीवनलाई कुनै कार्वाही नै नगरी रिहा गर्न बाध्य भएको थियो। अनुशन्धान समिती स्रोतमा अनुसार प्रारम्भीक अनुशन्धानमा तिमल्सीनाले पदिय अधिकारको दुरुपयोग गरिएको देखिएको छ।

सुरेखा अपहरणकान्ड
२ लाख अमेरिकी डलर फिरौति बुझाएर अपहरणमुक्त भएका व्यापारी सञ्जय सुरेखाको अपहरण अनुशन्धानमा एआइजी तिमल्सीनाले प्रभाव पारेका अभियोग लागेको छ। २८ जेठमा अपहरणमा परी असार १३ मा रिहा भएका सुरेखाको अपहरणमा संलग्न केही ब्यक्तिहरुलाई महानगरिय प्रहरी अपराध अनुशन्धान विभागको टोलिले पक्राउ गरेका थिए। स्रोतका अनुसार तिमल्सीनाले हस्तक्षेप गरी अनुशन्धान अधिकृत परिर्वतन गरी अपहरणमा संलग्न रहेको आशंका पक्राउ परेका तीन जनालाई रिहा गराएका थिए। 

सुरेखा अपहरणमा संलग्न रहेको अभियोगमा प्रहरीले हरि अग्रवाल र उनका २ जना सहयोगि पक्राउ गरेको थियो। कल्याणले प्रहरी महानिरिक्षक रमेशचन्द ठकुरीलाई फोन गरेर आफैं जमानी बसेर अग्रवाललाई हिरासतमुक्त गरेका थिए भने पक्राउ परेका २ ब्यक्तिलाई सार्वजनिक अपराधमा मुद्धा चलाउन लगाएका थिए। 
्स्रोतका अनुसार पक्राउ परेका अभियुक्तमध्ये एक जना सुरेखालाई तीनकुनेवाट अपहरण गर्ने युवती समेत थिइन। बयानकाक्रममा उनीहरुले अग्रवालको योजना अनुसारनै अपहरण गरेको बयान दिएका थिए। तर, अहिले उनीहरुको बयान समेत गायव बनाइएको छ। पक्राउ परेका अभियुक्तहरु पनि धरौटीमा रिहा भइसकेका छन। अनुशन्धान समिति गठन भएपश्चात समितिका पदाधिकारीहरुले अपहरण अनुशन्धानमा संलग्न अधिकारीहरुलाई बोलाएर घटनाका बारेमा सोधपुछ गरी पुन अनुशन्धान गर्न निर्देशन दिएका छन। प्रधान कार्यालयको निर्देशनपछि सुरेखा अपहरण घटनाको अनुशन्धान पुन शुरु गरिएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by