ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 10, 2009

सजिलो छैन अघि बढ्न



पर्शुराम काफ्लेनयाँ पत्रिका/ काठमाडौं, २३ असोज
आर्किटेक्ट इन्जिनियर रञ्जित कर्ण- ३४, कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघको राजनीतिमा दुई दशकदेखि सक्रिय छन् । त्रिचन्द्र क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा जित्दै उनी नेविसंघको महामन्त्रीसमेत भए र हाल नेतृत्वप्राप्तिको दौडधुपमा सक्रिय छन् । तीन वर्षअघि एमई गरेका कर्णले विद्यार्थी राजनीति र पेसा एकैसाथ अघि बढाएका छन् । 'सातामा दुई दिन म पेसागत काम गर्छु, बाँकी समय पूरै राजनीतिमा खटेको छु,' राजविराज पोखरेलटोलका उनी भन्छन्, 'धेरैजसो साथी पार्टी सहभागी भएको सरकार र अदृश्य स्रोतबाट पैसा कमाइरहेका छन्, हामी प्राविधिक आफै काम गरेर आफ्नो व्यवस्था गर्छौं ।' बुद्धनगरमा पार्टनरसिपमा टेक्नोक्रयाट कन्सल्टेन्सी सञ्चालन गरेका उनले पाँच वर्षयता कञ्चनपुर महेन्द्रनगरको सिटी हलको आर्किटेक्ट गरे, सुनसरी पकलीको नगर विकास तथा डिभिजन कार्याल्ायका योजना बनाए र हाल धादिङको जिल्ला पर्यटन योजना बनाउन व्यस्त छन् ।

कर्ण मूलधारको राजनीतिमा सक्रिय आधा दर्जनभन्दा कम इन्जिनियरका प्रतिनिधि पात्र हुन्, जो नेतृत्वबाट हमेसा उपेक्षा गरिरहेको आरोप लगाउनेमध्येका पनि एक हुन् । राजनीतिमा सक्रिय प्राविधिकलाई कुनै पनि पार्टी नेतृत्वले प्रोत्साहन नगरेको दुखेसो पोख्छन् उनी । भन्छन्, 'ब्याक बेन्चर (क्षमता नभएका)हरूलाई मात्रै प्रोत्साहन हुन्छ राजनीतिमा, हामी फ्रन्ट बेन्चर (क्षमता भएका)हरूलाई छैन । ब्याक बेन्चरहरूको मातहतमाफ्रन्ट बेन्चरहरू रहनुपरेपछि पार्टी पनि सपि्रँदैन, देश पनि सपि्रदैन । अहिले त्यही भएको छ ।'

प्राविधिक पृष्ठभूमि भएकाहरू सिर्जनात्मक काममा लाग्ने, तर नेतृत्वले त्यसलाई भन्दा आन्दोलनका नाममा पूर्वाधार बिगार्नेहरूलाई प्रोत्साहन दिने गरेको अनुभव सुनाउँछन् कर्ण । 'आन्दोलनका नाममा पूर्वाधार भत्काउन प्राविधिक पृष्ठभूमि भएकाहरू कम्तीमा आफैँ अघि सर्दैनन्,' उनको तर्क छ, 'तर, नेपालमा क्रिएटिभ पोलिटिक्स (सिर्जनात्मक राजनीति) छैन । राजनीतिको अग्रस्थानमा पुगेका प्राविधिक पृष्ठभूमि बोकेकाहरू सफल भएको उनको निष्कर्ष छ । भारतका तत्कालीन राष्ट्रपति डा. एपिजे अब्दुल कलाम, चीनका राष्ट्रपति हु जिन्ताओ, नेपालका पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई र भारतको छिमेकी बिहारका मुख्यमन्त्री नितिश कुमारलाई उदाहरण दिने गरेका उनी भन्छन्, 'उनीहरू सफल छन्, किनभने सबै इन्जिनियर हुन् र सिर्जनात्मक योजना र दृष्टिकोण छ ।' डा. बाबुराम भट्टराई एक मात्र इन्जिनियर हुन्, जो राजनीतिक हैसियतले उपल्लो तहमा पुगेका छन् ।

