ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 4, 2009

सुरु भयो पर्यटकीय मौसम


शिव शर्मा -कास्की, २०६६ आश्विन १७ -
पर्यटकीय मौसमको सुरुवातसँगै आन्तरिक पर्यटकले पोखरा खचाखच भएको छ । दसंै मनाउन देशका विभिन्न जिल्लाबाट यहाँ आएका पर्यटकहरू बिदा सकिन लाग्दा पनि अझै पर्यटकीयस्थलमा रमाइरहेका देखिन्छन् । यहाँको फेवाताल, बेगनासताल, सराङकोट, डेभिडफल्स लगायतका आकर्षकस्थलमा पर्यटकको लस्कर भेटिन्छ । काठमाडौंबाट परिवारसहित यहाँ आएका मनोहर श्रेष्ठलाई यहाँको सुन्दरताले लोभ्याएको छ । 'सुनेको भन्दा पनि देखेको पोखरा झनै राम्रो लाग्यो फेवातालमा भेटिएका भने 'अझै पोखराको बसाइँ लम्ब्याउनु पर्ला जस्तो भएको छ । 'चाडपर्वमा अधिक मात्रमा पर्यटक भित्रिनेक्रम बढेपछि व्यवसायीहरूले पोखरालाई 'पे होलिडे' को रूपमा विकास गर्नुपर्ने व्यवसायीहरूको माग छ । 
यतिबेला पोखरा भ्रमणका लागि अनुकूल मौसम र सेताम्मे खुलेकेा हिमालले पनि उनीजस्तै अरू पर्यकटहरूलाई आकषिर्त गर्न पुग्छ । यही भएर पनि देशका विभिन्न भागबाट आउने स्वदेशी पर्यटकहरूको यहाँ ओइरो लागेको छ । राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्कमा पोखरा भित्रिने र बाहिरिनेमा विदेशीभन्दा स्वदेशीको हूल बाक्लो देखिन्छ । 'यतिबेला दैनिक एक हजार आन्तरिक पर्यटकहरू पर्यटकीय बसबाट पोखरा भित्रिने गरेका छन्, नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन पोखरा शाखाका उपाध्यक्ष केदारनाथ शर्माले भने, 'यतिबेला यहाँ आन्तरिक पर्यटकको लहर नै चलेको छ ।' त्यसै गरी हवाईमार्ग, निजी सवारी तथा सार्वजनिक यातायातबाट पनि त्यतिकै मात्रमा पर्यटकहरू पोखरा ओइरिएका छन् । मुस्किलले दैनिक डेढ सयले डुंगा सयर गर्ने फेवातालमा अहिले २५ सयभन्दा बढी हुने गरेको डुंगा व्यवसायी संगठनका कर्मचारी नरबहादृुर श्रेष्ठ बताउँछन् । 'अहिले बिहानदेखि बेलुकासम्म डुंगा चढनेहरूको भीड लाग्छ, उनले भने, 'डुंगा सयर गर्नेमा विदेशीभन्दा स्वदेशी नै बढी छन् ।'

यतिबेला नयाँ सिजनको स्वागत गर्न व्यवसायीहरू होटल, रेस्टुरेन्ट रंगरोगन गरी चिटिक्क पार्ने, कोठामा एसी राख्ने, जनशक्ति थप गरी पर्यटकलाई स्तरीय सुविधा दिन पर्यटन व्यवसायीहरू पनि मरिमेटेर लागेका छन् । 'आन्तरिक पर्यटकको तीव्र आगमनले होटलहरू राम्रा 'अकुपेन्सी' मा चलिरहेका छन्, होटल बाराहीका सञ्चालक विप्लव पौडेलले भने, 'अघिल्लो वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटक दोब्बरले बढेका छन्, यसले पर्यटन व्यवसायीहरूलाई थप उत्साही तुल्याएको छ ।'
खासगरी अहिले युरोपियन, चिनियाँ तथा जापनिज पर्यटकको बढी आगमन हुने मौसम पनि हो । तर पनि अहिले विदेशीभन्दा स्वदेशी पर्यकटहरूको आगमन बढी छ । होटल व्यवसायीहरूले आफ्नो क्षमताभन्दा बढी पर्यटक बुकिङ गराइरहेका छन् । 'अहिले त स्वदेशी पर्यटकले धान्न नसकिने अवस्था छ, होटल शिखरका सञ्चालक टीका पौडेलले भने, 'अहिले होटलको बुकिङ रेसियो उच्च छ ।' उनले होटलको बुकिङ रेसियो ८० प्रतिशतभन्दा बढी रहेको बताए ।

पोखरामा पर्यटकीयस्तरको होटलको संख्या करिब ४ सय छ । तीनको बेड क्षमता ९ हजार छ । यतिबेला यी होटलका कोठाहरू भरिभराउ छन् । होटलको बुकिङ रेसियो उच्च भएकाले कोठा पाउनसमेत मुस्किल भएको छ । 
राजधानी पछि पर्यटकहरूका लागि दोस्रोे गन्तव्यको रूपमा पोखरालाई नै लिने गरिन्छ । रातभर अबेर लेकसाइडमा देखिने चहलपहल र खचाखच होटलको दृश्यले पर्यटक बढेको संकेत दिन्छ ।
लेकसाइमा रहेका पर्यटकीय स्तरका होटल रेस्टुरामात्र हैनन् नगरका अन्य क्षेत्रमा होटलहरू पनि भरिभराउन छन् । ट्रेकिङ एजेन्सीहरू पनि फस्टाएका छन् ।

