ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 31, 2009

'सोलार कार निर्माता'लाई बधाई र सहयोगको ओइरो



इन्स्युरेन्स कम्पनीद्वारा आठ लाखको कार र दुर्घटना बिमा झन्डै नौ लाखबराबरको आर्थिक सहयोग



रामकृष्ण बोहरा/नयाँ पत्रिका - बाग्लुङ


नेपालमै पहिलोपटक शौर्यऊर्जाबाट चल्ने 'सोलार कार' बनाएपछि एकाएक चर्चामा आएका बाग्लुङका किशोर वैज्ञानिक कुशल केसीलाई आर्थिक सहयोग गर्ने र बधाई दिनेहरूको ओइरो नै लागेको छ । बाग्लुङमा बिहीबार एक पुस्तकको विमोचन गर्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि कुशल निर्मित सोलार कारको अवलोकन गरी सहयोग गर्ने आश्वासन दिएका छन् ।

तीन महिनाअघिसम्म सोलार कार बन्नेमा आशंका गर्नेहरूसमेत यतिवेला कुशललाई शुभकामना, बधाई र सहयोग प्रदान गर्न तत्पर देखिएका छन् । कार सार्वजनिक गरेको दुई दिन नबित्दै आर्थिक अवस्था सामान्य भएका केसीलाई झन्डै नौ लाखबराबरको सहयोग प्राप्त भएको छ । कुशलले सांस्कृतिक कार्यक्रम, चन्दा संकलन र ऋण लिएर सोलार कारको निर्माण गरेका थिए ।
केसी अध्ययनरत अमृत आदर्श उच्च माविका पि्रन्सिपल महेशचन्द्र प्रधानले बिहीबार मात्रै हिमालयन जेनरल इन्स्युरेन्स कम्पनी लिमिटेडले ६ लाखको कार बिमा र दुई लाखको दुर्घटना बिमा गरिदिएको बताए । प्रधानका अनुसार कुशललाई धेरै थोरै रकम सहयोग गर्नेहरू लगातार सम्पर्कमा आइरहेका छन् ।
'सोलार कार' प्रदर्शनको दिनमै विभिन्न संघ/संस्था र व्यक्तिगतबाट १५ हजार पाँच सय रुपैयाँ संकलन भएको थियो । सोलार कार निर्माणका लागि विद्यालयले एक लाख ३५ हजार रुपैयाँ संकलन गरिदिएको थियो भने काठमाडौंलगायत विभिन्न ठाउँबाट गरी तीन लाख संकलन भएको थियो । बाँकी तीन लाख कुशल स्वयं जुटाएर कार निर्माण गरेका थिए ।


यसैगरी, जिल्ला विकास समितिको सभाहलमा बसेको सर्वदलीय बैठकले प्रतिभाशाली कुशल केसीलाई प्रोत्साहनस्वरूप ५० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैठकले विलक्षण प्रतिभा भएका कुशल बाग्लुङवासीको गौरव र गर्व भएको निष्कर्ष निकाल्दै जिविसको तर्फबाट सहयोग प्रदान गरिएको स्थानीय विकास अधिकारी जनकराज पौडेलले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by