ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 30, 2009

नयाँ समीकरणको प्रयास भइरहेछ : दाहाल

काठमाडौं, कात्तिक १३ (नागरिक) -

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ समीकरणको लागि प्रयास भइरहेको जानकारी दिएका छन्। बिबिसी साझा सवाल कार्यक्रमका लागि अन्तर्वार्ता दिदैं दाहालले नयाँ समिकरण बने र सेना प्रमुख थमौति प्रकरणमा राष्ट्रपतिको कदम गलत थियो भन्नेमा दलहरु सहमत भए माओवादी आन्दोलन रोकिने बताए।आन्दोलन भए पनि त्यो हिंसात्मक नहुने र अनुशासित हुने तर्फ पार्टी प्रतिवद्ध रहेको जिकिर अध्यक्ष दाहालले गरे। अध्यक्ष दाहालले आफ्नो पार्टीको जनतालाई दुःख दिने मनासाय नभएको दाबी गरे। दाहालले आफ्नो पार्टीका समर्थकहरु दिन दिनै बढिरहेको भन्दै लाखौं जनता सडकमा उतार्ने दाबी गरे।
आन्दोलनले नयाँ समिकरण र शान्ति प्रक्रियालाई नविथोल्ने उनको भनाई छ। 'हामीले गर्न लागेको आन्दोलनले शान्ति प्रक्रियालाई कुनै हालतमा अप्ठ्यरोमा पार्दैन' उनले भने, 'यो नभत्कियोस, नविग्रीयोस् भनेर हामी सतर्क छौं।'

माओवादीले शुरु गर्ने भनिएको आन्दोलनलाई दमन गर्ने काम सरकारले गरे आफूहरु विद्रोहमा उत्रने चेतावनी समेत उनले दिए। आफ्नो पार्टीले गर्न लागेको आन्दोलनमा जनताको पूर्ण समर्थन रहेको दाबी गर्दै उनले भने, 'जनताको आन्दोलनलाई दबाउन सकिन्छ भन्ने मानसिकता सरकारको छ भने जनता स्वयं त्यसको विरोधमा उत्रन्छन्।'
 
राष्ट्रपतिको असंवैधानिक कदम सच्चिने प्रक्रिया अघि बढिसकेको बताउँदै अब माओवादी नेतृत्वको सरकार बन्न धेरै समय नलाग्ने उनको दाबी छ। तर एमाले नेतृत्वको सरकारमा भने आफूहरु कुनै पनि हालतमा सहभागी नहुने उनले बताए, ' यो सरकारमा हामी मिसिने भन्ने कुनै संभावनै छैन। हाम्रै नेतृत्वको सरकार छिट्टै बन्नेछ।' तर माओवादी नेतृत्वमा बन्ने सरकारको प्रधानमन्त्री भने पार्टी भित्रको अरु कोही पनि बन्न सक्ने उनको भनाई छ।
 
'नागरिक सर्वोच्चता प्रमुख हो,' अध्यक्ष दाहालले भने, 'राष्ट्रपतिको कदम सच्चिएपछि बन्ने राष्ट्रिय सरकारको नेतृत्व माओवादीले गर्ने छ।' माओवादीले राष्ट्रपतिको कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरी सकेको छ।

अबको एक महिनाभित्रै अयोग्य लडाकुहरुले शिविर छोडिसक्ने बताउँदै दाहालले रक्षामन्त्रीको शान्ति सम्झौता परिवर्तन गर्नुपर्छ भन्ने भनाइले शान्ति प्रक्रिया खल्बलिने चेतावनी दिए। 'नेताहरुको यस्तो अभिव्यक्तिले सरकार सेना समायोजनतर्फ गम्भीर नभएको स्पष्ट पार्छ,' उनले भने, 'यो शान्ति प्रक्रिया भाड्ने चाल भन्दा अरु केही होइन।' माओवादी शान्ति सम्झौता कुनै पनि हालतमा पुनरावलोकन नहुने बताउँदै भने, 'त्यसैलाई आधार बनाएर हामी अर्को विद्रोहमा गएका छैनौं। तर सरकार यस तर्फ गम्भीर देखिदैन।'

उनले ०६७ साल जेठ १४ गतेभित्रै नयाँ संविधान बन्ने कुरामा ढुक्क हुन नागरिकलाई आग्रह गरे। 'समयमा नयाँ संविधान निर्माण नहोला भन्ने डरले नै हामीले आन्दोलनको तयारी गरेका हौ,' संविधान निर्माणतर्फ माओवादी सचेत नभएको भन्ने आरोपमा कुनै सत्यता नभएको उनको भनाई छ। 'संविधान निर्माणको समय कुनै पनि हालतमा थपिनु हुँदैन' उनले भने।

प्रचण्ड कि पुष्पकमल दाहाल

माओवादी अध्यक्षले आफूलाई पुष्पकमल दाहाल भन्दा प्रचण्ड भनी संवोधन गर्दा खुशी लाग्ने बताए। 'प्रचण्ड परिवर्तनको संवाहक हो, दाहाल अलि पुरातन,' दाहालले अन्तर्वार्ताको क्रममा भने, 'केही पुरातनवादीहरु प्रचण्ड र पुष्पकमल दाहाललाई भिडाएर प्रचण्डलाई पराजित गर्न चाहन्छन्।'

दाहालले केही मिडियाहरुले प्रचण्डलाई समाप्त पार्न पुष्पकमल दाहाल मात्र प्रयोग गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by