 अन्नपूर्ण क्षेत्रका लागि पदयात्रमा निस्कने पर्यटकहरू पनि संख्या पनि निकै बढेको छ । त्यसो त पोखरा आउने करिब ७० प्रतिशत पर्यटकहरू पदयात्रामा नै रमाउने गरेका छन् । उनीहरूमा अधिकांश अन्नपूर्ण क्षेत्रमा नै जाने गरेको पाइन्छ । अन्नपूर्ण चक्रिय यात्राका लागि अधिकांश पर्यटक लमजुङबाट आफ्नो यात्रा सुरु गर्छन् भने घान्द्रुक, घोडेपानी, मुक्तिनाथसम्मका यात्राका लागि अधिकांशले पोखराबाट आएर यात्रा सुरु गर्छन् । पदयात्रा जाने नेपाली पर्यकटहरू बढेका छन्, टे्रकिङ व्यवसायी टीका सापकोटाले भने, 'तिनीहरूमा अन्नपूर्ण बेसक्याम्प जानेहरूको संख्या अधिक छ ।'

सेप्टेम्बरमा साढे ५ प्रतिशतले वृद्धि
कान्तिपुर संवाददाता
काठमाडौं- पर्यटकीय मौसमको सुरुवाती महिना सेप्टेम्बरमा पनि नेपाल आउने पर्यटक संख्यामा ५ दशमलव ५ प्रतिशतले बढोत्तरी भएको छ । सन् २००९ को सेप्टेम्बरमा हवाईमार्ग भएर आउनेहरूको संख्या ३४ हजार २ सय ८१ रहेको छ । 
जब कि गत वर्षको यही महिना ३२ हजार ५ सय २ पर्यटक भित्रिएका थिए । त्यस्तै सन् २००९ अगस्टको तुलनामा पनि यो महिना आएका पर्यटक शून्य दशमलव ३ प्रतिशतले बढी हुन् । अगस्टमा २७ हजार ६ सय ७६ पर्यटकहरू नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डका अनुसार यसपालि आउने पर्यटकहरूमा सबैभन्दा बढी एसियाली मुलुकका रहेका छन् । यस क्षेत्रबाट आउने पर्यटकहरूमा २२ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । जसमध्ये चीन र थाइल्यान्डका पर्यटक सबैभन्दा बढी छन् । यी दुई देशबाट आएका पर्यटक क्रमशः ३२ र ४३ प्रतिशतले बढेका छन् । त्यस्तै दक्षिण कोरिया र जापानी बजार पनि नेपालका लागि सन्तोषजनक रह्यो । यद्यपि सार्क राष्ट्रका पर्यटक संख्या भने ५ दशमलव ७ प्रतिशतले झरेको छ । 
त्यस्तै युरोपेली राष्ट्रहरू अस्टि्रया, बेल्जियम, डेनमार्क, प|mान्स, जर्मनी, इजरायल, नेदरल्यान्ड, नर्वे र स्पेनका पर्यटक केही घटे पनि बेलायत, स्विडेन, स्विट्जरल्यान्ड र इटालीका पर्यटक संख्या उलेख्य बढेकाले कुल संख्या ऋणात्मक हुन पाएन । 
यो महिना क्यानडा र अमेरिकाबाट आउने पर्यटक भने गत महिनाझैं बढी छन् । क्यानडाका पर्यटक २२ दशमलव ५ प्रतिशत र अमेरिकी पर्यटक २१ दशमलव ४ प्रतिशतले बढेका छन् । 
नेपालमा बन्द-हडताल कम भएपछि जून महिनादेखि लगातार पर्यटकहरू बढेका बढ्यै छन् । जुलाईमा भने सबैभन्दा बढी पर्यटक आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन शाखाले दिएको तथ्यांकले देखाएको छ । 
यो महिना गत वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमन ९ दशमलव ७ प्रतिशतले बढेको थियो । 
तर सन् २००९ को जनवरीदेखि सेप्टेम्बरसम्मको तथ्यांकअनुसार भने फेब्रुअरीमा पर्यटक संख्या सबैभन्दा बढी वृद्धि भएको थियो । गत वर्षको सोही अवधिको तुलनामा १६ दशमलव २ प्रतिशतले बढेको थियो । 
प्रत्येक महिनाको तथ्यांकले देखाएको वृद्धिबाट सन्तुष्ट हुने स्थान भने छैन । किनभने जनवरीदेखि सेप्टेम्बरसम्म नेपाल आएका कुल पर्यटक संख्या गत वर्षको तुलनामा भने अझै २ दशमलव २ प्रतिशतले कम रहेको छ । सन् २००८ को यो अवधिमा दुई लाख ५७ हजार १ सय ८१ पर्यटक आएकोमा यसपालि २ लाख ५१ हजार ५ सय २३ पर्यटक मात्र भित्रिएका छन्

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by