ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 29, 2009

असन्तुष्ट सभापति बैठकमा नआउने सुजाताको सन्देश




सेरेमोनियल सभापतिसहितको विधान संशोधन मस्यौदाप्रति असन्तुष्ट कांग्रेस सभापति केन्द्रीय समिति बैठकमा अनुपस्थित रहने


नयाँ पत्रिका/बालकृष्ण अधिकारी


बहुमत केन्द्रीय सदस्य पार्टीलाई बहुपदीय अवधारणामा लैजान तयार भएपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले विधान संशोधन मस्यौदाप्रति असन्तुष्टि जनाएका छन् । उनले बिहीबारको केन्द्रीय समिति बैठकमा नआउने सन्देश पठाई यस्तो असन्तुष्टि सार्वजनिक गरेका हुन् ।
१५ कात्तिकदेखि काठमाडौंमा बस्ने महासमिति बैठकमा पेस गर्न तयार पारिएको विधान संशोधन प्रस्तावका बारेमा अन्तिम छलफलका लागि बिहीबार केन्द्रीय समिति बैठक बस्दै छ ।
बैठकमा पार्टी सभापति र वरिष्ठ नेताको अनिवार्य उपस्थितिका लागि केन्द्रीय सदस्यहरूले आग्रह गर्दा कोइरालापुत्री तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति बैठकमा नआउने जानकारी गराएकी हुन् । वरिष्ठ नेता शेरबहादुर देउवा पनि उपत्यकाबाहिर रहेका कारण बिहीबारको बैठकमा अनुपस्थित रहनेछन् ।

उपपधानमन्त्रीसमेत रहेकी सुजाताले बुधबार बसेको केन्द्रीय समितिको बैठकमा सभापति कोइराला बिहीबार नआउने जानकारी गराएकी थिइन् । केन्द्रीय सदस्यहरूले पार्टीको विधानजस्तो महत्त्वपूर्ण विषयलाई केन्द्रीय समितिले अन्तिम रूप दिँदा सभापति र वरिष्ठ नेताको अनिवार्य उपस्थिति रहनुपर्ने धारणा राखेपछि सुजाताले बुबाको सन्देश सुनाएकी थिइन् । सभापति कोइरालालाई उद्धृत गर्दै सुजाताले बैठकमा भनिन्, 'गिरिजाबाबु अस्वस्थ पनि हुनुहुन्छ, उहाँ आउन सक्नुहुन्न ।'

मस्यौदा संशोधन विधानमा सभापतिको अधिकार कटौती गर्दै सबै पदाधिकारी निर्वाचनबाट आउने व्यवस्थाप्रति गिरिजाबाबु सन्तुष्ट हुनुहुन्न, त्यसैले यसबारे छलफल हुने केन्द्रीय समिति बैठकमा उहाँ किन आउनुपर्‍यो ?' सुजाताले भनिन् । सभापति कोइरालाले यसअघि पनि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र सार्वजनिक कार्यक्रममा समेत शक्तिशाली सभापतिको पक्षमा अडान राख्दै आएका थिए ।

विधान संशोधन सुझाब समितिले बुझाएको मस्यौदा प्रतिवेदनमाथि परेका संशोधन प्रस्तावलाई समेटेर केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समितिले बुधबार केन्द्रीय समिति बैठकमा अन्तिम प्रस्ताव पेस गरेको थियो । सिटौला समितिले सभापतिको अधिकार कटौती गर्दै केन्द्रीय समितिलाई शक्तिशाली बनाएको छ ।

समितिले सभापतिसहित पार्टी सबै निकायमा पदाधिकारीहरूको निर्वाचन गर्ने गरी संशोधन प्रस्ताव तयार गरेको छ । लगातार दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने प्रस्तावसमेत मस्यौदा विधानमा छ ।

संशोधन प्रस्तावसमेत समेटेर तयार गरिएको अन्तिम प्रस्तावमा ८७ सदस्यीय केन्द्रीय समितिसहित सबै पदाधिकारीको निर्वाचन गर्ने सहमति बनेको छ । प्रस्तावित मस्यौदामा सभापतिविरुद्ध महाधिवेशनबाट अन्य पदाधिकारीविरुद्ध महासमितिको बैठकबाट अविश्वासको प्रस्ताव राख्न सक्ने उल्लेख छ । संशोधन समितिले बुझाएको प्रतिवेदनमाथि बिहीबारको बैठकमा छलफल हुने संयोजक सिटौलाले बताए । उनले भने, 'समितिले आफ्नो काम सकेको छ, केन्द्रीय समितिको रायलाई समेत समेटेर महासमितिको बैठकमा साथीहरूको भावनालाई समेटेर पार्टीको विधानलाई पास गर्छौँ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by