ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

तीन ठूला दलप्रति गच्छदार क्रुद्ध





'माओवादी, कांग्रेस, एमालेको मात्रै देश होइन', मधेसी पत्रकार समाजको प्रथम महाधिवेशन उदघाटनको क्रममा शनिबार उनले राजधानीमा भने, 'चौथो शक्तिको रुपमा रहेको मधेसवादी दललाई उपेक्षा गरियो भने तीन पार्टीले र समग्र मुलुकलेनै अझ ठूलो संकटको सामना गर्नुपर्छ ।' काठमाडौ, २०६६ आश्विन २४ - उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रमुख तीन दलको मनोमानिमा राज्य पुर्नसंरचना गर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । उनले माओवादी, कांग्रेस र एमालेको सहमतिमा हुन लागेको त्यस्तो षडयन्त्र मधेसवादी दलको लागि मान्य नहुने समेत चेतावनी दिए ।

'माओवादी, कांग्रेस, एमालेको मात्रै देश होइन', मधेसी पत्रकार समाजको प्रथम महाधिवेशन उदघाटनको क्रममा शनिबार उनले राजधानीमा भने, 'चौथो शक्तिको रुपमा रहेको मधेसवादी दललाई उपेक्षा गरियो भने तीन पार्टीले र समग्र मुलुकलेनै अझ ठूलो संकटको सामना गर्नुपर्छ ।'

कांग्रेसले हिमाल, पहाड, तराईलाई मिलाएर संघ बनाउनुपर्ने पुरातनवादी सोच अघि सारेको र माओवादीले जातीय आधारमा संघ निर्माण गर्नुपर्ने तर्क गरेको भन्दै अन्तत तीन ठूला पार्टी मिलेर मनोमानिमा राज्य पुर्नसंरचना गर्न लागेको उनको आरोप थियो ।

'अन्तत तीन ठूला पार्टीको एउटै सोच, आवाज र विचार आउने देखिन्छ', उनले भने, 'तर हामी मेचीदेखि महाकालीसम्म स्वायक्त मधेस प्रदेश होस भन्ने अडानबाट पछि हट्दैनौ ।'

उनले तीन ठूला दलले सहमति गरेर साझा प्रस्ताव ल्याए आफूहरुलाई आपत्ति नहुने बताउदै जसरी भएपनि संसदको अवरोध अन्त्य गर्नुपर्ने बताए । गच्छदारले उपराष्ट्रपतिको हिन्दी भाषा सपथ विवाद आफूहरुले चाँडै समाप्त होस भन्ने चाहेको पनि बताए ।

' तीन दलको एउटै सोच हो भने पहिले तपाइहरु संसदको अवरोध हटाउनुस । त्यसपछि तपाइहरुनै सरकार बनाएपनि बनाउनुस ।' तीन दलप्रति आक्रोसित देखिएका उनले भने, 'तर हामी संसद सुचारु भएपछि अन्तरिम संविधान संशोधन गरेर सपथ विवाद अन्त्य गर्न चाहन्छौ ।'

तर उनले माओवादीले आयु तोक्दै आएपनि सरकारले पाँच महिना पूरा गरेको भन्दै अहिले यो सरकारको विकल्पमा अर्को सरकारबारे सोच्न नसकिने बताए । 'माओवादीले डेढ महिना, तीन महिनामा सरकार ढल्छ भन्दाभन्दै सरकारले पाँच महिना पूरा गर्‍यो ', उनले भने, 'यो सरकारको विकल्प छैन् । यसैले संविधान बनाएर नयाँ निर्वाचन गराउछ ।'

गृहराज्यमन्त्री रिजवान अन्सारीले समयमै संविधान निर्माण गर्ने वाताबरण तयार पार्न सरकारले विशेष सुरक्षा योजना ल्याएको बताउदै सबैको साथ पाए केही महिनाभित्रै शान्ति सुरक्षामा उल्लेख्य सुधार आउने बताए ।

उनले यो बीचमा केहीमात्रै भएपनि शान्ति सुरक्षामा सुधार आएको दाबी गर्दै बिभिन्न अपराधीलाई पक्राउ गर्न सरकार सफल भएको बताए ।

पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले सरकारले सुरक्षा समितिमा पत्रकारलाई राखेर पत्रकारको मर्यादा, व्यवसायीकता र आचारसंहिता विरुद्ध काम गरेको भन्दै समिति बहिष्कार गर्न आह्वान गरे । 

उनले भने, 'तपाईहरु सुरक्षा समितिमा नबस्नुस । त्यहा बस्दा उत्पन्न हुने परिस्थितिको महासंघ जवाफदेही हुदैन ।' उनले पत्रकार उमा सिंह र वीरेन्द्र साह लगायतका हत्याराहरुलाई कारबाही नभएसम्म सरकारले शान्ति सुरक्षामा सुधार आएको र दण्डहीनताको अन्त्य गर्न कृयाशील रहेको दाबी गरेपनि पत्याउन नसकिने बताए । 

उनले २२ दलको प्रभावकारी सरकार बनेपनि पत्रकारको मुद्धामा गम्भीरतापूर्वक ध्यान दिन नसकेकोप्रति दुखेसो पोखे ।

कार्यक्रममा गोरखापत्रका पूर्ब प्रधानसम्पादक सीताराम अग्रहरीलाई प्रथम गणतान्त्रिक पुरस्कार र राजविराजकी पत्रकार सुधा देवलाई उमासिंह शाहसिक महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by