काठमाडौ, २०६६ आश्विन १९ -
प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच सोमबार भेटवार्ता भएको छ । कोटेश्वर स्थित एक निजी घरमा भएको भेटमा वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको प्रधानमन्त्री नेपालले जानकारी दिए । झण्डै आधा घण्टा भएको भेटमा माओवादी अध्यक्ष दाहालले सबैलाई मान्य हुने गरी सहमति खोज्न प्रस्ताव गरेका थिए । भेटपछि प्रधानमन्त्री नेपालले आफूले अध्यक्ष दाहाललाई सकारात्मक पाएको भन्दै चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे ।
अवरुद्ध संसद सुचारु गर्ने विषयमा कांग्रेस र एमालेले प्रस्ताव गरेको मस्यौदामा सहमतिको बिन्दु खोज्ने छलफल भएको पनि उनले बताए । दुई नेताबीच शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी नेतृ हिसिला यमी पनि सहभागी थिइन ।
यसअघि दाहालले राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासंग पनि भेटिसकेका छन् । दशैंको अवसरमा कांग्रेस र एमालेले गरेको छुट्टा छुट्टै चियापान कार्यक्रममा पनि तीन वटै दलका शीर्ष नेताहरुले चाँडै राजनीतिक सहमति कायम हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।
No comments:
Post a Comment