ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 12, 2009

दूरसञ्चार सेवा विस्तारमा नेपाल सबैभन्दा कमजोर


विष्णु पोखरेल/काठमाडौं (नयाँ पत्रिका)

सूचना प्रविधि विकासमा केही वर्षदेखि फड्को मारिरहेको नेपाल अझै पनि दूरसञ्चार सेवा विस्तारमा एसिया-प्रशान्त क्षेत्रमै सबैभन्दा पछाडि रहेको छ । एसिया-प्रशान्त क्ष्ाेत्रका मुलुकले विस्तार गरेको दूरसञ्चार सेवासँग तुलना गर्दा नेपालको अवस्था कमजोर रहेको दूरसञ्चारसँग सम्बद्ध संस्थाहरूले गरेको अध्ययनबाट पत्ता लागेको हो । केही वर्षदेखि सेवाप्रदायक संस्थाको संख्या वृद्धि भए पनि अझै ७५ प्रतिशतभन्दा बढी नेपाली दूरसञ्चार सेवाको सहज पहुँचबाहिर रहेका छन् । नेपाल टेलिकमको तथ्यांकअनुसार हालसम्म करिब २२ प्रतिशत नेपालीले मात्र प्रत्यक्ष दूरसञ्चार सेवा उपभोग गरिरहेका छन् । 'केही वर्षदेखि सेवा विस्तार गर्ने क्रम बढे पनि अझै ग्रामीण क्षेत्रका जनता सेवाको पहुचबाहिरै छन्,' टेलिकमका प्रबन्ध-निर्देशक अमरनाथ सिंहले भने ।
सिंहका अनुसार, सेवाप्रदायकले सहरी क्षेत्रमा मात्र सेवा केन्दि्रत गर्दा अधिकांश ग्रामीण जनता अझै पनि दूरसञ्चारको पहँुचबाहिर छन् । 'ग्रामीण क्ष्ाेत्रका करिब शून्य दशमलव चार प्रतिशत जनता मात्र दूरसञ्चार सेवाको पहुचमा छन्,' सिंहले भने । सन् २००५ अक्टोबरदेखि मोबाइल सेवा पहुचमा सहज भएपछि त्यसको विस्तार द्रुत गतिमा भएकाले दूरसञ्चार सेवामा पहुँच हुने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको उनले बताए । 'अहिलेसम्मको उपलब्धिलाई अन्तर्राष्ट्रियस्तरमा तुलना गर्ने हो भने सन्तोषजनक होइन,' उनले भने, 'अझै सेवा विस्तार र धेरैलाई सुविधा दिन बाँकी छ ।' उनले ग्रामीण क्षेत्रमा सेवा पहुच बढाउन टेलिकमले विशेष अभियान थालेको जानकारी दिए । चालू आर्थिक वर्षभित्रै सबै गाविसमा कम्तीमा एक लाइन टेलिफोन सेवा पुर्‍याउन कम्पनीले काम थालेको सिंहले बताए ।

आधारभूत दूरसञ्चार सेवामै पहुँच विस्तार गर्न नसकेको नेपाल ब्रोडब्यान्ड सेवा विस्तारमा अझ सबैभन्दा सुस्त देखिएको छ । ल्यान्डलाइन टेलिफोन र मोबाइल सेवा विस्तारमा केही गति लिए पनि ब्रोडब्यान्ड सेवा विस्तारमा भने खासै गति लिन सकेको छैन । दूरसञ्चार क्षेत्रमा नयाँ-नयाँ प्रविधि तथा सेवा विस्तार भइरहे पनि ब्रोडब्यान्ड सेवा विस्तारमा सेवाप्रदायकले समेत ध्यान दिन नसक्दा विकास हुन नसकेको सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुशील घिमिरे बताउँछन् । 'अरू सेवाजस्तै ब्रोडब्यान्डमा सेवाप्रदायकको ध्यान जानु जरुरी भइसकेको छ, अबको समय भनेकै ब्रोडब्यान्डको हो,' उनले भने ।

