ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 4, 2009

परराष्ट्रमन्त्री कोइराला फिर्ता

काठमाडौं, असोज १८ (नागरिक)- परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली तयारी पोसाकलाई भन्सार छुट गरी अमेरिकी बजारमा पहुँच सहज बनाउन त्यहाँका जनप्रतिनिधि सकारात्मक भएको बताएकी छन्। 'अमेरिकी सिनेटर तथा सांसदहरू नेपालजस्ता अल्पविकसित देशमा उत्पादित तयारी पोसाकलाई विद्यमान भन्सार छुट गर्न सकारात्मक भएका छन्,' दुई साता लामो अमेरिका यात्रापछि शनिबार अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्।
सिनेटर चार्ल्स ग्रास्ले तथा तल्लो सदन कंग्रेसको व्यापार, वित्त तथा परराष्ट्र मामिला समितिका सदस्य सांसद जिम म्याकडोरमेट र जेफ ल्फेकसँगको भेटवार्तामा उनले नेपाली पोसाकलाई भन्सार छुट गर्न आग्रह गरेकी थिइन्। २००४ मा अमेरिकाले तयारी पोसाकमा लगाउँदै आएको कोटा प्रणाली खारेज गरी ६० प्रतिशत अतिरिक्त भन्सार लागू गरेपछि नेपाली पोसाकले त्यहाँ प्रतिस्पर्धा गर्न सकिरहेको छैन।

६ महिनाअघि अमेरिकी सिनेटर डायना फ्राइन्सटाइनले नेपालसहित १४ अल्पविकसित देशका उत्पादन आयत गर्दा भन्सार छुटसम्बन्धी प्रस्तुत गरेको व्यापार विधेयक कंग्रेसमा विचाराधीन छ। उक्त विधेयक अनुमोदन भए गरिब मुलुकहरूबाट अमेरिका निर्यात हुने सबैजसो सामग्रीमा भन्सार छुट हुनेछ। विधेयक अनुमोदनका लागि आग्रह गरेको कोइरालाले बताइन्।

उनले अमेरिकी समकक्षी हिलारी क्लिन्टनसँगको दिवाभोजका क्रममा भने यससम्बन्धी कुरा नभएको संकेत गरिन्। 'नेपालको शान्ति प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छोटो कुराकानी भयो,' हिलारीसँगको भेटबारे उनले भनिन्।

संयुक्त राष्ट्रसंघको ६४ औं महासभामा भाग लिन उनी छुट्टै प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्री माधवकुमार नेपालसँगै गत असोज ४ गते न्युयोर्क उडेकी थिइन्। न्युयोर्कमा राष्ट्रसंघीय महासभालाई सम्बोधन र उच्चस्तरीय भेटघाट गरी प्रधानमन्त्री पाँच दिनअगावै स्वदेश फर्किए पनि मन्त्री कोइरालाले अमेरिकी सहर सिकागो, राजधानी वासिङ्टन डिसीलगागत ठाउँ पुगेकी थिइन्।

सिकागोमा मेयर रिचर्ड डाले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा प्राविधिक सहयोग गर्न इच्छुक भएको मन्त्री कोइरालाले जानकारी दिइन्। त्यहाँ व्यापारी, व्यवसायी र नेपाली समुदायसँगको भेटमा आफूले नेपालमा शान्ति फर्किएको र लगानी वातावरण बनेकाले पूर्वाधार निर्माणमा आग्रह गरेको बताइन्।

नेपालले दुई वर्षका लागि अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्ष बनेको उल्लेख गर्दै परराष्ट्रमन्त्रीले यसबाट राष्ट्रिय इज्जत र दायित्व बढेको टिप्पणी गरिन्। नेपालले आउँदो मध्य पुसदेखि पूर्ण रुपमा जिम्मेवारी सम्हाल्नेछ। उक्त समूहले नेपालसहित अतिकम विकसित राष्ट्रले भोग्नुपरेका समस्या, चुनौती र त्यसका समाधानका उपायबारे अन्तर्राष्ट्रिय मञ्चमार्फत वकालत र पहलकदमी गर्नेछ।

महासभाका दौरान परराष्ट्रमन्त्री कोइरालाले छिमेकी भारत, श्रीलंका, बंगलादेशका समकक्षीसँग द्विपक्षीय तथा आपसी हितका विषयमा छलफल गरेको बताइन्। साथै, जर्मनी, नर्वे, भियतनाम, अष्ट्रिया, सिंगापुरलगायत देशका विदेशमन्त्रीसँग भेटघाट भएको जानकारी दिइन्।

'सबैले नेपालमा शान्ति, स्थाईत्व र विकास हुनुपर्छ भन्ने धारणा रहेको पायौं।' उनीहरूसँगको भेटबारे उनले भनिन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by