ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 31, 2009

बढे पर्यटक


काठमाडौ, 


प्राचीन सम्पदाले भरिपूर्ण भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको छ ।  नगरपालिका पर्यटक सेवा केन्द्रका इन्चार्ज दामोदर सुवालले भदौको तुलनामा असोजमा पर्यटक डेढ गुणाले बढेको बताए ।  भदौमा ८ हजार ९ सय पर्यटकले जिल्लाको अवलोकन गरेका थिए । असोजमा बढेर २० हजार ६ सय ३८ पुगे । असोजमा १३ हजार १ सय ८५ गैरसार्क राष्ट्रका र ७ हजार ४ सय ५३ सार्क राष्ट्रका पर्यटकले भ्रमण गरेका थिए । केन्द्रका अनुसार अघिल्लो असोजमा १७ हजार ६६ पर्यटकले भक्तपुर भ्रमण गरेका थिए ।  नगरपालिकाले नगर प्रवेश गर्ने तेस्रो मुलुकका प्रतिपर्यटक ७ सय ५० र सार्क राष्ट्रप्रति पर्यटक ५० रुपैयाँ शुल्क लिँदै आएको छ ।  असोजमा पर्यटकीय सेवा शुल्कबाट १ करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।



 मकवानपुरमा एकै दिन पाँच हजार 


हेटौंडा- दर्शनीयस्थल सहिद स्मारकमा आन्तरिक र बाह्य गरी एकैदिन पाँच हजार पर्यटक भित्रिएका छन् । मकवानपुरकै पर्यटकीय क्षेत्र स्मारकको शनिबार ५५ समूहले अवलोकन गरेका थिए । स्मारकमा अधिकांश वीरगन्ज, चितवन, नवलपरासी र पटनाबाट आएका थिए । 


पटनाबाट आएका पर्यटक दिनभर अवलोकन गरेको स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए । नगरपालिका ११ स्थित सहिद स्मारकमा हिउँदभरि आन्तरिक एवं बाह्य पर्यटक आउने गर्छन् । गत वर्ष झन्डै ५ लाखले अवलोकन गरेका थिए । बजार नजिकैको स्मारकमा पर्यटकलाई आकषिर्त गर्न विकास समितिले विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिरहेको छ । जिल्ला विकास समितिले पर्यटन प्रवर्द्धन गर्न पर्यटकीय क्षेत्रको पहिचान र पूर्वाधार विकास गर्ने योजना बनाएको छ । पर्यटकीय क्षेत्र दामनका होटल दसैंलगत्तै भरिभराउ छन् । 


धरानको आकर्षण घन्टाघर


धरान- आन्तरिक पर्यटनको नमुना बनेको छ यहाँको घन्टाघर र भूकम्प स्मारक पार्क । घन्टाघर हेर्न र पार्कमा बसेर आनन्द लिन चार वर्षको अवधिमा मात्र टिकट काटेर करिब १ लाख आन्तरिक पर्यटक प्रवेश गरेका छन् । घन्टाघर नगरको एक मात्र गहनाका रूपमा छ ।


घन्टाघरको हेरचाह गर्ने जिम्मा पाएका सुपरभाइजर केशव न्यौपानेका अनुसार चार वर्षको अवधिमा करिब १५ लाख रुपैयाँ आम्दानी गरेको छ । 'पछिल्लो समय बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर बाबाधामसँगै घन्टाघर पनि घुम्ने बढेका छन्,' उनले भने । 


दुरुपयोग भइरहेको भानुचोकको खाली जमिनलाई ६ वर्षअघि नगरपालिकाले कब्जामा लिएपछि धरान हङकङ मञ्च, नगरपालिका, स्थानीय बासिन्दा, मकाउ मञ्च, जापान मञ्चले दिएको करिब १ करोड रुपैयाँको लगानीमा उक्त पार्क र घन्टाघर बनेको हो ।


आकर्षक घन्टाघरसँगै रहेको ०४५ साल भदौ ५ गतेको भूकम्पमा परी मृत्यु हुनेहरूको सम्झनामा भूकम्प स्मारक पार्क पनि छ । पूर्वको सुन्दर नगरीको मुटुमा रहेको घन्टाघरमा आफ्नो घरमा आउने पाहुनालाईर् घुमाउन ल्याउने चलन बढेकाले पनि आन्तरिक आम्दानीमा वृद्धि भएको न्यौपानेले बताए । घन्टाघरको उचाइ ५५ फिट छ । यसमाथि चढेर नगरको दृश्य हेर्ने पनि बढेका छन् । घन्टाघर छिरेपछि विभिन्न ठाउँबाट आउने अधिकांश युवा युवतीहरूले फोटो खिचाउने गरेका छन् । घन्टाघरभित्र फिल्म, म्युजिक भिडियो आदि पनि सुटिङ हुने गरेको छ ।


भित्रने क्रम बढ्यो


संखुवासभा- जिल्लामा असोजमा ५ सय ९७ पर्यटक भित्रिएका छन् । गत वर्षको सोही अवधिमा यो संख्या ३ सय मात्र थियो । 


मकालु वरुण राष्ट्रिय निकुञ्जका अनुसार चालू आर्थिक वर्षको साउनमा २, भदौमा १३ र असोजमा ५ सय ९७ पर्यटक संखुवासभा प्रवेश गरे । तीमध्ये क्यानडाका ६६, बेलायतका ५७, पोल्यान्डका ४१, जर्मन र नेदरल्यान्डका ३६/३६, चेक रिपब्लिकका ३२ र डेनमार्कका २९ पर्यटक आएको निकुञ्जका रेन्जर बद्रीविनोद दाहालले बताए । 


