ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 26, 2009

ट्राफिकले ड्राइभरका आँखा जाँच्ने

'आँखा खराब देखिए लाइसेन्स खारेज'
गजेन्द्र बोहरा, दाङ कात्तिक ९- 

तपाईँसँग सवारी चालक अनुमतिपत्र छ र तपाईं कुनै सवारी हाँक्दै हुनुहुन्छ भने अब तपाईंको आँखा नि:शुल्क जाँच हुनेछ। बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्नका लागि यहाँको ट्राफिक प्रहरीले सबै 'ड्राइभर' को आँखा जाँच गर्ने भएको हो। दाङ ट्राफिकले जिल्लामा सबै सवारी चलाउने चालकको आँखा जाँच गर्ने अभियान सुरु गर्न लागेको हो। ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिलिपसिंह भण्डारीले स्वाथ्यकर्मी तथा प्रविधिका लागि स्वास्थ्य संस्थाको सहयोग खोजिरहेको बताए। ती संस्थाले सहयोग गर्ने भएमा ट्राफिक कार्यालयले सार्वजनिक सूचना गरेर सबै सवारी चालकलाई आँखा जाँच गराउनका लागि आह्वान गर्नेछ।

त्यसका लागि ट्राफिकले आफ्नै लगानीमा स्वाथ्य शिविरै खडा गर्ने बताएको छ। त्यसैले अब मोटरसाइकल, स्कुटरदेखि लिएर बस, ट्रक, ट्याक्टरलगायत् ठूला साना सबैखाले सवारी चालकले आँखा जाँच गराउनुपर्नेछ। शिविरमा जाँच गराएपछि आँखामा समस्या देखिएका सवारी चालकको अनुमतिपत्र खारेजसमेत हुन सक्नेछ।

'कस्तोखालको समस्या हो त्यो बुझेर जटिलै समस्या भए लाइसेन्ससमेत खारेज हुनसक्छ'- भण्डारीले भने। उनका अनुसार दिनहुँजसो हुने सवारी दुर्घटना अधिकांशतः 'नजरकै कमजोरी' ले गर्दा हुन्छ।

'कामको व्यस्तताले गर्दा पनि ड्राइभरहरुले आँखा जाँच्न पाएका हुँदैनन्', उनले भने- 'ड्राइभरहरुको आँखा नै प्रमुख कुरा हो।' उनका अनुसार प्रायजसो सवारी चालकमा कसैमा ढाटाको कुरा नदेख्ने र कसैमा नजिकको कुरा नदेख्ने हुने गर्छन्। आँखा जाँच सकिएपछि आवश्यक परेमा चस्माको व्यवस्था पनि ट्राफिकले नै गरिदिनेछ।

'ड्राइभरको अवस्था हेरेर चस्माको व्यवस्था पनि गर्न सकिन्छ', उनले भने- 'तर हामीसँग बजेट छैन, कुनै संस्थाहरुको खोजी पनि गरिरहेका छौं।'

त्यस्तै दुर्घटना न्युनीकरण र ट्राफिक नियमबारे जानकारी गराउनका लागि यहाँको ट्राफिक प्रहरीले स्कूले बालबालिकालाईसमेत 'ट्राफिक शिक्षा' दिन थालेको छ। खासगरी राजमार्गका छेउका विद्यार्थीलाई ट्राफिक नियम सिकाइने निरीक्षक भण्डारीले जानकारी दिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by