ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 4, 2009

भारतीय सीमा सुरक्षा बलको यातनाबाट रौतहटमा नेपालीको मृत्यु

उपेन्द्र लामिछाने, वीरगन्ज असोज १८– भारतीय सीमा सुरक्षा बल (एसएसबी) को यातनाबाट  रौतहटमा एक सर्वसाधारण नेपालीको  मृत्यु भएको छ। सुर्तीको डाँठ बिक्री गर्न सीमावर्ती भारतीय बजार घोडासन हिँडेका सुरमजुवा–८ का ३५ वर्षीय मुकलराय यादवको  एसएसबीका जवानको कुटाईबाट शनिबार राति मृत्यु भएको  हो। सुर्ती बेचेर जीविका चलाउँदै आएका मुकलराय यादवलाई सीतामढी बेसक्याम्प जमुनियाका एसएसबी जवानले नियन्त्रणमा लिएर कुटपिट गरेका परिवारले जनाएको छ। निर्घात कुटपिटपछि राति लरखराउँदै घर आएका उनको केही घन्टामै  मृत्यु भएको परिवारले बताएको छ।   घरमा आएपछि उनले आफूलाई एसएसबीका जवानले कुटपिट गरेको बताएका थिए। हातखुट्टा बाँधेर  नियन्त्रणमा राखिएका  यादवलाई एसएसबीका जवानले ४ घन्टा नियन्त्रणमा राखेर  छाडे्को  स्थानीयले बताए। 
मुकलको मृत्युको विरोध गर्दै  स्थानीय सर्वसाधारणले सीमावर्ती बंकुल बजारमा प्रदर्शनसमेत गरेका छन्। एसएसबीको ज्यादतिविरुद्ध नारा लगाउँदै उनीहरुले क्षतिपूर्तिको माग गरेका छन्। मुकलका ४ छोरा २ छोरी छन्। उनको मृत्युपछि परिवारमा रुवाबासी चलेको छ। 

प्रशासनले भारतीय अधिकारीसँग घटनाको जानकारी गराएको छ।  रौतहटका प्रमुख जिल्ला अधिकारी कमलेशकुमार सिन्हाले भारतीय अधिकारीसँग घटनाबारे जानकारी गराएको बताए। 'उनीहरुले घटनाको अनुसन्धान गर्छौं भनेका छन् ', प्रमुख जिल्ला अधिकारी सिन्हाले भने्। मुकलको शव पोष्टमार्टमका लागी सदरमुकाम गौर लगिएको छ। 
केही समययता तराईका अन्य जिल्लामा पनि सीमा सुरक्षा बलको ज्यादति बढ्दै गएको यस क्षेत्रका सर्वसाधारण बताउँछन्। बारा, पर्सा तथा रौतहटका सीमावर्ती भू-भागमा एसएसबीका जवान आएर स्थानीयलाई हातपात गर्ने गरेको उनीहरुले बताए। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by