ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 8, 2009

व्यावसायिक तरकारीमा आकर्षण

नयाँ पत्रिका/सप्तरी, २१ असोज
विदेश गई धेरै आम्दानी गर्ने सोच युवामा विकसित हुँदै आएका बेला सप्तरीका एक युवाले तरकारी खेतीबाटै मनग्ये आम्दानी गरी विदेश जानेलाई चुनौती दिंदै आएका छन् । सप्तरीको रुपनगर गाविस-५ का २७ वसन्तकुमार यादव डेढ बिघा खेतमा गरेको तरकारी खेतीबाट मात्र प्रत्येक तीन महिनामा लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । उनले घर नजिकैको आफ्नो डेढ बिघा खेतमा काउली, लौका, आलु, काँक्रा, भान्टा खेतीबाट प्रत्येक तीन महिनाको सिजनमा डेढ लाख आम्दानी गरिरहेका छन् । डेढ कठ्ठामा गरेको काँक्रा खेतीबाट २९ हजार रुपैयाँ आम्दानी भएको बताउँदै वसन्तले भने, 'एक बिघामा काँक्रा लगाउने तयारी गरिरहेको छु । त्यसबाट ५ लाख रुपैयाँ आम्दानी हुने देखिएको छ ।'

आफ्नो घरका लागि मात्र तरकारी उब्जाउने गरेकामा पछि जर्मन प्राविधिक संस्था जिटिजेडमा कार्यरत जेटिए अनन्तलाल यादवको सहयोगले बृहत् रुपमा तरकारी खेती गर्दै आएको उनको भनाइ छ । जेटिए यादवले भनेअनुसार क्यालेन्डर बनाएर तीन वर्षदेखि व्यापारिक दृष्टिकोणले तरकारी खेती गरिरहेको उनले जानकारी दिए ।

एसएलसीसम्म मात्र अध्ययन गरेका वसन्तले एक कठ्ठा जग्गामा परीक्षणका लागि लौका खेती गरेका छन् । अहिले लौकाको अफसिजन भए पनि खेती गरेर हालसम्म २५ हजार रुपैयाँभन्दा बढी कमाइसकेको उनको दाबी छ । हालसम्म ५ क्विन्टलभन्दा बढी लौका काठमाडौं पठाइसकेको बताउँदै वसन्त भन्छन्, 'त्यहाँ पुग्नुभन्दा पहिला नै मेरो लौका ठूला-ठूला होटलका लागि बुक भइसकेको हुन्छ ।'

रासायनिक मलको भर पर्दा सुरुमा खेती गर्न अप्ठ्यारो भए पनि पछि आफैंले उत्पादन गरेको मल र बाबा अर्गानिक मल प्रयोग गर्न थालेपछि राम्रो उब्जनी हुन थालेको उनी बताउँछन् । बिरुवामा रोग लाग्ने र जीवाणु सार्नेजस्ता समस्याका कारण खेती प्रभावित भइरहेकोमा हाल सो अर्गानिक मल प्रयोग गर्न थालेपछि अन्य कीटनाशक औषधि प्रयोग गर्नु नपरेको उत्पादन क्षमतासमेत बढाएको उनले बताए ।

विदेश जान धेरै रकम पनि खर्च हुने र त्यहाँ कामको सुनिश्चितता पनि नहुने भएकाले आफ्नै खेतमा मेहनेत गरी आम्दानी गर्ने सोचका साथ खेती गर्न थालेको उनी बताउँछन् । वसन्तकुमार मात्र हैन सप्तरीको भारदह गाविसका सीताराम महतो पनि चार वर्षदेखि तरकारी खेतीमा लाग्दै आएका छन् । उनले घर नजिकैको आफ्नो १५ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् । समयमा मलखाद उपलब्ध हुन नसक्दा चाहेजति उत्पादन र आम्दानी गर्न नसकेको गुनासो छ उनको । तर, यसै वर्षदेखि मात्र यस क्षेत्रमा राम्रै ख्याती पाएको जैविक मल प्रयोग गरेपछि बाली राम्रो भएको उनले बताए ।

सप्तरीको हावापानी तरकारी खेतीका लागि उपयुक्त र राम्रो भए पनि उचित तालिम र जानकारी अभावमा तरकारी खेती यहाँका किसानका लागि व्यावसायिक बन्न सकेको छैन । रासायनिक मल प्रयोग र त्यसमा पनि समयमा माग अनुसारको मल आपूर्ति नहुँदा खुला सिमानाका कारण भारतबाट आएको गुणस्तरहीन मल प्रयोग गर्न किसान बाध्य छन् । गुणस्तरहीन मल प्रयोगबाट जमिनमा पाइने विभिन्न तत्व असमान तरिकाले घटबढ हुने गरेकाले खेती प्रभावित हुँदै आएको किसानको भनाइ छ ।

जमिनमा पाइने तत्वको घटबढका कारण उर्वराशक्ति घट्ने र बालीमा विभिन्न किसिमका रोग लाग्ने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजकान्त झा बताउँछन् ।

'सप्तरीमा ३० हजार हेक्टर जग्गा तरकारी खेतीयोग्य रहे पनि गत वर्षसम्म ५ देखि ७ हजार हेक्टर जग्गामा मात्र तरकारी खेती हुने गरेको थियो', बाली संरक्षण अधिकृत झाले भने, 'यो वर्षदेखि युवा व्यावसायिक तरकारी खेतीतर्फ आकषिर्त भएपछि खेती बढेको हो ।'

तरकारी खेतीलाई व्यावसायिक रुपले विकास गर्न दैनिक कार्यालयमा युवा जानकारी लिन आउने गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीका रुक्मिणीरमण ठाकुरले जानकारी दिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by