ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

आइटी पार्क पुनः सञ्चालनमा

नयाँ पत्रिका/काभ्रे, २३ असोज
काभ्रेको बनेपामा रहेको सूचना प्रविधि पार्क (आइटी पार्क) पुनः सञ्चालनमा आएको छ । पार्कमा शुक्रबारदेखि अमेरिकी कम्पनी आइबिएम कर्पोरेसनले काम सुरु गरेको हो । यसअघि पार्क सञ्चालनमा आएको ६ महिनामै यहाँ रहेको जाभ्रा नामक सफ्टवेयर कम्पनीले पार्क छाडेको थियो । आइबिएमले पार्कको मुख्य भवनको पहिलो तल्लामा अनुसन्धान केन्द्र राखेर काम सुरु गरेको छ । केन्द्रको शुक्रबार प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । यसअघि ०६३ मंसिरदेखि आइटी पार्कमा काम सुरु गरेको नेदरल्यान्डको जाभ्रा सफ्वेयर कम्पनी ६ महिनापछि काठमाडौं फर्किएको थियो ।
आइटी पार्कबाट सफ्टवेयर उत्पादनसम्बन्धी कामका लागि बसेको जाभ्राले हाल काठमाडौंमा रहेर काम गरिरहेको छ । इन्टरनेट कनेक्सनमा समस्या देखापरेको भन्दै जाभ्रा फर्किएको साढे २ वर्षपछि आइबिएमले आइटी पार्कमा अनुसन्धान केन्द्र स्थापना गरेको हो । आइबिएमका प्रतिनिधि डी सीतारामले आइबिएमले नेपालका विश्वविद्यालयसँग सहकार्य गर्दै शिक्षा र स्वास्थ्यका क्षेत्रमा अनुसन्धान कार्य अगाडि बढाउनेछ ।

केन्द्र उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले आइटी पार्क पूर्ण सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । 'पार्कको जति उपयोग हुनुपर्ने थियो त्यसो हुन सकेन,' प्रधानमन्त्रीले भने, 'अब अधिकतम उपयोग हुन्छ ।' राजनीतिक अस्थिरताका कारण पार्क सञ्चालनमा ढिला भएको बताउँदै प्रधानमन्त्री नेपालले चाँडै नै पार्क पूर्ण सञ्चालनमा आउने बताए । 'राजनीतिक अस्थिरता तथा अलमलका कारण पार्क उपयोग हुन सकेन' उनले भने, 'सरकारले पार्क पूर्ण सञ्चालनका लागि आवश्यक पर्ने सहयोग गर्नेछ ।'

०५७ मा निर्माण सुरु भएको आइटी पार्क ०६१ मा सरकारलाई हस्तान्तरण गरिएको थियो । बनेपा र पनौती नगरपालिकाको २ सय ५७ रोपनी जग्गामा निर्माण गरिएको पार्कमा एकैपटक १ सय ४४ जना कम्प्युटर इन्जिनियरले काम गर्नसक्ने क्षमता रहेको छ । आइटी पार्क निर्माण भएपछि केही वर्षअघि सरकारले बनेपा, धुलिखेल र पनौती नगरपालिका तथा यससँग जोडिएका गाविसलाई 'आइटी भिलेज' घोषणा गरेको थियो । तर, पार्क सञ्चालनमा आउन नसकेपछि आइटी भिलेजको अवधारणा पनि सेलाएको छ ।

सरकारले ०५४ मा आइटी पार्कको अवधारणा ल्याएको थियो । आइटी पार्क निर्माण सुरु भएपछि विभिन्न विदेशी कम्पनीले पार्कमा आउन चासो देखाए पनि निर्माणमा ढिलाइ तथा आएको कम्पनीसमेत फर्केपछि विदेशी कम्पनीको चासो त्यसबाट हटेको थियो । उच्चस्तरीय सूचना प्रविधि आयोगका उपाध्यक्ष मनोहर भट्टराईले पार्क सञ्चालनका लागि आयोगले विशेष कार्ययोजना ल्याउन लागेको जानकारी दिँदै अब पूर्णरुपमा सञ्चालनमा आउने जानकारी दिए ।

पार्क निर्माण भएर पुनः सञ्चालनमा आए पनि आवश्यक अन्य पूर्वाधार भने निर्माण हुनसकेको छैन । पार्कमा व्यापारिक, प्रशानिक तथा आवास गृह निर्माण भएका छन् भने अप्टिकल फाइबर र भिस्याटसमेत जडान भइसकेका छन् । तर, पार्कभित्रै उपलब्ध हुनुपर्ने चमेना गृह, विद्यालय, बैंक, मनोरन्जन स्थललगायत पूर्वाधार अझै तयार भएका छैनन् ।

पहिलोपटक पार्कमा बैठक

आइटी पार्क निर्माण भएपछि उच्चस्तरीय सूचना प्रविधि आयोगको बैठक पहिलोपटक पार्कमा बसेको छ । शुक्रबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको आयोगको बैठकले पार्क सञ्चालनका लागि आवश्यक कार्ययोजना तयार गर्नेलगायत निर्णय गरेको उपाध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार, बैठकले सूचना प्रविधिलाई प्रतिस्पर्धात्मक बनाउन गर्नुपर्ने कामको प्रारुप तयार पार्ने तथा सूचना प्रविधि विकासका लागि आवश्यक नीतिगत विषयमा स्पष्ट खाका बनाएर सरकारलाई बुझाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री नेपालले लगानी र सुधारका विषयको खोजी गनुपर्नेर् र प्रविधिको पहुँच तल्लो तहसम्म पुर्‍याउनुपर्ने बताएका थिए । 'सहरी क्षेत्रमा मात्र सूचना प्रविधिको विकास भएर हुँदैन,' प्रधानमन्त्री नेपालको भनाई उद्धृत गर्दै आयोगका उपाध्यक्ष भट्टराईले भने, 'ग्रामीण क्षेत्रका जनतासम्म यसको पहुँच पुर्‍याएर गरिबी निवारण तथा देश विकासका लागि सूचना प्रविधिको उपयोग गर्नुपर्छ ।'

बैठकमा विज्ञान तथा प्रविधि राज्यमन्त्री एवं आयोगका सहअध्यक्ष इन्द्रप्रसाद ढुंगेल, पार्कका सदस्यसचिव जुद्धबहादुर गुरुङलगायत सदस्य सहभागी थिए । आयोगमा विज्ञान तथा प्रविधि, सूचना तथा सञ्चार, शिक्षा र अर्थ मन्त्रालयका सचिवहरू, क्यानका अध्यक्षलगायत व्यक्ति सदस्य रहने व्यवस्था गरिएको छ । आयोगमा अझै ४ जना सदस्यको पद रिक्त रहेको बताउँदै उपाध्यक्ष भट्टराईले यसमा चाँडै नियुक्त गरिने प्रधानमन्त्री नेपालले जानकारी दिएको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by