ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 16, 2009

समुदायमा फैलियो स्वाइनफ्लु


समुदायमा स्वाइनफ्लु फैलिएपछि स्वास्थ्य मन्त्रालयले रणनीति परिवर्तन गर्ने भएको छ

अर्जुन पौडेल- नयाँ पत्रिका/काठमाडौं, २९ असोज विश्वव्यापी महामारी स्वाइनफ्लु नेपालमा पनि समुदायस्तरमा फैलिन थालेको छ । काठमाडौं र चितवनमा थप आठजना नयाँ स्वाइनफ्लु संक्रमित फेलापरेका छन् । यससँगै नेपालमा यसबाट प्रभावितको संख्या ४४ पुगेको छ । सरकारले नयाँ
फेलापरेका बिरामीको प्रत्यक्ष सम्पर्क अन्य रोगीसँग नभएको र उनीहरूले रोगप्रभावित क्षेत्रको भ्रमणसमेत नगरेको अवस्थामा संक्रमण समुदायस्तरमा फैलिएको ठहर गरेको छ । संक्रमितमध्ये कसैको पनि मृत्यु भने भएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार सबै बिरामी उपचारपछि निको भएर घर फर्केका छन् ।

स्वास्थ्य मन्त्रालयले स्वाइनफ्लु समुदायमा भए/नभएको अवस्था बुझ्न राजधानीका प्रमुख चार अस्पतालबाट इन्फ्लुएन्जाजस्तो लक्षण देखिएका बिरामीहरूबाट नमुना संकलन गरेको थियो । शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र कान्ति बाल अस्पतालमा पेन्डामिक इन्फ्लुएन्जा एएच-वान एन-वान-२००९ को जस्तो लक्षण देखिएपछि उपचार गराउन आएका ४२ जना रोगीको नमुना संकलन गरिएको स्वास्थ्यसचिव डा. सुधा शर्माले जानकारी दिइन् । ती नमुनामध्ये तीनजनामा स्वाइनफ्लुका जीवाणु पाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

स्वाइनफ्लुका जीवाणु भेटिएका तीनैजना स्वाइनफ्लुका रोगीसँग सम्पर्कमा नरहेको तथा रोग प्रभावित क्षेत्रको भ्रमण पनि नगरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चितवनमा फैलिएको उच्च ज्वरोको प्रकोपका बिरामीमध्ये तीनजनामा स्वाइनफ्लुको जीवाणु फेलापरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतिवेदन दिएको छ । सोबाहेक काठमाडौंका थप दुईजनामा पनि स्वाइनफ्लुको संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

समुदायमा स्वाइनफ्लुको संक्रमण भेटिएपछि स्वास्थ्य मन्त्रालयले सो रोग नियन्त्रणका लागि अपनाउँदै आएको रणनीति परिवर्तन गर्ने भएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by