'यो त अति भयो, मलाई किन काम नदिएको होला, तपाईंले एकपटक प्रधानमन्त्रीलाई सोधिदिनुहोला है,' मन्त्री लक्ष्मीलाल कर्णले आशावादी हुदै भने
सागर पण्डित/काठमाडौं (नयाँ पत्रिका)
जनताका धेरै गुनासा छन् । तर, नेपाल न हो, मन्त्रीका गुनासा झन् ठूला छन् । मन्त्री भएको तीन महिनासम्ममा कुनै पनि जिम्मेवारी नपाएपछि लक्ष्मीलाल कर्ण आफँ दिक्क छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आपूर्तिमन्त्री छन् । दलहरूबीच मात्र होइन, दलहरूभित्रको समीकरण पनि मिलाउन प्रधानमन्त्री माधवकुमार नेपालले सद्भावनाका लक्ष्मीलाल कर्णलाई विनाविभागीय मन्त्री बनाइदिएका छन् । तर, तीन महिनासम्म पनि भूमिका नपाएपछि उनी आफैँ कुण्ठित भएका छन् । प्रधानमन्त्रीले उचित जिम्मेवारी दिन्छु भन्दाभन्दै तीन महिना बितेको उनले बताए । 'प्रधानमन्त्रीज्यूलाई कति भनौँ, भन्दाभन्दै दिक्दार भइसकेँ,' सोमबार आफ्नै कार्यकक्षमा नयाँ पत्रिकासँग गुनासो गर्दै मन्त्री कर्णले भने, 'यस्तो कुरा त प्रधानमन्त्रीले आफै गम्भीर भएर सोच्ने हो । तर, उहाँलाई यस विषयमा सोच्ने फुर्सदै छैन ।' प्रधानमन्त्रीका कामलाई सहयोग गर्न विनाविभागीय मन्त्री राख्ने र उनले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पूरा गर्ने अन्तर्राष्ट्रिय परिपाटी छ । तर, वर्तमान सरकारका विनाविभागीय मन्त्री कर्णले अहिलेसम्म एउटा फाइलमा पनि हस्ताक्षर गर्ने अवसर पाएका छैनन् ।
'यहाँ त शाखा अधिकृतको इज्जत छ, मेरो के इज्जत छ ?' उनले नयाँ पत्रिकासित प्रतिप्रश्न गरे । हुन पनि अरू मन्त्रीका कार्यालय सिंहदरबारभित्र ठुल्ठूला भवनमा छन् । तर, मन्त्री कर्णका लागि एउटा मात्र कोठा छ ।
मन्त्री कर्ण, उनका स्वकीय सचिव र कार्यकर्ता दिनभर एउटै कोठामा बसेर गफ गरेर निवास र्फकने गरेका छन् । उनीहरूका लागि बस्ने ठाउँ र गर्ने कामै छैन । 'यो त अति भयो, मलाई किन काम नदिएको होला, तपाईंले एकपटक प्रधानमन्त्रीलाई सोधिदिनुहोला है,' उनले आशावादी हुँदै भने ।
विनाविभागीय मन्त्री कर्णलाई राष्ट्रिय योजना आयोगको एउटा कोठा दिइएको छ । न त्यहाँ कुनै मिटिङ हल छ, न उनका स्वकीय सचिव बस्ने ठाउँ नै । 'हेर्नुस् न मन्त्रीलाई यति ठूलो अपमान गरिएको छ, यसलाई के भन्ने ?' मन्त्री कर्णले दुःख मनाउ गर्दै भने ।
उनलाई बस्न पुल्चोकको मन्त्रीक्वार्टर पनि दिइएको छैन । उनी पहिलेदेखि नै गोल्फुटारमै बस्दै आइरहेका छन् । 'घरको कुरा छाड्नोस् न, सिंहदरबारस्थित कार्यालयमा साथीभाइ आउँदा कुरा गर्ने छुट्टै कोठा छैन, सहयोगी साथीहरू बस्ने ठाउँ पनि छैन । संसारमै मन्त्रीमाथि यस्तो अन्याय कहीँ पनि हुँदैन होला,' उनले भने ।
मन्त्री कर्णका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धेरै काम पेन्डिङ छन् । प्रधानमन्त्री अत्यधिक व्यस्त भएकाले उनले निर्णय गर्नुपर्ने काम थाती छन् । 'कार्यालयमा धेरै काम पेन्डिङ छन्, मलाई जिम्मेवारी दिए सर्वसाधारणको पनि हित हुने थियो, प्रधानमन्त्रीको पनि बोझ हल्का हुने थियो,' उनले भने, 'तर, प्रधानमन्त्री काम पेन्डिङ राखेर हिँडेको हिँड्यै छन्, यसमा उनको के स्वार्थ छ, मलाई पनि थाहा छैन ।'
उनले विनाविभागीय मन्त्रीले प्रधानमन्त्रीको कार्यालय हेर्ने प्रचलन भएपछि आफूलाई त्यसबाट पनि विमुख गर्न खोजिएको आरोप लगाए । 'अहिलेसम्म त सिंहदरबारमा कार्यालय दिएका छन्, तर अब ताहचलस्थित नेपाल ट्रस्टको कार्यालयमा पठाउने गृहकार्य भइरहेको छ,' मन्त्री कर्णले भने, 'अरू कुनै विभाग मिलेन भने म यहाँबाट जाने कुरै छैन । म जाँदै जान्नँ ।'
मन्त्री कर्ण गत २७ भदौमा विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएदेखि नै प्रधानमन्त्रीबाट कुनै जिम्मेवारी नपाएपछि उनको काम बिहान कार्यालय आएर त्यसै र्फकनेबाहेक अरू केही हुन सकेको छैन । भूमिका नपाएपछि जनताका लागि पनि केही गर्न नपाएको उनले बताए । 'म मिनिष्टरको हैसियतमा केही गर्न आएको हुँ, जागिर खान होइन,' कर्णले आक्रोशित हुँदै भने ।
मन्त्री भए पनि उनको कार्यकक्षमा कुनै चहलपहल हुँदैन । न त काम लिएर भेटघाट गर्न आउनेहरू नै उनीकहाँ आउँछन् । बरु अन्य मन्त्रीलाई भेट्न नपाएकाहरू गुनासो गर्दै उनको कार्यालयमा पुग्ने गरेका छन् । 'मन्त्रीले मन्त्रीलाई भन्दिए काम हुन्छ भन्ने आशा लिएर केही साथीभाइ मकहाँ आउँछन् । मैले अरू मन्त्रीसँग पो डिल गर्नुपर्छ,' उनले भने ।
उनी मन्त्रिपरिषद् बैठकमा पनि सहभागी हुन्छन्, तर उनीसँग कुनै पनि प्रस्ताव हुँदैन । 'अन्य मन्त्रीले ल्याएको प्रस्तावमा छलफल गर्नेबाहेक अरू केही काम हुँदैन,' उनले भने, 'यसरी कति दिनसम्म मन्त्रीका रूपमा काम गर्न सकिन्छ र ?'
मन्त्री कर्ण कामै नभए पनि ठीक ११ बजे कार्यालय जान्छन् । र, ४ बजेसम्म त्यहाँ बस्छन् । 'कहीँ कतै बैठक परेन भने ४ बजेसम्मै बस्छु,' उनले भने । उनी संविधानसभामा संवैधानिक समिति र प्रतिवेदन सुझाव समितिको सदस्य पनि छन् । मन्त्रीका रूपमा भन्दा ती समितिको सदस्यका रूपमा बढी काम हुने गरेको उनको भनाइ छ ।
No comments:
Post a Comment