ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 25, 2009

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे


नवीन तिमिल्सिना/ नयां पत्रिका -
विश्वकै लामो तथा मनमोहक पदमार्ग अन्नपूर्ण क्षेत्रको पदयात्रामा आउने पर्यटक संख्या बढेको छ । सेप्टेम्बर महिनामा पर्यटक आगमनमा देखिएको सकारात्मक परिणामले यो वर्षको पर्यटकीय मौसममा अघिल्लो वर्षभन्दा बढी पदयात्री नेपाल भित्रिने सम्भावना देखिएको छ । यो वर्षको सेप्टेम्बर महिनामा ८ हजार एक सय ७४ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र पदयात्राको अनुमति लिएको राष्ट्रिय प्रकृति संरक्षणको कोषअन्तर्गतको अन्नपूर्ण क्षेत्र समितिले जनाएको छ । गत वर्ष ६ हजार ६ सय ५० पर्यटकले सो क्षेत्रमा पदयात्रा गरेका थिए । अन्नपूर्णमा पदयात्रा गर्ने सार्क मुलुकका पर्यटक गत वर्ष सेप्टेम्बरको तुलनामा झन्डै तीन गुणाले बढी ३ सय ८० बाट ९ सय ४ पुगेका छन् ।
सोही महिनामा एक हजार २६ इजरायली पर्यटकले अन्नपूर्ण क्षेत्रको पदयात्रा अनुमति लिएका छन् भने ६ सय ४६ बेलायतीले अनुुमति लिएका छन् । गत वर्ष सो क्षेत्रमा पदयात्रा गर्नेमा जर्मन अग्रपंक्तिमा आएका थिए । ६ सय ३४ जर्मन, ५ सय ८१ बेलायती तथा ५ सय २६ बेलायती नागरिकले गत वर्षको सेप्टेम्बर महिनामा अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेका थिए ।

पर्यटकीय मौसमको पनि सबैभन्दा राम्रो महिना मानिने अक्टोबर तेस्रो सातासम्ममा १३ देखि १४ हजार पर्यटकबाट सो क्षेत्रमा पदयात्रा गर्दा लाग्ने संरक्षण शुल्क संकलन भएको प्रकृति संरक्षणका कोषका प्रशासकीय अधिकृत राजेन्द्र जोशीले बताए । 'अहिलेको अुनपात हेर्दा अक्टोबर महिनामा अघिल्लो वर्षको तुलनामा बढी पर्यटक सो क्षेत्रमा जाने देखिन्छ,' उनले भने । एक दशकभन्दा बढी समयदेखि चलेको द्वन्द्व अवस्थाबाट नेपाल शान्ति प्रक्रियामा प्रवेश गरेकाले पदयात्रामा आउने पर्यटक संख्या बढेको उनको भनाइ छ । 'पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमले पनि पर्यटकमाझ सकारात्मक सन्देश गएको छ,' उनले भने । अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न चाहने सार्क मुलुकका नागरिकलेे दुई सय तथा अन्य मुलुकका नागरिकले दुई हजार रुपैयाँ संरक्षण शुल्क बुझाउनुपर्छ ।

२००८ अक्टोबरमा कुल १५ हजार एक सय ६३ पर्यटक अन्नपूर्ण क्षेत्रको पदयात्रामा गएका थिए । त्यसमध्ये २ हजार २ सय ६३ प|mान्सेली तथा एक हजार पँाच सय १० बेलायती पर्यटक थिए । सार्क मुलुकबाट भने ४ सय ६ पर्यटकले मात्रै सो क्षेत्रमा पदयात्रा गरेका थिए ।

२००८ को तुलनामा यो वर्षको अगस्त महिनामा पनि अन्नपूर्ण क्षेत्रमा आउने पदयात्री बढेका छन् । २००८ मा २ हजार ४ सय ६८ पदयात्रीले सो क्षेत्रमा पदयात्रा गरेकामा यो वर्ष ३ हजार ५९ ले सो क्षेत्रको पदयात्रा गरे । पर्यटकीय दृष्टिले अफ सिजन मानिने जुलाई महिनामा समेत गत वर्षको तुलनामा धेरै पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेका छन् । गत वर्ष २ हजार ४७ पर्यटकले पदायात्रा गरेकामा यो वर्ष ३ सय १८ पर्यटक बढेका छन् ।

१७ दिनदेखि २१ दिनसम्म लामो अन्नपूर्ण क्षेत्रको पदयात्रमा गत वर्ष ६९ हजार ९ सय ५९ पर्यटक सहभागी थिए । सन् २००९ को सेप्टेम्बरसम्ममा ४३ हजार २ सय १२ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको पदायात्राका लागि अनुमति लिइसकेका छन् । सो क्षेत्रमा पदायात्राका लागि आउनेमा अधिकांंश युरोपेली पर्यटक छन् । त्यसमध्ये पनि प|mान्स, बेलायत र स्पेनी पर्यटक संख्या उच्च छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by