ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 30, 2009

गगन थापाले माफी मागे

काठमाडौं कात्तिक १३ (नागरिक) -

नेपाली कांग्रेसका सभासद् गगन थापाले समयमै सम्पत्ति विबरण उपलब्ध नगराएकोमा क्षमा मागेका छन्। नागरिकमा समाचार आएको पर्सीपल्ट संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको जानकारी थापाले शुक्रबार विज्ञप्ति मार्फत जनाएका छन्।

समासद थापाले शुक्रबार जारी गरेको विज्ञप्ति :

नागरिक दैनिकको मिति २०६६।७।१० मा प्रकाशित "१० मन्त्री र १५८ सभासद अटेरी" भन्ने समाचार प्रति मेरो ध्यान आकृष्ट भएको छ। व्यवस्थापिका-संसद सदस्य लगायत सार्वजनिक पदमा वहाल सबैले प्रत्येक आर्थिक वर्षको भाद्र मसान्त भित्रमा आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने नियम, अन्तर्गत मैले पनि व्यवस्थापिका-संसदको सदस्यको हैसियतमा यहि भाद्र मसान्तभित्र मेरो सम्पत्ति विवरण व्यवस्थापिका-संसदको सचिवालयमा बुझाइ सक्न पर्ने थियो। यो विवरण समयमा नबुझाउनु कुनै बदनियत नभई मेरो हेल्च्याङक्राइ हो। तर पनि यत्रो जिम्मेवार पदमा रहेर यस्तो हेल्च्याङक्राइपूर्ण व्यवहार कदापि शोभनीय हुन सक्दैन। म यस्तो हेल्च्याङक्राइका निम्ति सवै सँग क्षमा माग्न चाहन्छु।

नागरिक दैनिकको उक्त समाचार प्रकाशित हुनासाथ मैले मिति २०६६।७।१२ मा मेरो मासिक आय, मेरो व्यवसायिक संलग्नता रहेको बाख्रा पालन र कुरिलो खेती, मसँग रहेको नगद मौज्दात, लगायत सम्पूर्ण विवरण र सगोलमा रहेको सम्पत्तिको उल्लेख गरि आफ्नो सम्पत्तिको पूर्ण विवरण व्यवस्थापिका-संसद सचिवालयमा बुझाई सकेको छु। जनताको प्रतिनिधिको रुपमा क्रियाशिल हुनेहरुको जीवन कितावको खुला पाना जस्तो हुनुपर्दछ भन्ने मेरो मान्यता हो।

अतः मेरो सम्पत्ति विवरण मात्र होइन, मेरो जीवनका हरेक पक्षहरु खुला रुपमा जनताको बीचमा राखि राख्ने कुरामा म पूर्ण प्रतिबद्धता व्यक्त गर्दै, यो विवरण लगायत अन्य कुनै पनि विषयमा कसैलाई पनि मेरो जानकारी दिन खुला रहेको पनि अवगत गराउन चाहन्छु।

गगन थापा
संविधानसभा सदस्य

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by