ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 30, 2009

प्रहरीले नै लुटेका थिए ३ लाख डलर



केपी ढुंगाना/नयाँ पत्रिका
सवा दुई करोडभन्दा बढी लुटेको आरोपमा महानगरीय प्रहरीका दुईजना पक्राउ परेका छन् । प्रहरी भएर आफैं यति ठूलो अपराध गर्नेहरूमाथि कस्तो कारबाही भइरहेको छ, महानगरीय प्रहरी आयुक्तबाहेक कसैलाई थाहा छैन ।  प्रहरी प्रभाग स्वयम्भुमा कार्यरत दुईजना प्रहरीलेे सर्वसाधारणबाट तीन लाख अमेरिकी डलर (करिब सवा दुई करोड) लुटेका थिए । लुटेराको अभियोगमा महानगरीय प्रहरी आयुक्तको कार्यालयको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको थियो ।

स्रोतका अनुसार दुई प्रहरी र एक सर्वसाधारण मिलेर काठमाडौंको डल्लुमा सोनाम नामका एक व्यापारीबाट तीन लाख डलर लुटेका थिए । तर, पक्राउ परेका दुई प्रहरी र एक सर्वसाधारणलाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा नजरबन्दमा राखिएको छ । प्रहरी हवल्दार मकर श्रेष्ठ, जवान रामहरि सुवेदी र व्यापारी सेनामका पूर्वगाडीचालक मिलेर ३१ असोजमा व्यापारी सोनामको डलर लुटेका थिए, तर सोनामले अहिलेसम्म औपचारिक रूपमा कतै उजुरी दिएका छैनन् । उजुरी नपरेकोले सोनामको डलर अवैध भएकोले अनुसन्धान अपारदर्शी बनाएर पैसा लुकाउन खोजेको आशंका छ ।

उपत्यकाका प्रहरी इकाइहरूलाई नियन्त्रण र निर्देशन दिने इकाइ भए पनि आयुक्तको कार्यालयलाई कुनै व्यक्ति पक्राउ गरी अनुसन्धान र मुद्दा चलाउने अधिकार भने हुन्न । प्रक्रियागत रूपमा जुन स्थानमा घटना घटेको हो सो स्थानको वृत्तले घटनाको अनुसन्धान गर्न पाउँछ । तर, तीन लाख डलर लुट्ने प्रहरीमाथि आयुक्तको कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ ।

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हवल्दार श्रेष्ठ, जवान सुवेदी र व्यापारीका पूर्वचालकलाई बुधबारदेखि रानीपोखरीमा रहेको आयुक्त कार्यालयमा राखिएको छ । तर, रानीपोखरीमा हिरासत नै छैन । उनीहरूलाई आयुक्तको कार्यकक्षमा राखिएको स्रोतका दाबी छ ।

तर, स्वयम्भुको घटना भएकोले महानगरीय प्रहरी प्रभाग स्वयम्भु र महानगरीय प्रहरी वृत्त बालाजुले अनुसन्धान गर्नुपर्नेमा यी दुवै निकायलाई पत्तै छैन । उनीहरूलाई सोझै महानगरीय प्रहरी आयुक्तको कार्यालयमा राखिएको छ । आयुक्त कल्याण तिमल्सिनाले भने, 'अभियुक्तहरूलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।' तर, उनीहरूलाई कहाँ राखिएको छ भन्ने उनले खुलाउन मानेनन् ।

उनले भने, 'लुटपाटको घटनामा संलग्न हुन् कि होइनन् भन्ने अनुसन्धान जारी छ ।' उनले कसले अनुसन्धान गरिरहेको छ र दुवै प्रहरी कहाँ छन् भन्न पनि चाहेनन् । उनले भने, 'कहाँ छन् बताउन मिल्दैन, उनीहरू प्रहरी नियन्त्रणमा छन्, यत्ति हो ।'

श्रेष्ठ र सुवेदी बुधबारबाटै कार्यरत कार्यालय स्वयम्भु प्रभागको सम्पर्कमा छैनन् । प्रभागप्रमुख इन्स्पेक्टर सुजनकुमार राजभण्डारीले भने, 'श्रेष्ठ र सुवेदी दुवै यही प्रभागमा कार्यरत हुन्, तर उनीहरू बुधबारबाट सम्पर्कमा छैनन् ।' लुटपाटको आरोपमा दुवै प्रहरी आयुक्तको कार्यालयमा रहेकोबारेमा पनि उनले केही थाहा नभएको दाबी गरे । राजभण्डारीले भने, 'यसबारेमा मलाई जानकारी छैन ।'

उता बालाजु वृत्तप्रमुख डिएसपी वसन्तराज कुँवर र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी नवराज सिलवालले घटना र अभियुक्त पक्राउ परेकोबारे जानकारी नभएको बताए । स्रोतका अनुसार लक्ष्मीपूजाको दिन सोनाम नाम गरेका व्यक्ति रकम बोकेर हिँडिरहेको अवस्थामा डल्लुमा लुटिएका थिए । उनीहरू पेस्तोल देखाएर सोनामको साथमा रहेको तीन लाख अमेरिकी डलर लुटेर फरार भएका थिए । लुटेर प्रहरीले डलर ठमेलमा रहेको पोताला गेस्टहाउसमा लगेर साटेर लगेको स्रोतले बतायो ।

रकम बोकेर हिँडेको व्यक्तिको नाम खुले पनि लुटिएका व्यक्ति सम्पर्कमा छैनन् । उनको रकम अवैध भएकोले उजुरी गर्न नआएको प्रहरी आशंका छ । प्रारम्भमा पीडित व्यक्ति हिमालयपार व्यापार संघमा आबद्ध रहेको बताइए पनि संघका पदाधिकारीले यसबारेमा कुनै जानकारी नभएको बताएका छन् । लुटिएको रकम अवैध प्रमाणित भए राजस्व अनुसन्धान विभागमा दाखिला हुन्छ भने रकमका मालिकमाथि समेत कारबाही हुन्छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by