उनको बुझाइमा राजनीतिमा सक्रिय नवप्रवेशी मात्र होइन, पुराना पुस्तासमेत अधिकांश विध्वंसात्मक राजनीतिबाट नेतृत्व तहमा पुगेका छन् । पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ गर्ने युवा पुस्ता विदेश पलायन भइरहेका छन् र स्वदेशमा पनि अधिकांश राजनीतिमा छैनन् । 'मेरो ब्याचमा राजनीतिमा निरन्तर सक्रिय म एक मात्र हुँ, अन्य ब्याचका साथीहरू पनि धेरैजसो विदेश गइसके, यहाँ पनि उनीहरू राजनीतिमा रुचि राख्दैनन्,' कर्ण सुनाउँछन् । राजनीतिलाई विकाससँग जोड्नका लागि राजनीतिक नेतृत्वले प्राविधिकहरूलाई अघि सार्नुपर्ने उनको प्रस्ताव छ । 'नभए दक्ष जनशक्ति पलायन भइरहन्छ र राजनीतिमा जनताको आदर घट्दै जान्छ,' उनको धारणा छ ।

तरुण दलका उपाध्यक्ष उदयशमशेर राणा ३८, राजनीतिबाहेक हस्तकलाको निर्यात व्यापार तथा कन्सल्टेन्सीहरूमा पनि आबद्ध छन् । कुपण्डोलस्थित उनको निवासमा यो संवाददाता पुग्दा उनी बेरोजगार एक युवाको बायोडाटा लिँदै थिए, जागिर लगाइदिनका लागि । विद्यार्थी राजनीतिमा सक्रिय ती युवालाई उदय भन्दै थिए, 'राजनीति मात्रै गरेर केही हुदैन, जागिर पनि गर्नुपर्छ । जागिरले राजनीतिलाई पनि सपोर्ट गर्छ । बेकामे भएर राजनीतिमा लाग्नुपर्छ भन्नेमा म छैन, क्षमता पनि बनाउनुपर्छ ।'

अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर सकेर ०५३ मा नेपाल फर्केपछि उनी राजनीतिमा जमेर लागे, तर आफ्नो क्षमताअनुसार गैरराजनीतिक काम पनि छाडेनन् । त्यसो त उनी ०४६ को जनआन्दोलमा पनि राजनीतिमा सक्रिय थिए । 'अमेरिका गएपछि मैले राजनीतिमा चासो मात्रै राखेँ, सक्रिय हुन सकिनँ,' उदय भन्छन् । अमेरिकाबाट फर्किनासाथ उनी एकैचोटि तरुण दलको ललितपुर जिल्ला सभापति भए । त्यसबीचमा उनले केही परियोजनामा कन्सल्टेन्टका रूपमा काम गरे र राजनीतिमा पनि सक्रिय भए । ललितपुरको राजकुलोका कन्सल्टेन्ट एडभाइजर(०६२), लैंगिकतामा आधारित महिला हिंसाका बारेमा विश्व स्वास्थ्य संगठन र सरकारले गरेको एक अध्ययन प्रोजेक्टका अनुसन्धाता, एसिया फाउन्डेसनका कन्सल्टेन्टलगायत संयुक्त राष्ट्र्रसंघका परियोजनामा कार्यरत उदय अहिले सम्पूर्ण समय राजनीतिमा खर्चिरहेका छन् ।

