ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 31, 2009

प्याराग्लाइडिङ दुर्घटना


सन्तोष पोखरेल, पोखरा

पाइलटको कुशलताले दुर्घटनामा परेको प्याराग्लाइडिङ क्षतिबिना जोगिएको छ। सराङकोटबाट शनिबार दिउँसो यात्रुसहित उडेको प्याराग्लाइडिङ सन्तुलन बिग्रेपछि दुर्घटनामा परेको थियो।  ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ सामान्य दुर्घटनामा पर्दा बेल्जियमकी ६० वर्षिया महिला यात्रु मिमीलाई सामान्य चोट लागेको छ। चालक बुल्गेरियाका 'गेरी' थिए। दुर्घटनामा परेलगत्तै चालकले नजिकैको अग्लो रुखमा लगेर प्याराग्लाइडिङ अड्काएका थिए। चालकको कुशलताले ठूलो दुर्घटना हुन नपाएको ब्लु स्काइका प्रत्यक्षदर्शी अर्का चालक बाबु सुनुवारले बताए। 'चालकको कार्यकुशलताले ठूलो घटना हुन पाएन', सुनुवारले भने- प्याराग्लाइडिङसँगै यात्रुले गति लिन नसक्दा सन्तुलन बिग्रन गई यस्तो भएको हो।' सुनुवारले अनुभवी चालकका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको बताए। 

प्याराग्लाइडिङ कम्पनी ब्लु स्काइले उडान भर्ने क्रममा चालकसँगै यात्रु नदौडिँदा दुर्घटना भएको बताएको छ। 'चालकले निर्देशन गरेअनुरुप यात्रु नदौडिँदा यो समस्या आएको रहेछ'- ब्लु स्काइका प्रबन्धक नारायण पराजुलीले भने। 

पराजुलीले साहसिक मनोरञ्जनको साधन भएकाले यस्तो दुर्घटना बिरलै हुने गरेको बताए। 'नसोचिएका घटना कहिलेकाहीँ हुन्छन्', उनले नागरिकसँग भने– टिम वर्क भएकाले यात्रुले चालकको निर्देशनअनुसार नचल्दा यदाकदा यस्तो घटना हुन जान्छ। 'वर्षमा सानातिना १/२ वटा यस्ता घटना हुन्छन्'- उनले भने।

पोखरा प्याराग्लाइडिङका लागि विश्वमै उत्कृष्ठ स्थानमध्ये एक हो। यो मौसममा पोखराको आकाशमा दिनभर एकसाथ दर्जनौं प्याराग्लाइडिङ चिलझैं घण्टौंसम्म उडिरहेका देखिन्छन्। यहाँ वर्षेनि यो मौसममा प्याराग्लाइडिङको मजा लिन विभिन्न मुलुकबाट सयौं पर्यटक आउने गर्छन्। यसका लागि पोखरामा आधा दर्जन प्याराग्लाइडिङ कम्पनी छन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by