प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले तिहारसम्म कुनै सहमति कायम नभए सशक्त आन्दोलन सुरु गर्ने भएको छ । सो पार्टीको आइतबार बसेको स्थायी समितिको बैठकले राजनीतिक गतिरोधको निकाशका लागि माओवादीले उठाउदै आएको नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमका विषयमा ठोस निकास ननिस्के तिहारपछि सशक्त आन्दोलन गर्ने निर्णय भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । उनले असोज महिनाभरि दलहरुसँग छलफल र सहमतिको प्रयास जारी राखिने बताए ।
बैठकले उपाध्यक्ष मोहन वैध किरणद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन पारित गर्दै महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र उपाध्यक्ष वैधले संसोधित विधान प्रस्तुत गर्ने गरी जिम्मेवारी तोकेको छ ।
यस्तै बैठकले पार्टीको आगामी महाधिवेशन तयारी अन्य सांगठानिक परिचालनका लागि विभिन्न १८ वटा विभागहरु पनि गठन गरेको छ । जनअनुसार पार्टी स्कूल विभागमा मोहन वैद्य किरण, महिला विभागमा पम्फा भूसाल, प्रचारप्रसारमा दीनानाथ शर्मा,शिक्षा विभागमा अग्नि सापकोटा, जातिय तथा क्षेत्रीय विभागमा देवप्रसाद गुरुङ, कानुन तथा न्याय वर्षमान पुन, कृषि तथा सहकारीमा लोकेन्द्र विष्ट रहेका छन ।
यस्तै वातावरण तथा पर्यटन हिसिला यमी, स्वास्थ्य गिरिराजमणि पोखरेल, शहीद तथा वेपत्ता परिवार विभागमा पोष्टबहादुर बोगटी, उद्योग वाणिज्य टोपबहादुर रायमाझी, जलस्रोत लिलामणि पोख्रेल,भूमिसुधार विभागमा हरिबोल गजुरेल, श्रममा लेख राज भट्ट, संस्कृतिमा निनु चापागाइँ तथा आर्थिक विभागमा अमिक शेरचन रहेका छन ।
बैठकले सबै पोलिटब्यूरो सदस्यहरुलाई एक साताभित्र सवारी साधन पार्टीमा बुझाउन निर्देशन पनि दिएको प्रवक्ता शर्माले बताए । बैठकले नेपाल संवतका अवसरमा कार्तिक ३ गते माओवादीका तर्फबाट चियापानको आयोजना गरिने पनि उनले बताए । यसअघि माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले उच्चस्तरीय संवादमार्फत राजनीतिक निकास खोजिनु पर्ने निष्कर्ष निकालेको थियो ।
No comments:
Post a Comment