ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 30, 2009

नबिलको नजर विदेशतिर


नारायण सापकोटा
राज्यलाई कर बुझाउने पाँचौं ठूलो कम्पनी नबिल बैंकले नयाँ व्यवसाय सुरु गर्ने भएको छ। 'बीमा, सामूहिक लगानी कोष, मर्चेन्ट बैकिङ, लघूकर्जा र सेयर दलाल लगायतका व्यवसाय सूरु गरिने छ' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने।
यी व्यवसायका लागि आवश्यक प्रक्रिया सूरु गरिने उनले बताए। बैकिङमा पहिलो नम्बर राख्दै अरु काम गर्न लागिएको शाहले बताए।
यो बैंकले गत आर्थिक वर्षमा आयकर बापत राज्यलाई बूझाउन ४४ करोड ७६ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले राज्यलाई ३४
करोड २५ लाख कर बूझाएको जनाएको छ।

सञ्चालनको २५ औं वर्षमा रहेको बैंक विदेशमा शाखा खोल्ने तयारीमा छ। 'विदेशमा शाखा खोल्न दिनूपर्ने व्यवस्थाका लागि पहिले देखिनै नबिलले प्रयास गरेको थियो' शाहले भने। चालू वर्षको मौद्रिक नीतिले बैंकलाई विदेशमा शाखा खोल्न पाउने व्यवस्था गरेको छ। विदेशमा शाखा खोलेपछि त्यहाँबाट कमाई हूनूपर्ने पक्षमा नबिलको व्यवस्थापन छ। 'शाखा सञ्चालनका लागि यहाँबाट पैसा पठाउन नपर्ने अवस्था जरुरी छ' उनले भने।

नेपाली धेरै रहेको मुलुकमा रेमिट्यान्स ल्याउने हिसाबले शाखा खोल्ने पक्षमा छन् शाह।

उनले विदेशमा शाखा स्थापनाका लागि अध्ययन समेत सुरु गरेका छन्। बेलायत, सिङ्गापुर, मलेसिया र कतारमा शाखा स्थापना गर्ने विषयमा अध्ययन भैरहेको उनले बताए। राष्ट्र बैंकमा शाखा स्थापनाका लागि आवेदन गरेको शाहले बताए। शाखा स्थापनाका लागि सम्वन्धित मुलुकको स्वीकृति लिन आवश्यक हुन्छ। 'सबै प्रक्रिया पूरा गर्दा आगामी वर्ष नबिलको शाखा विदेशमा हुनेछ' शाहले भने।

तिब्बतमा शाखा खोल्ने विगतको योजना अहिलेलाई थाँती रहेको बैंकले जनाएको छ। यो बैंकका शाखा ३२ छन्। यो वर्ष १० शाखा थपिने शाहले बताए। एटिएम ३४ छन्। यसलाई बढाउँदै लग्ने तयारीमा व्यवस्थापन छ।
गत वर्ष १ अर्ब ३ करोड नाफा गर्न सफल यो बैंकसँग ३४ अर्ब ७५ करोड रुपैयाँ निक्षेप छ। बैंकले २९ अर्ब ९४ करोड कर्जा दिएको छ। कर्जा निक्षेप अनूपात ८६ दशमलव १४ प्रतिशत छ। ऋणपत्रमा लगानी १० अर्ब ५२ करोड भएको बैंकले जनाएको छ। बैंकको जगेडा कोषमा २ अर्ब १६ करोड छ। चूक्तापूँजी ९६ करोड ५७ लाखबाट बढाउन बैंकले गतवर्षको नाफाबाट ५० प्रतिशत वोनस सेयर दिएको छ। व्यापार वृद्विका लागि समस्या आउन नदिन पूँजी वृद्वि गरिएको उनले बताए। 'विदेशमा जान चूक्तापूँजी ठूलो आकारको हूनूपर्छ' शाहले भने। सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको संयोजन मिलेको कम्पनीका रुपमा नबिललाई लिन उनले अनुरोध गरे। बजारमा यो कम्पनीको सेयरलाई आकर्षक मानिन्छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by