ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 26, 2009

चीन वा भारतले आणविक परीक्षण गर्दा नेपालले थाहा पाउन सक्ने


लेखनाथ पाण्डे, काठमाडौं, कात्तिक ९- 
नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) को एक टोलीले नेपालमा 'सिस्मिक इन्डिकेटर ल्याव' स्थापना गर्न चाहेको छ। 'यसले चीन या भारत कुनै मुलुकले आणविक परीक्षण गर्दा नेपालले पूर्वजानकारी पाउन सक्छ। अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आइएइए) ले स्वास्थ्योपचारका लागि उपयोग गरी बाँकी रहेका आणविक विकारहरू सुरक्षित रूपमा नष्ट नभएकामा चिन्ता व्यक्त गरेको छ।
एजेन्सीको सत्य निरूपण टोलीले भक्तपुर तथा भरतपुर क्यान्सर अस्पताल र वीर अस्पतालमा स्थलगत अध्ययन गरी स्वास्थ्य संस्थामा उपयोग गरिएका आणविक विकारको विसर्जन सुरक्षाप्रति चिन्ता प्रकट गरेको हो।

वीर, भरतपुर तथा भक्तपुर क्यान्सर अस्पत्ताललगायत विभिन्न स्वास्थ्य संस्थामा क्यान्सरजस्ता घातक रोग 'डागयनोसिस' गर्दा रेडियोधर्मीका रूपमा आणविक तत्व उपयोग गरिन्छ। भक्तपुर अस्पतालमा यसरी उपयोग गरेर बाँकी रहेका विकारहरू जमिनमुनि गाडिएको छ।

टोलीले जमिनमुनि गाडिएका यस्ता विकार 'एक्सपोज' भए त्यसबाट ठूलो समुदाय प्रभावित हुनेतर्फ सतर्क गराउँदै प्रारम्भिक प्रतिवेदन दिएको छ।

गत वर्ष भक्तपुर अस्पत्ताल परिसरमा गाडिएका यस्ता विकार सुरक्षित रूपमा नष्ट नभएको भन्दै चिकित्सकहरूले समेत चिन्त व्यक्त गरेका थिए।

सामान्यतः उत्पादन गर्ने देश वा संस्थाले नै आणविक विकार लगेर नष्ट गर्ने प्रावधान छ। तर, भरतपुर क्यान्सर अस्पत्तालमा उपयोग गरिएको आणविक उर्जा तत्कालीन सोभियत संघस्थित कम्पनीबाट ल्याइएको र हाल उक्त कम्पनी बन्द भएकाले अस्पत्ताल परिसरमै गाडिएको हो।

आइएइएका एसिया-प्रशान्त क्षेत्रका लागि प्राविधिक सहयोग शाखा प्रमुख मोक्दोद म्याक्सौदी नेतृत्वको तीन सदस्यीय टोलीले कात्तिक २ देखि ६ सम्म नेपाल भ्रमण गरी आणविक विकार नष्ट गर्नेलगायत विषयमा सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ।

टोलीले अर्को साता नेपालमा आणविक उर्जाको शान्तिपूर्ण उपयोग र सुरक्षित विसर्जन, यसमा आइएइएले गर्न सक्ने प्राविधिक सहयोगसम्बन्धी विस्तृत प्रतिवेदन दिने विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. रामहरी अर्यालले बताए।

अष्ट्रियाको भियनास्थित यस राष्ट्रसंघीय निकायले आफ्ना डेढ सयभन्दा बढी सदस्य राष्ट्रहरूमा आणविक प्रविधिको सुरक्षित र शान्तिपूर्ण उपयोग तथा प्रबर्द्धनमा सहयोग गर्दै आएको छ।

