ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 27, 2009

रक्षा मन्त्रीको भनाई व्यक्तिगत : प्रधानमन्त्री

काठमाडौ, कात्तिक १० (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकु सेनामा समायोजन गर्न नसकिने भन्ने रक्षा मन्त्री विद्यादेवी भण्डारीको अभिव्यक्ति सरकारको नभई भण्डारीको व्यक्तिगत मात्र भएको बताएका छन्। मंगलबार बसेको लडाकुको रेखदेख, समायोजन र व्यवस्थापन विशेष समितिको बैठकमा माओवादी प्रतिनिधिको जिज्ञासामा प्रधानमन्त्रीले लडाकु समायोजन सम्बन्धमा सरकारी धारणा परिवर्तन नभएको बताए। माओवादीका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने सभासद जनार्दन शर्माले रक्षा मन्त्री भण्डारीलगायतका केही मन्त्रीहरुको अभिब्यक्तिप्रति बैठकमा आपत्ति जनाएका थिए। मन्त्रीका त्यस्ता अभिब्यक्तिले शान्ति प्रकृयालाई अबरुद्ध पार्न सक्ने धारणा प्रधानमन्त्री समक्ष व्यक्त गरेका थिए।

'हामीले बृहत शान्ति सम्झौताको बिरुद्धमा रक्षा मन्त्रीलगायतले दिएको अभिब्यक्तिमा असहमति राख्यौं' माओवादी नेता शर्माले प्रधानमन्त्री कार्यालयमा भएको बैठकपछि संवाददाताहरुसंग भने, 'यसले शान्ति प्रकृयालाई सहयोग गर्दैन भन्यौं।'

रक्षामन्त्री भण्डारीले माओवादी लडाकुलाई सेनामा समायोजन गर्न नसकिने बताउँदै आएकी छन्। केही दिन अघि संसदको राज्य व्यवस्था समितिमा भण्डारीले नेपाली सेनाको भर्ना लिनुपर्ने, गोली गट्ठाहरु किन्नुपर्ने र शान्ति सम्झौताको पुनरावलोकन गर्नुपर्ने प्रस्ताव राखेकी थिइन्।

प्रधानमन्त्री नेपालको अध्यक्षतामा मंगलबार बसेको बैठकले माओवादी लडाकुको आचार संहिता र चेन अफ कमाण्डको कार्यविधि आगामी आइतवारसम्म टुंगो लगाउने सहमति पनि गरेको शर्माले बताए।

प्राविधिक समितिले करिव दुई महिना अघि आचार संहिता र कार्यविधि दुवै बनाएर बिशेष समितिलाई बुझाएको भएपनि अझै त्यसलाई कार्यान्वयन गर्ने निर्णय समितिले गरिसकेको छैन ।

समितिका प्रबक्ता मुख्य सचिव माधव घिमिरेले अव हरेक आइतबार समितिको बैठक बस्ने जानकारी दिए। प्रधानमन्त्री नेपालले लडाकुको समायोजन र व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेकाले हरेक साता बैठक बस्न लागेको हो।

यसअघि अनमिन प्रमुख लेनग्रन र सुरक्षा परिषद् सदस्य राष्ट्रका राजदूतहरुले बिशेष समितिको पुर्नगठनलाई सकरात्मक उल्लेख गदै छिटो काम गर्नुपर्ने सुझाएका थिए ।

अनमिनको समयावधि अगामी जनवरी २३ तारिखमा सकिंदैछ । उनीहरुले त्यसअघि नै माओवादी लडाकुको समायोजन तथा व्यवस्थापना हुनुपर्नेमा जोड दिंदै आएका छन् ।

व्यवस्थान र समायोज बिशेष समितिमा एमालेका इश्वर पोखरेल, माओवादीका बर्षमान पुन र जनार्दन शर्मा, काँग्रेसका रामशरण महत र मिनेन्द्र रिजाल, मधेसी जनअधिकार फोरमका जयप्रकाशप्रसाद गुप्ता, फोरम लोकतान्त्रिकका शरदसिंह भण्डारी र तराई -मधेस लोकतान्त्रिक पार्टीका महेन्द्र यादव सदस्य छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by