ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 26, 2009

१० कम्पनीका ११ औषधि गुणस्तरहीन


अर्जुन पौडेल/नयाँ पत्रिका

गत वर्ष देशभरि बेचिएका १० कम्पनीका ११ औषधि गुणस्तरहीन पाइएको छ । औषधि अनुगमनको अख्तियार पाएको नेपाल औषधि लिमिटेडले आर्थिक वर्ष ०६५/६६ मा बजारबाट उठाएका औषधिको अनुसन्धानबाट सो तथ्य भेटिएको हो ।



विभागले बजारबाट पाँच सय ९५ औषधि संकलन गरी परीक्षण गरेको थियो । विभागको आफ्नै प्रयोगशालामा परीक्षण गरेको हो । गुणस्तरहीन पाइएका औषधिमा ६ भारतीय र पाँच नेपाली कम्पनीका रहेको औषधि व्यवस्था विभागले जनाएको छ । गुणस्तरहीन भेटिएका औषधिमा प्रायः इन्जेकसन, स्लाइन र एन्टिबायोटिक छन् । सो औषधि अति संवेदनशील भएकाले बजारबाट तत्काल फिर्ता गरी नष्ट गर्न विभागले निर्देशनसमेत दिएको छ ।

गुणस्तरहीन औषधिहरूमा 'इन्डिको रेमिडिज, इन्डिया'को व्याच नं. ००१-एफ ७ टी 'ओटोरेक्स इएर ड्रप' छ । त्यस्तै हिन्दुस्तान फर्मास्युटिकल्स, इन्डियाको पट क्लोराइड इन्जेक्सन पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ । व्याच नं. १६४को सो इन्जेकसन तत्काल फिर्ता गरी नष्ट गर्न विभागले औषधि कम्पनीलाई निर्देशन दिएको छ ।

एल्डर फर्मास्युटिकल्स इन्डियाको एल्डर भेट इन्जेक्सन पनि कम गुणस्तरको पाइएको विभागले जनाएको छ । सो कम्पनीले गत वर्ष बजारमा बेचेको ७०७९०८ नं.को व्याचको इन्जेक्सन गुणस्तरहीन पाइएको छ । त्यस्तै कर्नाटक एन्टिबायोटिक, इन्डियाले गत वर्ष नेपाली बजारमा बेचेको डी ६४०२१ व्याचको डेक्सामेथासोन इन्जेक्सन पनि गुणस्तरहीन रहेको विभागले जनाएको छ । सो व्याचका सबै औषधि तत्काल फिर्ता गरी नष्ट गर्न विभागले सो कम्पनीलाई पनि निर्देशन दिएको छ ।

विभागका अनुसार अल्बर्ट डेभिड इन्डियाको व्याच नं. पी ७ वी ७२५ को आरएल स्लाइन पनि कम गुणस्तरका छन् । त्यस्तै, लुपिन लिमिटेड इन्डियाको ए ८२/३ डब्लुसी व्याचको ओडोक्सिल ओरल सस्पेन्सन औषधि पनि गुणस्तरहीन भेटिएको छ । सो कफ सिरप हो ।

त्यस्तै, गुणस्तरहीन पाइएका नेपाली कम्पनीका औषधि विजयदीप फर्मास्युटिकल्सको व्याच नं. २/३५ डीको २/३ ५ प्रतिशत डेक्सट्रोज र २/३३ वी व्याचको १/३ एन एस स्लाइन रहेका छ । विभागले सो कम्पनीलाई तत्काल सो व्याचका स्लाइन फिर्ता गरी नष्ट गर्न निर्देशन दिएको छ ।

त्यस्तै, एपेक्स फर्मास्युटिकल्स नेपालको व्याच नं. ६६०१ ००७ ब्याच नं. को सेफटप डिएस एन्टिबायोटिक पनि गुणस्तरहीन रहेको विभागले जनाएको छ । त्यस्तै, केमी ड्रग इन्डस्टि्रज नेपालको ब्याच नं. डिइसी एफ ०९ 'डक्सिल डिटी पनि गुणस्तरहीन पाइएकाले फिर्ता गरी नष्ट गर्न विभागले निर्देशन दिएको छ ।

विभागले सो आर्थिक वर्षमा ५६ जिल्लाको दुई हजार ५४ औषधि पसलको निरीक्षण गरेको थियो । निरीक्षणमा मापदण्ड पूरा नगरेका एक सय ९९ औषधि पसल बन्द गराइएको छ । अनुगमनका क्रममा अनियमितता गरेको भेटिएका ११ औषधि पसललाई सात दिनसम्म औषधि बिक्री- वितरण गर्न नपाउनेगरी पसल दर्ता प्रमाणपत्र र व्यवसायी मान्यता प्रमाणपत्र विभागले निलम्बन गरेको छ ।

निरीक्षणका क्रममा आधिकारिक खरिद बिलविना नै औषधि सञ्चय, बिक्री- वितरणका साथै लागू तथा मनोद्वीपक औषधि रेकर्ड नराखी बिक्री गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले सामान्य सुधारका लागि एक सय ३९ पसललाई सचेत गराएको छ । चालू आर्थिक वर्षमा पनि ती औषधि पसलले निर्देशन पालना नगरेको पाइए कारबाही अघि बढाउने विभागले जनाएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by