आइएइएका प्रमुख मोहमद अलबरादेयी गत असोजमा काठमाडौं आउँदा प्रधानमन्त्री माधवकुमार नेपाललाई आणविक उर्जाको शान्तिपूर्ण र सुरक्षित उपयोग कार्यमा सहयोग गर्ने सम्बन्धमा यथार्थ बुझ्न सत्य निरूपण टोली टोली पठाउने बताएका थिए।

आइएइए टोलीले प्रविधि, स्वास्थ्य, परराष्ट्र, उर्जा, जलस्रोत, कृषि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो। टोलीको प्रतिवेदनमा आइएइएको विधान अनुमोदन गर्न आवश्यक रहेको औल्याइएको छ। साथै, आणविक उर्जाको प्रयोग, सुरक्षित रूपमा नष्ट गर्न, प्रयोगमा इजाजत लिने व्यवस्था गर्न, संभावित दुरूपयोग रोक्ने सम्बन्धमा छुट्टै ऐन/नियम बनाई कार्यान्वयन गर्न सुझाइएको छ। उसले राष्ट्रिय आणविक आयोग गठन गर्न पनि सुझाव दिएको छ।

नेपालले २००८ अगष्टमा आइएइएको सदस्यता लिए पनि विद्यान अनुमोदन गरेको छैन। विद्यान संसदले अनुमोदन गर्नुपर्छ।

आइएइए आणविक प्रविधिको सुरक्षित र शान्तिपूर्ण उपयोगमा आवश्यक सहयोग गर्न तप्पर रहे पनि यससम्बन्धी छुट्टै ऐन/नियम अभावले समस्या उत्पन्न भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीलेब बताए।

आइएइएले विशेषगरी विकासोन्मुख मुलुकमा कृषि उत्पादकत्व बढाउन, स्वास्थ्योपचारमा, उर्जा, प्राकृतिक प्रकोप नियन्त्रण गर्नमा आणविक प्रविधि सहयोग गर्दै आएको छ। उक्त संस्थाको यस्ता सहयोगसम्बन्धी ५ सयभन्दा बढी परियोजना दक्षिण एसियाका विभिन्न देशमा सञ्चालित छ।

'आणविक प्रविधि बिनासकारी हतियार निर्माणमा मात्र प्रयोग हुन्छ भन्ने बुझाई गलत रहेछ' गएको सेम्टेम्बरमा आइएइए मुख्यालय, अष्ट्रियामा सदस्य राष्ट्रका विज्ञान-प्रविधि सचिवको बैठकमा भाग लिएर फर्किएका डा. अर्यालले नागरिकसँग भने, 'आणविक उर्जा विनाशकारी हतियारमा भन्दा बढी समग्र सामाजिक-आर्थिक विकासमा प्रयोग गरिने रहेछ।'

टोलीले सुन खानीहरूमा घातक रेडियोधर्मी विकिरण उत्पन्न हुने उल्लेख गर्दै यसबाट सुरक्षित रहन 'आपतकालीन नियन्त्रण संयन्त्र' आवश्यक भएको औल्याएको छ। 'आइएइएले यस्ता संयन्त्र निर्माणमा सहयोग गर्न चासो देखाएको छ' सचिव अर्यालले भने।

प्रविधि मन्त्रालयले आणविक उर्जाको प्रयोग, यसबाट उत्पन्न हुने रेडियोधर्मी विकिरणबाट सुरक्षित रहने उपाय, प्रभावित हुनेको उपचार प्रबन्ध, क्षतिपूर्ति गर्न छुट्टै कानुन बनाउने तयारी गरिरहेको उनले बताए।

अर्यालका अनुसार, टोलीले नेपालमा भुकम्प तथा आणविक दुर्घटनाबारे पूर्वानुमान गर्न सकिने 'सिस्मिक इन्डिकेटर ल्याव' स्थापना गर्न चाहेको छ। 'यसले चीन या भारत कुनै मुलुकले आणविक परीक्षण गर्दा हामीले पूर्वजानकारी पाउन सक्छौं' अर्यालले भने।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by