गत वर्ष संविधानसभा चुनावमा कांग्रेसले उनलाई ललितपुर- १ बाट उम्मेदवार बनाएको थियो र नौ सय मतले उनी माओेवादी नेता वर्षमान पुनसँग हारे । तर, उदय निराश छैनन् । भन्छन्, 'बूढाहरूले मात्रै टिकट पाउने गरेको कांग्रेसले मलाई उठायो र मैले हारे पनि चानचुने भोट लिएर हारेको चाहिँ होइन ।' उदयको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै थियो विशेषतः नेपाली कांग्रेसमा । उनका ठूलाबा भरतशमशेर ०१५ सालको चुनावपछिको तत्कालीन संसद्मा प्रतिपक्षी दलका नेता थिए । त्यसवेला गोर्खा दलका नेता भरत विपक्षी दलका नेता र कांग्रेस नेता बिपी कोइराला सत्तारुढ दलका नेता । गोर्खा दल ०१७ सालमा पञ्चायती शासन सुरु भएपछि कांग्रेसमा विलय भयो । र, कांग्रेसमा रहेका बाबु-काकाका उत्तराधिकारी बने उदय ।

गैरराजनीतिक क्षेत्रमा विशेषज्ञता हासिल गरेका र राम्रो कमाइ गर्न सक्ने हैसियत भएका उदय राजनीतिप्रति आशावादी छन् । पढेलेखेका युवालाई राजनीतिमा पर्याप्त स्थान देख्छन्, उदय । भन्छन्, 'राजनीतिप्रति रुचि मात्रै भएर पुग्दैन पेसा बनाइनुपर्छ । राजनीतिमा पढेलेखेका मान्छे आउनुपर्छ, पर्याप्त स्थान छ ।' उनकै बुझाइमा पढेलेखेका युवालाई राजनीतिमा चुनौती र अवसर दुवै छ । 'एउटा कोणबाट हेर्ने हो भने नेपालको राजनीतिमा तलब छैन, सुरक्षा छैन' उदयको अनुभव छ, 'र पढेलेखेको मान्छेले त्यो जोखिम मोल्न खोज्दैन ।' उनकै अनुभवले भन्छ, 'कुनै पनि पार्टी नेतृत्वले पराक्रम गर्नेलाई भन्दा परिक्रमा गर्नेलाई अवसर दिने गरेको छ ।

तर, एक दशकयता उत्पन्न राजनीतिक अस्थिरताले युवाहरूलाई नेता बन्न ठूलो सहयोग गरेको उनको तर्क छ । 'नेतृत्वको छवि कमजोर भएकाले नै मैले ललितपुर- १ बाट चुनाव लड्ने अवसर पाएँ, नभए बूढाहरूले पाउँथे, यस बीचमा नेता हुने अवसर धेरैले पाएका छन्,' उनी भन्छन् । यद्यपि, पछिल्लो समयमा युवापुस्ता राजनीतिप्रति निराश हुन थालेको यथार्थलाई उदय पनि स्वीकार गर्छन् । भन्छन्, 'नेतृत्वको कमजोरीका कारण जनताले युवाहरूलाई चाहेका छन् । नेताहरूले यो कुरा कति बुझेका छन् थाहा छैन, तर यसलाई हामीले चाहिँ अवसरमा बदल्न सक्नुपर्छ ।' अर्थशास्त्रको पृष्ठभूमिबाट माथिल्लो स्थानमा पुगेका नेताहरू डा. रामशरण महत, डा. प्ा्रकाशचन्द्र लोहनी, डा. मिनेन्द्र रिजाललगायतको उदाहरण दिने गरेका उदय राजनीतिमा विशेषज्ञता हासिल गरेकाहरू कम मात्रै प्रवेश गरेको बताउँछन् । 'नेपाली राजनीतिमा स्पेसिलाइज्ड मान्छे छैनन्,' उनी भन्छन्, 'अब पार्टीहरूले विभिन्न विधाका विभाग बनाएर विज्ञताका आधारमा नेतृत्वमा स्थापित गर्नुपर्छ ।' नेेपालले जलस्रोत, पर्यटन, वैज्ञानिक कृषि र व्यापार पारवहनको क्षेत्रमा काम गर्नुपर्ने र यसका लागि विशेषज्ञताका आधारमा युवा पुस्तालाई मौका दिनुपर्ने उनको सुझाब छ ।

