ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 7, 2009

मातृकाको माओवादीले जनयुद्ध थाल्यो

सिद्धराज राई, धनकुटा, असोज २१- माओवादीबाट विद्रोह गरेका नेता मातृका यादवको समूहले धनकुटा जिल्लामा जनयुद्ध, जनकारबाही र जनअदालत सञ्चालन गर्ने घोषणा गरेको छ। धनकुटा जिल्ला संगठन समिति गठन भएको जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मातृका समूहका केद्रिय सदस्य तथा लिम्बुवान राज्य समिति इन्चार्ज अमर किरातीले उत्पीडित जाति र समुदायको हितमा बाधा पुग्ने जुनसुकै समूह वा संस्थामाथी कार्वाही गर्ने र जनअदालतमा उभ्याउने बताए। किराँती एकीकृत नेकपा माओवादीको किरात राज्य समिति सदस्य हुन। 

अहिले पुर्व माओबादीको जनमिलिसियालाई जनसुरक्षा समिति नामकरण गरी गाउँका दलाल, सामन्तहरुको घरजग्गा कब्जा गर्ने अभियान पुर्वी पहाडमा सुरु गरेको किरातीले बताए। 'हामी निकट भविष्यमै जनयुद्ध थाल्दै छौ, त्यसैले हाम्रो पाटो नखिच्नु होला' क्यामरा सोझाएका पत्रकारहरुलाई रोक्दै किरातीले भने, ...हामी हतियारसहित १० वर्षे जनयुद्धलाई निरन्तरता दिन चाहन्छौ।' 

जिल्ला संगठन निर्माण गर्ने अभियानमा धनकुटा आईपुगेका केन्द्रिय सदस्य किरातीले एकिकृत नेकपा माओबादीले विद्रोही कार्यकर्ताहरुलाई यातना दिने गरेको आरोप लगाए। ईलामको चुलाचुली शिविरबाट निस्केका श्रवन राई र सन्त राईलाई यातना दिएको र बेपत्ता बनाएको उनले बताए। 

त्यस अवसरमा पुर्न गठित माओबादी धनकुटा जिल्ला संगठन समिति सुर्दशनको संयोजकत्वमा ७ सदसिय गठनगरेको जानकारी दिईएको छ। संयोजक सुर्दशनले जनमुक्ति सेनाको भाईस कम्पनी कमिसारबाट विद्रोह गरेका थिए। त्यस्तै नवगठित धनकुटा जिल्ला संगठन समितिका सदस्यहरुमा एकिकृत नेकपा माओबादी धनकुटा जिल्ला कमिटि सदस्यहरु र किरात वर्कस पार्टीका नेताहरु रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

पत्रकार सम्मेलनमा दिईएको जानकारीअनुसार जनयुद्धका लागि तराईको सशस्त्र समूह र पहाडका लिम्बुवान र खम्बुवान मुक्ति मोर्चासँग छलफल भइरहेको छ। जनयुद्धका क्रममा पहिलेको माओबादीले गरेको जस्तो राष्ट्रिय पुँजीको नष्ट नगरी संरक्षण गर्ने र सामान्तहरुको जग्गा कब्जा गर्ने पुनर्गठित माओवादी लिम्बुवान राज्य समिति सदस्य अखण्डले बताए। उनले एकिकृत नेकपा माओबादीको सुनुवार राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्षबाट विद्रोह गरेका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by