संखुवासभामा गत आर्थिक वर्ष १ हजार २ सय ९७ पर्यटक भित्रिएका थिए । ०६४/६५ मा ५ सय ९७ र ०६३/६४ मा २ सय २७ मात्र आएका थिए । देशमा द्वन्द्व सकिएपछि पर्यटकको संख्या वृद्धि हुन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपालप्रकाश भट्टराई बताउँछन् । 


बर्दियामा दोब्बर


गुलरिया- बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको छ । साउनदेखि कात्तिक पहिलो सातासम्म १ हजार ५० जना आएको निकुञ्जले जनाएको छ । 


निकुञ्जका अनुसार ५ सय ५५ जना विदेशी र ४ सय ८२ आन्तरिक पर्यटक आएका छन् । गत वर्षका तुलनामा दोब्बर पर्यटक आएका हुन् । गत वर्ष यसै अवधिमा ५ सय २ जना आएका थिए । 


निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार थापाका अनुसार यसपालि स्वदेशी र विदेशी गरी झन्डै ७ हजार पर्यटक आउन सक्ने सम्भावना छ । 


हात्ती, गैंडा, बाघलगायत दुर्लभ वन्यजन्तु र बबई उपत्यकाको मनमोहक दृश्य हेर्न पर्यटक आउने गरेका छन् । पर्यटक संख्या बढे पनि उनीहरूको छोटो बसाइले होटल, लज व्यवसाय भने फस्टाउन नसकेको व्यवसायी बताउँछन् । 


लुम्बिनीमा पनि बढे


बुटवल- गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनमा वृद्धि भएको छ । पछिल्लो समयमा भारतबाहेकका देशबाट मात्रै दैनिक करिब ३ सय ५० जना अउने गरेका छन् । सबैभन्दा बढी चीनबाट आएका छन् । भारत र आन्तरिक पर्यटकको संख्या दोब्बर छ । 


पर्यटन महोत्सव हुने


बुटवल- नेपाली औद्योगिक उत्पादन तथा पर्यटकीय क्षेत्र पहिचानका लागि यहाँ एघारौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । 


महोत्सवको आयोजना उद्योग संघले गर्न लागेको हो । महिला र घरेलु उत्पादनलाई प्राथमिकता दिइने महोत्सव बुटवल मण्डपमा पुस ७ देखि १९ गतेसम्म हुनेछ । 


संघले महोत्सवको तयारीका लागि अध्यक्ष एजाज आलमको संयोजकत्वमा ६५ सदस्यीय मूल समितिसमेत गठन गरेको छ ।


पोनी टे्रकमा रमाउँदै


कास्की -कास)- पर्यटकीय मौसम सुरु भएलगत्तै घोडा सयर गर्ने विदेशी यो नगरीमा छ्याप्छ्याप्ती देखिन थालेका छन् । लेकसाइडमा बिहानदेखि बेलुकासम्म घोडा चढेर हिँडेका पर्यटकको ओहोरदोहोर देख्न सकिन्छ । 


सेप्टेम्बर महिना सुरु भएपछि टकटक आवाजसँगै पर्यटकहरू यहाँको प्रमुख पर्यटकीय स्थलमा घोडा सयर गरेर हिँड्ने गर्छन् । वरिपरि देखिने सुन्दर दृश्य अवलोकन गर्दै घोडामा चढेर हिँड्न पाउँदा भिन्न अनुभव हुने उनीहरू बताउँछन् । असोजदेखि मंसिरसम्म पोनी ट्रेकका लागि उत्तम मौसम मानिन्छ । 


लेकसाइडबाट सुरु हुने टे्रक पामे, शान्तिस्तुपा, सराङकोट हुँदै सहर दृश्यावलोकन गरी पुन लेकसाइड फर्किने गर्छन् । जुन छोटो दूरीमा गरिने टे्रक हो । लामो टे्रकका लागि घोडा लिएर पर्यटक अन्नपूर्ण क्षेत्रमा पनि पुग्ने गरेका छन् । नगर क्षेत्रमै यो टे्रक गर्ने व्यवसायी बताउँछन् । 'बढीमा दुई दिनको टे्रक गर्छन्,' व्यवसायी टीकाराम सापकोटा भन्छन्, 'पर्यटकहरू यो मौसममा घोडामा चढेर साइड सिन गर्न बढी मन पराउँछन् ।'


नगर क्षेत्रभित्र पर्यटकहरूले १ दिनको टे्रक गर्छन् भने उपत्यका बाहिर बढीमा ५ दिनको टे्रकमा घोडा चढेर जाने गरेको सापकोटाले बताए । सानो तथा बलियो र आकर्षक घोडामा सयर गनर्ु पोनी टे्रक हो । पर्यटकसँगै टे्रकिङ गाइड पनि हुन्छन् । 


बेलायतबाट एक साताअघि दुई छोरीसँगै आएकी मेलेसाले यहाँ घोडामा सयरमा निकै रमाइलो अनूभूति भएको बताइन् । उनले भनिन्, 'घोडामा चढेर ताल तलैया र हरियाली दृश्य हेर्न पाउँदाको मज्जा बेग्लै हुन्छ ।' उनीसँगै छोरीहरू जान्ची र प्रेन्सकाले पनि पोनी टे्रकको आनन्द लिए । 


व्यवसायीहरूले एक दिन टे्रक गरेको पर्यटकहरूबाट दुई हजार रुपैयाँ लिने गरेका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by