ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 9, 2009

पोखरामा माओवादी र प्रहरीबीच झड्प

कास्की, २०६६ आश्विन २३ - पोखरा आएका प्रधानमन्त्री माधवकुमार नेपाललाई शुक्रबार कालो झण्डा देखाउँदै नाराबाजी गदै सभागृह तर्फ अघि बढेका माओवादी कार्याकर्ता र प्रहरीबीच झड्प भएको छ । झड्पमा सशस्त्र प्रहरी एक र माओवादी तर्फ ७ घाइते भएका छन् । प्रहरीको लाठीबाट माओवादी कास्कीका इन्चार्ज रामजी बराल जीवन सख्त घाइते छन् । पोखराको सभागृहमा उच्च माध्यमिक शिक्षक एशोसिएसनको अधिवेशन उदघाटन गर्न आएका प्रधानमन्त्री नेपाल विरुद्ध चर्कोनाराबाजी गदै अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको कारवाहीपछि त्यहाँ भागदौड शुरु भएको थियो ।

झड्प भएपछि माओवादी कार्याकर्ता घरको छतछतमा बसेर सडकमा तैनाथ प्रहरीलाई ढुङ्गा प्रहार गरेका थिए । माओवादी कार्याकर्ताले पृथ्वीचोकमा नाराबाजी गदै टायर बालेर प्रदर्शन गरिरहेका छन् । झड्प पछि आसपासका पसलहरु बन्द भएका छन् । सडकमा सर्वसाधरणको हिडडुल पनि पातलो भएको छ । बिहान ९ बजे देखि नै चोक चोकमा प्रहरी तैनाथ भएका थिए ।

दिउसो साढे १२ बजे तिर हवाईजहाजबाट पोखरा अवतरण गरेका प्रधानमन्त्री नेपाललाई एयरपोर्ट, नागढुङ्गा पृथ्वीचोक तथा सभागृह चोकमा बसेका माओवादी कार्याकर्ताले कालो झण्डा देखाउदै नाराबाजी गरेका थिए । प्रधानमन्त्री कार्यक्रम स्थल सभागृहमा प्रवेश गरेपछि माओवादी कार्याकर्ता उत्तेजीत हुदै कार्यक्रम स्थलतर्फ अघि बढेका थिए ।

यसअघि माओवादी कार्यकर्ताले अर्थमन्त्री सुरेन्द्र पाण्डे आउँदा कालोझण्डा देखाएर उनलाई कार्यक्रम स्थलमा प्रवेश गर्न दिएका थिएनन । प्रधानमन्त्री आज पोखरामा बस्ने भएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by