एमाले सम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य शाह जहाँ २२, हाल नर्सिङ विषयमा अध्ययनरत पनि छिन् । भालुवाङ दाङकी शाह मुस्लिम र महिला कोटाबाट प्ररायु संघको केन्द्रीय नेतृत्वमा स्थापित भएकी हुन् । चार वर्षपछि पूर्णरूपमा राजनीतिमा समय खर्चिने योजना बनाएकी उनको राजनीतिक पृष्ठभूमि छैन । 'मेरै क्षेत्रबाट राजनीतिमा सक्रिय हुनेछु र मूलधारमा लाग्ने सोच बनाएकी छु' जहाँ भन्छिन् ।

नेपालको राजनीतिमा खुबी देखाएर अघि बढ्नेभन्दा बढी कुरा गर्नेहरूको बाहुल्य रहेको महसुस शाहले गरेकी छिन् । भन्छिन्, 'मैले नेपाली राजनीतिको सकारात्मक लक्षण देखेकी छैन ।' नेपाली राजनीतिप्रति जनता नै आशावादी नभएको उनको तर्क छ । उनको विचारमा राजनीति नकारात्मक देखिँदै जानुमा दुई कारण छन् । 'एक त राजनीतिमा क्षमताअनुसारको जजमेन्ट छैन,' शाह भन्छिन्, 'दोस्रो, नेताहरूले जनतालाई रिझाउन सकेका छैनन् त्यस कारण जनता राजनीतिप्रति क्रमशः नकारात्मक भइरहेका छन् ।' माओवादी र एमाले नेतृत्वको पछिल्ला दुईवटै सरकारलाई उदाहरण दिएर उनी भन्छिन्, 'यस बीचमा दुईवटा सरकार नै हेरौँ त, कम्युनिस्ट पार्टीकै नेताहरूले केही दिन सकेनन्, जनता किन उनीहरूप्रति सकारात्मक बन्ने ?'



व्यावसायिक पृष्ठभूमि बनाएका महिलालाई राजनीतिमा स्थापित हुन गाह्रो हुने उनको तर्क छ । 'म आफैँ सोच्दै छु, समय व्यवस्थापन गर्न कसरी सकिएला,' मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा बिएस्सी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत उनी भन्छिन्, 'पूरै समय राजनीतिमा लगाउँदा आर्थिक रूपमा क्राइसिस झेल्नु छ कतैबाट पूरा हँुदैन, झन् कम समय दिँदा स्थापित हुन कति गाह्रो छ ।' यद्यपि, मुस्लिम र नर्स भएकै कारण अहिलेसम्म उनलाई राजनीतिमा अप्ठ्यारो परेको छैन । 'मलाई पार्टी नेतृत्वले माया गरेको छ र भ्याएसम्म मैले संगठनलाई समय पनि दिएकी छु,' शाहले भनिन् ।



राजनीतिप्रति विकषिर्त भएको र गैरराजनीतिक व्यावसायिक पृष्ठभूमि बनाएका नयाँ पुस्ता राजनीतिमा अब आउने कम सम्भावना छ उनको विचारमा । 'राजनीतिमा बूढो पुस्ता हावी छ र नेतृत्वप्रति जनभरोसा कम हुँदै गएको छ,' उनी भन्छिन्, 'राजनीति आशालाग्दो पनि छैन । नयाँ पुस्तालाई कन्भिन्स गर्ने ठाउँ पनि छैन राजनीतिमा ।' राजनीतिमा सक्रिय रहेकी उनले मुस्लिम महिलाको समस्यालाई पहिलो प्राथमिकतामा राखेकी छिन् । अशिक्षा र बालविवाह मुस्लिम महिलाका मुख्य समस्या हुन्, त्यसको समाधानका लागि राजनीतिक क्षेत्रबाट पहल गर्नुपर्ने आफ्नो दायित्व महसुस गर्छिन् शाह । 'राजनीतिमा मुस्लिम महिला धेरै छैनन्, मुख्यतः मुस्लिम महिलाको समस्यालाई म उठाउनेछु ।' त्यसबाहेक नर्सिङ पेसाका पनि केही माग छन् ती पूरा गर्ने धोको छ, शाहको । भन्छिन्, 'नर्सहरूलाई अहिले सिटामोल सिफारिस गर्ने पनि अधिकार छैन, यसलाई बदल्ने प्रयास गर्ने मेरो धोको छ ।



