ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 5, 2009

चुनावअघि मलाई मार्ने योजना थियो


काठमाडौं, १८ असोज
कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले संविधानसभा निर्वाचनका क्रममा आफ्नो हत्याको योजना बनेको दाबी गरेका छन् । उनले आफूलाई प्रत्यक्षतर्फको टिकट नदिन पार्टी सभापतिसहितका नेतालाई पटक-पटक आग्रह गर्दासमेत टिकट दिएर हत्या गर्ने प्रयास गरेको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै संविधानसभा चुनावको दुई दिनअघि दाङमा भएको घटना सम्झँदै उनले भने, 'प्रहरीप्रशासनले सहयोगसमेत गरेन । अरू दिन मेरो स्कटिङ हुन्थ्यो, त्यस दिन फोन गरेर बोलाउँदा पनि प्रहरी आएन । हत्याको योजना नबनाइएको भए त्यस्तो हुने थिएन ।'

'पार्टी सभापति प्रधानमन्त्री र कांग्रेसकै नेता गृहमन्त्री भएको अवस्थामा पनि सरकार र प्रहरी प्रशासनबाट किन सहयोग भएन त ?' नेता खड्काले प्रश्न गरे । आक्रमणपछि पनि पार्टी सभापति एवं तत्कालीन प्रधानमन्त्रीले निर्वाचनको समयमा पटक-पटक मिल्न भनेको उल्लेख गर्दै उनले भने, 'सबैतिरका चुनावी घटना मिलिसक्यो, तर मेरो क्षेत्रको किन मिल्दैन त ? सभापतिजी पनि मिलाउँछु भन्नुहुन्छ तर मिलेको छैन ।'
इमानदार र राष्ट्रवादी मान्छेको नेपालमा स्थान नै नभएको उनको दाबी थियो । खड्काले अगाडि भने, 'इमानदार मान्छे नेपालमा अघि बढ्नै सक्दैन । राष्ट्रको हित चाहनेको हालत मेरैजस्तो हुने गर्छ ।'
पार्टीको १२औँ महाधिवेशनले कांग्रेसलाई नयाँ जीवन दिनेमा ढुक्क रहेका खड्काले भने, 'कांग्रेस अब नयाँ शिराबाट अघि बढ्छ ।'


आफू पार्टीमा विगतमा जस्तै सक्रिय रहे पनि नेतृत्वले कुनै जिम्मेवारी नदिइएको उनको गुनासो छ । उनले भने, 'पार्टीले मलाई कुनै जिम्मेवारी दिएको छैन, घरमा आएका सार्थीहरूसँग भेटघाट गरिरहेकै छु । सभापतिजीले मलाई किन कुनै भूमिका दिनुभएन, उहाँलाई नै थाहा होला ।' पार्टी सभापतिसँग आफ्नो सम्बन्ध चिसिएको उनले बताए । उनले भने, 'अरूको कुरा सुनेर मैले सम्हाल्दै आएको जलस्रोत र भौतिक तथा योजना मन्त्रालयबाट भौतिक योजना झिकिदिनुभयो, त्यसपछि सम्बन्ध राम्रो छैन । भनेको मन्त्री नखाएपछि उहाँकोे पनि चित्त दुखेको होला,' उनले भने ।


१२औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवारका रूपमा चर्चा रहेको बारे सोध्दा उनले भने, 'कुनै निश्चित भएको छैन, साथीहरूले जुन जिम्मेवारी दिन्छन्, त्यही लिन तयार छु ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by