ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 26, 2009

रित्तिँदैछ सेनाको गोलीगठ्ठा


'त्यसैले सञ्चित गोलीगठ्ठा झन्डै सकिइसकेको छ । यही कारण लामो समयदेखि सेनाको दैनिक अभ्यास, फायरिङ प्रभावित भएको छ । यतिबेला ब्यारेकमा गोली नहानेको सिपाही बस्छ । त्यस्तो सिपाही शान्तिसेनामा कसरी जालान्, गोली नै नभएपछि सेनाको अपरेसनल तयारी के होला ?' उनको प्रश्न छ । 
सरोजराज अधिकारी/काठमाडौ, २०६६ कार्तिक ९ - शान्ति प्रक्रिया लम्बिँदै जाँदा नेपाली सेनाले आफ्नो शस्त्र भण्डारबाट गोलीगठ्ठा रित्तिँदै गएको जनाएको छ । वाषिर्क चाँदमारी भनिने अभ्यासका क्रममा मात्रै एक सिपाहीले एक सय राउन्ड गोली 'फायर' गर्छन् । यस हिसाबले प्राविधिकबाहेक ८० हजार सैनिकका लागि वर्षको एकपटक हुने उक्त अभ्यासमा मात्रै ८० लाख गोली खर्च हुन्छ ।  सबैखाले हतियारको नियमित 'फायरिङ' अभ्यासमा वाषिर्क ३० लाखभन्दा बढी गोली खर्च हुन्छ । अर्थात् बितेका पाँच वर्षमा सेनाको नियमित अभ्यासमा पाँच करोडभन्दा बढी गोली खपत भइसकेको छ तर गोली बन्ने कच्चा पदार्थको आयात भने शून्य छ ।

'यही अवस्था कायम रह्यो भने सेनाले गोलीबिनाको बन्दुक बोकेर हिँड्ने दिन पर छैन,' एक उपरथीले कान्तिपुरसित भने । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएयता सेनाका लागि हतियार, गोलीगठ्ठा र त्यसको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयातमा रोक लागेको हो । लोकतन्त्र स्थापनापछि रोक फुकुवा नहुँदै २०६३ मंसिर ५ गते सरकार र माओवादीबीच बृहत शान्ति सम्झौता भयो, जसले हतियार, गोलीगठ्ठा र गोली बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा पूर्ण प्रतिबन्ध लगाइदियो । 

अहिले सेनासँग कति गोलीगठ्ठा सञ्चित छ त ? सैनिक प्रवक्ता रमीन्द्र छेत्रीले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय भएकाले सार्वजनिक गर्न नमिल्ने बताए । 'सूचनाको हकसम्बन्धी कानुनमा पनि यस्ता संवेदनशील विषय सार्वजनिक नगर्न भनिएको छ,' उनले भने । पूर्वरथी बालानन्द शर्माको अनुभवमा यही उत्पादन नहुने र सरकारी बजेटले वर्षमा डेढ/दुई करोडभन्दा बढी गोली किन्न पुग्दैन । 'त्यसैले सञ्चित गोलीगठ्ठा झन्डै सकिइसकेको छ । यही कारण लामो समयदेखि सेनाको दैनिक अभ्यास, फायरिङ प्रभावित भएको छ । यतिबेला ब्यारेकमा गोली नहानेको सिपाही बस्छ । त्यस्तो सिपाही शान्तिसेनामा कसरी जालान्, गोली नै नभएपछि सेनाको अपरेसनल तयारी के होला ?' उनको प्रश्न छ । 

सेनाले सुन्दरीजलस्थित आफ्नै कारखानाबाट एसएलआरमा प्रयोग हुने ७.६२ मिमि, इन्सास र एम १६ मा प्रयोग हुने ५.५६ मिमि र एसएमजीमा लाग्ने ९ मिमि क्यालिबरका गोली उत्पादन गर्दै आएको छ । तर आयातमा रोक लागेयता ती गोली उत्पादनका लागि विदेशबाट कच्चा पदार्थ ल्याउन पाएको छैन । सेनामा एसएलआर र एसएमजी ४५ प्रतिशत तथा एम १६ र इन्सास राइफल ५५ प्रतिशत जनशक्तिले निजी हतियारका रूपमा प्रयोग गर्छन् ।

रक्षा मन्त्रालयले हालै संसदको राज्य व्यवस्था समितिसमक्ष सेनामा सञ्चित गोलीगठ्ठा, बम तथा विस्फोटक सामग्री ज्यादै न्यून रहेकाले वाषिर्क चाँदमारी लगायतका तालिम तथा शान्ति स्थापनार्थ जाने फौजको काममा समेत बाधा पुगेको प्रतिवेदन पेस गरेको थियो ।

'शान्ति सम्झौताको कारणले आवश्यकताअनुसार गोलीगठ्ठा, बम तथा विस्फोटक पदार्थ खरिद गर्न र स्वदेशमै उत्पादनका लागि कच्चा पदार्थसमेत आयात गर्न निषेध भएबाट जवानहरूको तालिम तथा पेसागत दक्षतामा प्रतिकूल असर पर्न गएको छ,' रक्षामन्त्री, सचिव र सेनापतिसमेत उपस्थित भएर पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

उत्पादन र आयातको अभावमा सेनाले चलाउँदै आएका एसएलआर, एसएमजी, इन्सास, एम १६, एलएमजी, जीपीएमजी, मोर्टारजस्ता हतियारका गोलीगठ्ठा लगभग सकिइसकेको छ । सैनिक स्रोतका अनुसार दैनिक अभ्यासका क्रममा फायरिङ गरिने गोलीको संख्या घटाएर निकै कम पारिएको छ । 'युद्धकालमा गरिएको ठूलो परिणामको सञ्चितिले हालसम्म थेग्दै आएको र अब त त्यो पनि सकिन लागेको अवस्था छ,' एक उच्च सैनिक अधिकृतले बताए । 

सेनाले अभ्यास र युद्धका लागि छुट्टाछुट्टै सञ्चिति गर्दै आएको छ । अभ्यासका लागि केन्द्रीय स्तरमा मात्र सञ्चित गरिन्छ र माग एवं आवश्यकताअनुरूप क्षेत्रमा पठाइन्छ । युद्धका लागि पाउच -शरीरमै पोसाकसँगै राख्ने), फस्ट लाइन र सेकेन्ड लाइन गरी तीन तहमा क्षेत्रीय, स्थानीयस्तरमै सञ्चिति हुन्छ । अभ्यासका लागि सञ्चित गोलीगठ्ठा सकिएकाले हाल युद्धका लागि सञ्चितबाट काम चलाइँदैछ ।

'नयाँ भर्नामाथि रोक, गोलीगठ्ठा र मोरालका हिसाबले सेना शिथिल हुँदै गएको छ । कतिबेला घुँडा टेक्ने हो भन्न सकिन्न,' पूर्वरथी शर्माले बताए । माओवादी सभासद तथा सैन्यविद इन्द्रजित राई पनि नियमित गतिविधि गर्न नपाउँदा सेना प्रभावित भएको स्वीकार्छन् । उनले भने, 'यो निकै गम्भीर विषय हो तर प्रधानमन्त्री र रक्षामन्त्रीले चाहेरमात्र केही हुँदैन । सबै राजनीतिक दलबीच सहमति कायम गरेर छिटोभन्दा छिटो शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याएपछि मात्र यो समस्या हल हुन्छ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by