एमालेका युवा नेता टंक पनेरु ३९, पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य छन् । केन्द्रीय सदस्यबराबर हैसियत राख्ने पनेरु ०५३ सालमा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट इन्डिया, मद्रासबाट सिए गरेका उनको पृष्ठभूमि नै राजनीतिक हो । 'सिए पढ्नुभन्दा अघि विद्यार्थी राजनीतिमा थिएँ,' पनेरु भन्छन्, 'केही वर्ष राजनीतिमा सक्रिय भइनँ, तर राजनीति गर्न पनि छाडिनँ ।' गत फागुनमा सम्पन्न एमालेको आठौँ महाधिवेशनमा सहभागी एक हजार नौ सय प्रतिनिधिमध्येका एक्ला सिए थिए, पनेरु । 'म लेखा परीक्षण गर्ने ठाउँका लागि चुनाव लड्दै थिएँ, तर केपी ओलीको समूहको लिस्टमा परिएन,' अध्यक्ष झलनाथ खनाल निकटका उनी भन्छन् ।



कम्युनिस्ट राजनीतिमा नेतृत्व निर्माण अन्य दलमा भन्दा फरक छ । विशेषतः पूर्णकालीन कार्यकर्ताबाहेक अरूलाई उपल्लो स्तरमा पुग्न कठिन छ, कम्युनिस्ट राजनीतिमा । उनी भन्छन्, 'व्यावसायिक क्षमताभन्दा पनि काम गरेको अनुभवका आधारमा अवसर हुन्छ कम्युनिस्ट पार्टीमा तर, मेरोचाहिँ दुवै पृष्ठभूमि भएको हुनाले सजिलो भयो ।' क्रिकेट संघका महासचिव, नेपाल चार्टर्ड एकाउन्टेन्ट एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष रहेका उनी राजनीति र पेसालाई एकैसाथ अघि बढाउने सोचमा छन् । तर, अलग्गै पेसामा आबद्ध रहेकाहरूलाई कुनै पनि पार्टी नेतृत्वले उपयुक्त स्थान नदिएको गुनासो छ, उनीसँग पनि । भन्छन्, 'लेखा परीक्षण विभागमा सिए एकजना मात्रै रहेको यो अवस्थालाई हटाउने भूमिका हामी अब खेल्छौँ, मेरो विशेष जोड त्यसैमा केन्दि्रत रहनेछ ।' टंकका अनुसार नेपालको राजनीतिमा उपल्लो स्थानमा पुगेका सिए कुवेर शर्मा मात्रै हुन्, जो पूर्वराजा ज्ञानेन्द्रको सक्रिय शासनमा पर्यटनमन्त्री थिए ।

अन्य युवा नेताहरूजस्तै टंक पनि राजनीतिमा प्राविधिक र पेसागत क्षेत्रका व्यक्तिहरूको चासो कम हुँदै गएको स्वीकार गर्छन् । 'राजनीति अस्थिर भएकाले नवप्रवेशीहरूले आफ्नो राजनीतिक भविष्य नै सुरक्षित ठानिरहेका छैनन्,' उनको विश्लेषण छ, 'कम्युनिस्ट पार्टीले पृष्ठभूमिकाहरूलाई एकैचोटि माथि पुग्न दिँदैन, उनीहरू तल्लो कमिटीबाट माथि उठ्न खोज्दैनन्, नेतृत्वले माथि पुग्न स्थान दिँदैन ।' यो चुनौती समाधान गर्न तत्काल सम्भव नहुने उनको तर्क छ ।

