ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 27, 2009

नेपाल-भारत वाणिज्य सन्धिमा आज हस्ताक्षर हुने

काठमाडौं, १० कातिक (दैनिकी)

परिमार्जनसहितको नेपाल भारत वाणिज्य सन्धि मङ्गलबारदेखि नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा नवीकरण हुने यस सन्धिमा नेपाल र भारतका वाणिज्य मन्त्रीहरूले हस्ताक्षर गर्नेछन् । नेपालको व्यापार प्रवर्द्धन र भारतसँगको व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने गरी पुनरावलोकनसहित नवीकरण हुन लागेको हो । यस सन्धिमा नेपालका उद्योगी व्यापारीले उठाउँदै आएका मुद्दासमेतलाई सम्बोधन हुनेगरी परिमार्जन हुने छ । प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका क्रममा भएको सहमति अनुसार वाणिज्य सन्धिमा हस्ताक्षर हुन लागेको हो । सन्धिमा हस्ताक्षर गर्न भारतीय वाणिज्य मन्त्री आनन्द शर्मा मङ्गलबारै काठमाडौँ आउने योजना छ ।

वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोका अनुसार यस सन्धिबाट दुवै मुलुकको व्यापार अवरोध अन्त्य गर्ने दाबी गर्नुहुन्छ । सोमबार रिपोटर्स क्लबमा आयोजिक कार्यक्रममा उहाँले नेपाली पक्षले उठाउँदै आएका कुरासमेत समेट्ने प्रयास गरेको यस सन्धिबाट नेपालले भारतको भन्दा थप सुविधा पाउने छ ।

यो सन्धिले नेपालको व्यापारलाई फराकिलो बनाइदिएको छ, उहाँले भन्नुभयो- भारतको प्रतिस्पर्धात्मक बजारबाट फाइदा लिन नेपाली वस्तुको गुणस्तरमा सुधार गर्नुपर्छ । सन्धिमा नेपाल भारतबीचको भन्सार नाका २२ बाट बढाएर २७ पुर्‍याउने, सन्धि नवीकरणको अवधि पाँच वर्षबाट बढाएर सात वर्ष बनाउने कुरा उल्लेख छ । नाकामा विभिन्न भारतीय अन्तर्राष्ट्रिय विमानस्थलसमेत पर्दछन् ।

यसमा रोडा, ढुङ्गा, फूल जस्ता कतिपय वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्ने काम गरेको छ जसबाट ती वस्तुको आयातमा लाग्दै आएको कर छुट हुनेछ । क्वारेन्टाइन, सर्टिफिकेसनको समस्या समाधान गर्न पनि सन्धिमा नेपाली पक्षले प्रयोगशालाको विकास गर्ने र त्यसले दिएको प्रमाणपत्रलाई मान्यता दिने सहमती गरेको छ ।

यसबाट भन्सारमा लामो समयसम्म थन्किने, कुहिने समस्या समाधान हुने मन्त्री महतोको भनाइ छ । यो सन्धिले नेपाली उद्योगधन्दाका मेसिन भारतमा लगेर मर्मत गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतितपत्र नगरे पनि फवार्ड कन्ट्राक्ट गरिएका वस्तुको कारोबार गर्न पाइने, विदेशी मुद्राको साथै भारतीय मुद्रामा पनि कारोबार गर्न पाउने, डीआरपी -ड्युटी रिफन्ड प्राइस) खारेज गर्ने, कोटा प्रणालीलाई सहज गर्ने लगायतका कुरा सन्धिमा उल्लेख छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by