ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 25, 2009

औद्योगिक क्षेत्रमा लगानी बढ्यो


विष्णु पोखरेल/नयाँ पत्रिका

औद्योगिक क्षेत्रमा लगानी गर्ने उद्योगी बढ्दै गएका छन् । आर्थिक वर्ष ०६४/०६५को तुलनामा आर्थिक वर्ष ०६५/०६६ यस क्षेत्रमा लगानी गर्ने संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष स्वदेशी र विदेशी लगानीकर्ताले औद्योगिक क्षेत्रमा झन्डै २७ अर्ब रुपैयाँ लगानीका लागि स्वीकृति लिएका छन् । आर्थिक वर्ष ०६४/०६५को तुलनामा गत वर्ष औद्योगिक क्षेत्रमा झन्डै ६५ प्रतिशत अर्थात १० अर्ब ६१ करोड रुपैयाँभन्दा बढी लगानी प्रस्ताव स्वीकृत भएको हो । विभिन्न किसिमका उद्योग सञ्चालन गर्न स्वीकृति लिने र उनीहरूले गर्ने लगानी प्रस्तावमा वृद्धि हुँदै गएको उद्योग विभागले जनाएको छ । विभागका निमित्त महानिर्देशक ध्रुवराज जोशीले अघिल्ला वर्षको तुलनामा गत वर्ष लगानी स्वीकृत गराउने विदेशीको संख्या बढी भएकाले पनि औद्योगिक क्ष्ाेत्रको लगानी बढेको बताए ।

गत आर्थिक वर्षमा विभागबाट ३ सय २ ठूला तथा मझौला परियोजनाले लगानीको स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षमा १ सय ५८ वटा परियोजनाले मात्र लगानी अनुमति पाएका थिए । 'एकै वर्षमा धेरै परियोजना आउनु औद्योगिक क्षेत्रका लागि आशलाग्दो स्थिति हो,' उनले भने । आर्थिक वर्ष ०६४/०६५भन्दा गत वर्ष १ सय ४४ थप परियोजनाले लगानी स्वीकृति लिएका छन् ।

विभागमा दर्ता भएका परियोजनामा सबैभन्दा बढी उत्पादनमूलक र सेवामूलक रहेका छन् । सरकारले कृषि, खनिज र पर्यटनमूलक उद्योगलाई प्रमुख प्राथमिकतामा राखे पनि लगानीकर्ता भने सेवामूलक र उत्पादनमूलकमा बढी आकषिर्त भएका छन् । स्वदेशी मात्र हैन, विदेशी लगानीकर्ता पनि सेवा उद्योगमा बढी आकषिर्त भएको विभागले जनाएको छ ।

गत वर्ष विभागमा दर्ता भएका ३ सय २ परियोजनाले २६ अर्ब ९६ करोड रुपैयाँ लगानी प्रस्ताव गरेकामा सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा रहेको छ । उत्पादनमूलक क्षेत्रमा करिब १० अर्ब ४७ करोड लगानी प्रस्ताव भएको छ भने ९४ त्यस्ता परियोजना दर्ता भएका छन् । सेवा क्षेत्रमा पनि ९२ परियोजना दर्ता भएका छन् । तर, सेवा क्षेत्रको लगानी भने उत्पादनमूलक क्षेत्रको तुलनामा धेरै कम छ । सेवाक्षेत्रमा भने ४ अर्ब ५४ करोड बराबरको मात्र लगानी प्रस्ताव गरिएको छ ।

यगैगरी गत वर्ष १ अर्ब २२ करोड लगानी प्रस्तावसहित ७२ पर्यटनमूलक उद्योग दर्ता भएका छन् । त्यस्तै, २ अर्ब ५६ करोड लगानी प्रस्तावसहित २० वटा खनिजन्य, ४८ करोड लगानी प्रस्तावसहित १० वटा कृषिजन्य, ६ अर्ब ८१ करोड लगानी प्रस्तावसहित ऊर्जामूलक र ८५ करोड लगानी प्रस्तावसहित ३ वटा निर्माणजन्य उद्योग विभागमा दर्ता भएका छन् ।

जलस्रोत र खनिज उपयोग गरी उद्योग सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताए पनि सो क्ष्ाेत्रमा अपेक्षाकृत लगानी भित्रन नसकेको देखिएको छ । आर्थिक वर्ष ०६४/०६५को तुलनामा गत वर्ष यस क्षेत्रमा पनि लगानी बढेको देखिएको छ । खनिज क्षेत्रमा भने गत बर्ष विदेशी लगानी निकै बढेको विभागले जनाएको छ । आर्थिक वर्ष ०६४/०६५ एउटा मात्र खनिजजन्य उद्योग दर्ता भएकामा गत वर्ष २० त्यस्ता उद्योग दर्ता भए । २० वटै उद्योगमा विदेशीको लगानी छ । त्यसमा पनि सबैभन्दा बढी चिनियाँहरूले लगानी प्रस्ताव गरेका छन् ।

सुरुदेखि गत वर्षसम्म जम्मा २७ खनिजजन्य उद्योग दर्ता भएकामा गत वर्ष नै सबैभन्दा धेरै उद्योग दर्ता भएका हुन् । चिनियाँले नेपालमा सुन खानी रहेको भनी चासो देखाएकाले धेरै खनिजजन्य उद्योग दर्ता भएका हुन् । गत वर्ष दर्ता उद्योगले प्रस्ताव गरेको कुल रोजगारी २० हजार ३ सय ५९ रहेको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by