ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 4, 2009

उत्तरी सीमामा सुरक्षा बल स्थापनाका लागि निरीक्षण

सरोजराज  अधिकारी - काठमाडौ, २०६६ आश्विन १८ -
उत्तरी सीमामा सुरक्षा बल स्थापनाका लागि स्थलगत निरीक्षण गर्न सशस्त्र प्रहरी बलको दुई टोली लङ रेन्ज पेट्रोल -लामो दूरीको सूरक्षा गस्ती) मा निस्केको छ । दुई महिनाभित्रै सुरक्षा बल स्थापना गर्ने योजना साथ बलको दुई टोली मुस्ताङ र रसुवा पुगिसकेको सशस्त्र स्रोतले बतायो । मुस्ताङमा इन्स्पेक्टर दामोदर ढोडारीको नेतृत्वमा र रसुवामा डीएसपी विनोद केसीको नेतृत्वमा सेक्सन प्लस -२५/२५ जना) को निरीक्षण टोली खटिएको छ ।
'स्थापनासँगै सशस्त्रलाई मुलुकको सीमा सुरक्षाको म्यान्डेट दिइएको थियो । सोहीअनुरूप दक्षिणी सीमामा विगत डेढ वर्षदेखि सीमा सुरक्षा बल तैनाथ छ । सुरक्षाको बदलिँदो परिवेशअनुसार उत्तरी सीमामा पनि सुरक्षा बल गठन गर्ने योजनाअनुरूप निरीक्षण टोली पठाइएको हो,' सशस्त्रका महानिरीक्षक सनत बस्नेतले कान्तिपुरसित भने । उपयुक्त स्थानको छनोटसँगै मुस्ताङ र रसुवामा चाँडै सीमा सुरक्षा कार्यालय स्थापना गरिने उनले बताए । 
मुस्ताङ र रसुवा तिब्बतीहरूको अवैद्य चलखेलका हिसाबले महत्त्वपूर्ण जिल्ला मानिन्छन् । चार दशकअघि यिनै दुई जिल्लालाई मुख्य आधार बनाएर तिब्बतीले चीनविरुद्ध सशस्त्र खम्पा विद्रोह गरेका थिए । चीनकै आग्रहमा मुस्ताङ र रसुवामा तत्कालै र तिब्बतसँग जोडिएका सबै जिल्लामा सशस्त्रको सुरक्षा बल तैनाथ गर्न लागिएको हो । साथै सीमा क्षेत्रमा प्रहरीको लियाजो अफिसर र हटलाइन केन्द्रसमेत स्थापना गरिने भएको छ । त्यसरी परिचालन हुने सुरक्षा बललाई चिनियाँ पक्षले तालिम तथा प्राविधिक सहयोग गर्ने आश्वासन दिएको छ ।
चीनको राष्ट्रिय दिवसकै अवसर पारेर बिहीबार गृहमन्त्री भीम रावल पनि गृहसचिव गोविन्द कुसुम, सशस्त्रका महानिरीक्षक बस्नेत, प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र गुप्तचर प्रमुख अशोकदेव भट्टलाई साथ लिएर मुस्ताङ पुगेका थिए । सीमा सुरक्षा बल स्थापनाको स्थलगत अध्ययन र मुलुकभित्र चीनविरोधी गतिविधि हुन नदिने सरकारी प्रतिबद्धता जनाउन गृहमन्त्री रावल मुस्ताङ पुगेको स्रोतले बतायो । 
रसुवा र मुस्ताङलगत्तै हुम्ला, डोल्पा, ताप्लेजुङ, सिन्धुपाल्चोक लगायत चीनको तिब्बतसँग सीमा जोडिएका १३ वटै जिल्लामा सीमा सुरक्षा बल परिचालन गरिनेछ । यसका लागि सशस्त्रमा हालै स्वीकृत पाँच हजार चार सय ८१ दरबन्दी मध्येबाट दुई हजार तीन सय ४८ जनशक्ति परिचालित हुनेछन् । तराईका झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलवस्तु, नवलपरासी, रूपन्देही, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १८ जिल्लामा डेढ वर्षअघिदेखि सशस्त्रको सीमा सुरक्षा बल तैनाथ छ । यी जिल्लामा १८ वटा सीमा सुरक्षा कार्यालय र ६४ वटा बीओपी -बोर्डर अब्जरभेसन पोस्ट) स्थापना गरी सशस्त्रका चार हजार दुई सय ६६ जनशक्ति परिचालित छन् । 
सशस्त्रले चीनसँग मात्र सीमा जोडिएका १३, चीन र भारत दुवैसँग सीमा जोडिएका २ र भारतसँग मात्रै सीमा जोडिएका पहाडका ४ तथा तराईका दुई जिल्लामा पनि सीमा सुरक्षा कार्यालय स्थापनाको तयारी अगाडि बढाएको छ । भारत र चीन दुवैसँग सीमा जोडिएका दार्चुला र ताप्लेजुङ, भारतसँग मात्रै सीमा जोडिएका तराईका चितवन र दाङका साथै पहाडका इलाम, पाँचथर, डडेल्धुरा र बैतडी गरी आठ जिल्लामा पनि सीमा सुरक्षा कार्यालय छैनन् ।
सीमा सुरक्षा कार्यालयको विस्तारसँगै तिनलाई केन्द्रबाट संयोजन गर्न तिहारलगत्तै विभागमा एकएक डीआईजी र एसएसपी, दुई एसपी, तीन डीएसपी, सात इन्स्पेक्टरसहित ५० सशस्त्र प्रहरी थपिने स्रोतले बतायो । विभागमा हालसम्म एकमात्र एआईजीपीको दरबन्दी रहेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by