ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 29, 2009

भेडीगोठ छोडेर कम्प्युटर सिक्दै


चौँरी र भेँडीगोठ छोडेर कम्प्युटर सिक्न पाउदा धेरैले भविष्यको योजना बदलेका छन्
ध्रुव दंगाल/नयाँ पत्रिका

कर्थली (सिन्धुपाल्चोक), ११ कात्तिक
कक्षा नौमा अध्ययनरत प्रज्वल पौडेल यतिवेला दंग छन् । उनी दंग पर्नुको कारण हो, हिमाली गाउँमा कम्प्युटर शिक्षा लिने अवसर पाउनु । 'असाध्यै खुसी लागेको छ,' कुनै वेला कम्प्युटरको नाम सुन्दा अचम्म मान्ने उनले भने, 'विद्यालयको पढाइ सकेपछि छुट्टै समय निकालेर कम्प्युटर सिक्नुपर्ने बाध्यता हट्यो ।' हिमाली गाविस कर्थलीको बुँदेपास्थित सुनकोसी उच्चमाविले कम्प्युटर शिक्षाको व्यवस्था गरेपछि पौडेलजस्ता धेरै विद्यार्थी खुसी छन् । चौँरी र भेडीगोठ छोडेर विद्यार्थी कम्प्युटर सिक्न व्यस्त छन् । विद्यालयले यसै शैक्षिक सत्रबाट नौ कक्षामा कम्प्युटर विषयको पढाइ थालेको हो । कम्प्युटर विषय लिने बालबालिका मात्र होइन, १० जोड दुईका विद्यार्थी र गाउँमा बरालिएर बसेका युवायुवती कम्प्युटर सिक्न झुम्मिएका छन् ।

गाउँकै विद्यालयमा कम्प्युटर शिक्षा लिन पाएपछि धेरैले भविष्यको योजना बदलेका छन् । 'विद्यालय तह सकेपछि उच्चशिक्षा कम्प्युटर विज्ञान लिएर पढ्ने योजना बनाएको छु,' छात्र पौडेल सुनाउँछन् । विद्यालयले कम्प्युटर विषय लिने विद्यार्थीलाई कक्षा समयमा र अन्यलाई बिहान-बेलुकाको समय उपलब्ध गराएको छ । कम्प्युटरप्रतिको आकर्षणले कक्षा नौका १३ विद्यार्थीले यही विषय लिएका छन् । विद्यालयले उच्चमाविका सबै विद्यार्थीलाई अतिरिक्त क्रिलयाकलापका रूपमा कम्प्युटर शिक्षा दिएको छ ।

'एसएलसीसम्म कम्प्युटर देखेको थिइन,' कक्षा ११ की छात्रा कविता गुरुङले नयाँ सहपाठीलाई मनिटर, माउस, किबोर्ड र सिपियूबारे बताउँदै भनिन्, 'अहिले आफैँ कम्प्युटर चलाउन सक्छु । आवश्यक पर्दा साथीभाइलाई पनि सिकाउन सक्ने भएको छु ।' उनले १०-४ बजेको पढाइ सकेर गोठालो बन्नुपर्दा बाहिरी ज्ञान जान्नबाट वञ्चित आफूजस्ता विद्यार्थीलाई कम्प्युटर शिक्षाले लाभ दिएको बताइन् । सो विद्यालयमा कर्थलीबाहेक हिमाली गाविस चोकटी, घोर्थलीका विद्यार्थीले समेत अध्ययन गर्ने भएकाले उनीहरू पनि लाभान्वित छन् ।

सिकाइ प्रभावकारी बनाउन कक्षा नौका विद्यार्थीसँग मासिक २५ रुपैयाँ लिने गरिएको छ भने अन्यलाई तीनमहिने कोर्सको एक हजार पाँच सय रुपैयाँ शुल्कमा कम्प्युटर तालिम दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खत्रीले बताए । 'जमानाले कम्प्युटर शिक्षा दिन बाध्य बनायो,' नेपाली सेनाका पूर्वसुबेदार मेजर रहेका खत्रीले भने, 'अब इन्टरनेट जोडेर विद्यार्थीलाई देश/विदेशको सूचना प्रविधि र नयाँ ज्ञान दिने तयारीमा जुटेका छौँ ।'

३२ वर्षे सैनिक जागिरबाट अवकाश लिएर गाउँ फर्केका खत्रीले विद्यालयको अध्यक्ष सम्हालेपछि उनकै प्रयासमा कम्प्युटर शिक्षाको व्यवस्था गरिएको हो । विभिन्न निकायको सहयोगमा विद्यालयले नौ कम्प्युटर जुटाएको छ । अध्यक्ष खत्रीका अनुसार कम्प्युटर शिक्षा सञ्चालन गर्ने क्रममा पूर्वसांसद मोहनबहादुर बस्नेतले सांसद विकास कोषबाट ४० हजार रुपैयाँ दिएका थिए ।

सभासद् राजकुमार श्रेष्ठले फोटोकपी मेसिनसहित एकथान, स्थानीय इन्द्र गुरुङले दुई र मनाङका खुम्सुङ गुरुङले एकथान कम्प्युटर प्रदान गरेका थिए । अन्य कम्प्युटर भने विद्यालयले आफ्नै स्रोतबाट जुटाएको हो । कम्प्युटर सिकाउन विद्यालयले निमावि तहको सुविधा दिने गरी निजी स्रोतबाट एक शिक्षकको व्यवस्था गरेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by