डा. सन्तोष ढुंगाना २९, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मात्र होइनन्, लमजुङ मध्यमस्र्याङ्दीस्थित हेल्थ सेन्टरका चिकित्सक हुन् । दुई वर्षदेखि नेविसंघको केन्द्रीय नेतृत्व तहमा आएका उनी जागिर र राजनीति एकैसाथ बढाइरहेका छन् । जनआन्दोलन- २ का घाइतेसमेत रहेका उनी नेविसंघ मात्र नभएर विद्यार्थी संगठनहरूकै केन्द्रीय नेतृत्वका एक मात्र चिकित्सक हुन् । उनले प्राविधिक जमातका लागि नेपाली राजनीति अत्यन्तै प्रतिकूल रहेको अनुभव गरेका छन् । भन्छन्, 'अहिले राजनीतिप्रति मान्छेको आकर्षण नै छैन, प्राविधिक पृष्ठभूमिका मान्छेलाई आकषिर्त गर्ने अवसर पनि छैन ।'

उनको विचारमा राजनीतिमा पूर्वाग्रही र एकपक्षीय बन्नुपर्ने कुरामा प्राविधिक पृष्ठभूमिका व्यक्तिले सम्झौता गर्न सक्दैनन्, यो नै नेतृत्वमा पुग्न नसक्ने अस्त्र हो । 'नेपालमा राजनीतिको स्तर खस्किँदै गएको छ,' डा. ढुंगानाको तर्क छ, 'राजनीतिमा व्यावसायिक र प्राविधिकको आवश्यकता भएको महसुस हाम्रा नेताले कहिल्यै गर्न सकेनन् । अहिलेकालाई अलग गर्ने हो भने अर्थमन्त्रीबाहेक अरू मन्त्री सधैँ त्यही क्षेत्रका भए । तर, अरू मन्त्रालयमा बेग्लै पृष्ठभूमि भएकाहरूले नेतृत्व गरिरहेका छन् । योभन्दा लाजमर्दो केही हुन्छ ?' नेपालमा डाक्टर पृष्ठभूमि भएका रामवरण यादव सर्वोच्च पद राष्ट्रपति भएका छन् भने कांग्रेस, एमालेका अत्यन्तै न्यून डाक्टर नेता राजनीतिमा सक्रिय छन् ।

नवप्रवेशी प्राविधिकहरू राजनीतिमा स्थापित हुन नसक्नुको अलग्गै कारण देख्छन् डा. ढुगाना । भन्छन्, 'नेतृत्वमा पुगेकाहरू व्यावसायिक/प्राविधिक पृष्ठभूमिका छैनन् । उनीहरूको अनुकूलतामा नचल्नेहरू जतिसुकै सक्षम भए पनि राजनीतिमा टिक्न सक्दैनन् । ल्याप्चे लाउने मात्र भयो भने पनि उसैले सबैथोक चलाउँछ नेपालको राजनीतिमा ।' गैरव्यावसायिक र प्राविधिकहरू मात्रै भएको यो परिस्थिति कायम रहेमा राजनीतिमा प्राविधिक पृष्ठभूमि भएकाहरू राजनीतिमा आउन नसक्ने उनको मूल्यांकन छ । 'पार्टीहरूले विज्ञहरूको बेग्लै स्टेरिङ कमिटी बनाएर सुरुवात नगरेसम्म, मन्त्रीहरूले विज्ञहरूको स्टेरिङ कमिटी नबनाएसम्म हामीजस्ता प्राविधिकलाई माथि पुग्ने अवसर हुँदैन, राजनीति पनि सफा हुदैन,' ढुंगानाको निचोड छ, 'तर दुःखका साथ भन्नुपर्छ, नेताहरूले कहिल्यै यो कुरा महसुस गरेनन् ।' ढुंगानाको मात्र होइन, राजनीतिमा चासो राख्नेमध्ये अधिकांशले यो महसुस गरेका छन् । राजनीतिक दलका नेतृत्वले पनि राजनीतिमा विज्ञता भएकालाई सम्मानपूर्ण हैसियत दिएर ल्याउनुपर्ने विषयमा सोच्नुपर्ने वेला भइसकेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by