मोबाइल सेवाले सहज पहुँच भएको चारवर्षे अवधिमा फड्को मारेको सरकारी तथ्यांक छ । सन् २००५ अक्टोबरमा एक प्रतिशत नेपालीको मात्र पहुँचभित्र रहेको मोबाइल सेवा चार वर्षमा २१ प्रतिशत नेपालीको पहँुचमा पुगेको छ । ल्यान्डलाइन सेवाप्रति घट्दो आकर्षणलाई दृष्टिगत गरी सेवाप्रदायकले मोबाइल सेवा विस्तारमा ध्यान दिएकाले पहँुच वृद्धि हँुदै गएको हो । अहिले सेवाप्रदायकले जिएसएम र सिडिएमए प्रविधिबाट मोबाइल सेवा विस्तार गरिरहेका छन् ।

सेवाप्रदायकले सन् २०१० जुलाईसम्ममा ३५ प्रतिशत नेपालीमाझ मोबाइल सेवा पुर्‍याउने लक्ष्य राखेका छन् । करिब एक करोड नेपालीलाई मोबाइलको पहुँचमा ल्याउन सकेमात्र लक्ष्य पूरा हुने सिंहले बताए । हाल मोबाइल सेवा प्रयोगकर्तामध्ये सहरी क्षेत्रका अधिकांश रहेकाले अब ग्रामीण क्ष्ाेत्रमा सेवा विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

मोबाइल सेवा विस्तारमा आसलाग्दो अवस्था भए पनि ब्रोडब्यान्ड सेवा विस्तारमा भने नेपालको अवस्था नाजुक छ । अहिलेसम्म करिब शून्य दशमलव १२ प्रतिशत नेपालीले मात्र ब्रोडब्यान्ड सेवा उपभोग गर्न पाएका छन् । सञ्चारमन्त्री शंकर पोखरेलले मन्त्री बनेदेखि नै सेवाप्रदायकलाई ब्रोडब्यान्ड सेवा विस्तार गर्न निर्देशन दिँदै आएका छन् । आवश्यक पूर्वाधार अभावमा सेवा प्रदायकले ब्रोडब्यान्ड सेवा विस्तार गर्न नसकिएको बताउँदै आएका छन् । ब्रोडब्यान्ड सेवा प्रयोगकर्तामध्ये पनि अधिकांशले एक सय २८ देखि दुई सय ५६ किलोवाइट प्रतिसेकेन्ड (केबिपिएस) को सेवा प्रयोग गर्दै आएका छन् । ब्रोडब्यान्ड सेवामा दक्षिण एसियाली मुलुक नै अन्य मुलुकका तुलनामा कमजोर देखिएका छन् । 'सार्क मुलुक नै ब्रोडब्यान्ड सर्भिसमा कमजोर देखिन्छन्, तर नेपालको अवस्था अझ नराम्रो देखिन्छ,' सञ्चारसचिव घिमिरे भन्छन् ।

नेपालमा हाल पाँचवटा सेवाप्रदायकले आधारभूत दूरसञ्चार सेवा पुर्‍याइरहेका छन् । सरकारीस्तरको नेपाल टेलिकमसहित पाँच सेवाप्रदायकले आधारभूत सेवा सञ्चालन गरिरहेका हुन् । टेलिकमसहित युनाइटेड टेलिकम, स्पाइस नेपाल, एसटिएम, नेपाल स्याटलाइट र स्मार्ट टेलिकमले आधारभूत सेवा सुरु गरेका हुन् ।

मुलुक फिक्स लाइन मोबाइल ब्रोडब्यान्ड

जापान ३९.३ ८६.३ २४.९

दक्षिणकोरिया ४७.७ ९५.१ ३२.५

सिंगापुर ४८.७ १७४.७ ३५.५

हङकङ ५५.४ १६६.८ २९.७

मलेसिया १५.४ ९९.८ ७.८

थाइल्यान्ड १०.६ ९६.७ १.६

चीन २६.५ ४८.५ ७

भारत ३.२ २९.६ ०.५०

पाकिस्तान ४.४ ६३.३ ०.४०

श्रीलंका १७.४ ५३.६ ०.९०

बंगलादेश ०.९ ३५.५ ०.७०

भियतनाम १४.३ ७२.७ २.९

नेपाल ३.५ २१.६ ०.१२

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by