ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 11, 2009

'नेपाली माओवादीद्वारा साम्राज्यवादीको अगाडि हतियार समर्पण'

उडिसा, असोज २४ (एजेन्सी)- भारतीय माओवादीका उच्चनेता सव्यसाची पन्डाले बीबीसीसँग कुरा गर्दै नेपालका माओवादीले दलाल पुँजीपतिसँग सम्झौता गरेको बताएका छन्। उनले भने, 'हतियारबन्द आन्दोलनमा कहिलेकाहिँ भड्काव आउने गर्छ, नेपालमा पनि त्यही भएको छ।'
नेपालका माओवादीले 'साम्राज्यवादीको अघि हतियार समर्पण गरेको' उनले आरोप लगाए। 'उनीहरू सुधारवादी हुन्,' उनले भने।



'सरकारले भनेजस्तो शक्ति छैन'


माओवादीले भनेको छ, भारत सरकारले उनीहरूको संगठन र शक्तिबारे दुष्प्रचार गरिरहेको छ।
माओवादीले भारत सरकारले भन्ने गरेकोजस्तो आफ्नो संगठनको प्रभाव व्यापक र आधुनिक हतियार नभएको बताएको छ।  प्रतिवन्धित संगठन भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का एक प्रमुख नेता सव्यसाची पन्डाले उडिसाको जंगलमा बिबिसीसँग कुरा गर्दै 'दमनको योजनाबीच वार्ताको प्रस्ताव सरकारको नाटक मात्रै हो' भने।
बस्तर (छत्तिसगढ) मा माओवादीविरुद्ध भैरहेको रैथानेहरूको कथित स्वस्फुर्त आन्दोलनले दोलनको कारण संगठनलाई फाइदा भएको छ।

माओवादी आन्दोलनबारे अध्ययन गरेकाहरूले केन्द्र सरकारको 'निर्णायक लडाईं' फैसलाले माओवादी संगठनमा भयको वातावरण उब्जिएको बताए।
केन्द्र सरकारले चाँडै राज्य सरकारसँग मिलेर माओवादीबिरुद्ध ठूलो अभियान संचालन गर्ने संकेत दिएको छ।
तीन वटा राज्यमा चुनाव समाप्त भएपछि सरकारले यस्तो अभियान सञ्चालन गर्ने अनुमान गरिएको छ।

दुष्प्रचार किन?


गत महिना दिल्लीमा प्रहरी महानिर्देशक तथा निरीक्षकहरूको एउटा सम्मेलनमा प्रधानमन्त्री मनमोहन सिंहले माओवादी देशको आन्तरिक सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा भएको दोहोर्‍याएका थिए।
पछिल्लो केही वर्षमा प्रधानमन्त्री यो कुरा पटक पटक दोहोर्‍याउँदै आएका छन्। तर गृहमन्त्री पि चिदम्बरमले पहिलोपटक एउटा आश्चर्य पार्ने तथ्यांक प्रस्तुत गरे। माओवादीको प्रभाव देश २० वटा राज्यको २ सय २३ जिल्लामा फैलिएको छ भनेर।

उनले माओवादी हिंसाको तथ्यांक पनि प्रस्तुत गरेका थिए। जसमा माओवादी हिंसाका कारण देशमा सबैभन्दा बढी मानिस मरेको उल्लेख छ। तर माओवादीका युवा नेता सव्यसाची पंडाले यो तथ्यांकलाई गलत भन्दै सरकारले माओवादीबिरुद्ध दुष्प्रचार गरेको बताए। सरकारले किन गलत तथ्यांक पेस गर्‍यो? उनले भने, 'एक त हाम्रो शक्तिलाई बढाइचढाइँ गरेर सरकारले दमनको ठूलो योजना बनाउन सक्नेछ र ठूलो बजेटको व्यवस्था गर्न सकिन्छ जसबाट मन्त्री तथा अधिकारीहरूलाई भ्रष्टाचारको अवसर प्राप्त हुनेछ।'

उनले भने, 'जहाँसम्म प्रभावको कुरा छ, हाम्रो प्रभाव पूरै देशमा छ तर जति जिल्लाको कुरा सरकारले भनेको छ त्यतिमा त हाम्रो संगठनसमेत छैन।' स्पष्टीकरण दिँदै उनले भने, 'जे जति स्थानमा माओवादीले छिटपुट घटना गराएका छन् सरकारी तथ्यांकमा सो स्थानलाई उनीहरूको प्रभाव क्षेत्र मानिएको छ।' यसैगरी उनले प्रचार भएजस्तो गरी माओवादीसँग आधुनिक हतियार नभएको भन्दै त्यसको खण्डन गरे।

उनले भने, 'हाम्रो अवस्था पहिलेभन्दा राम्रो भएको छ तर अहिले पनि धेरै त्यही हतियार छ जुन प्रहरीसँग छ किनभने धेरै उनीहरूबाटै लुटिएको हो।' उनले हतियार प्राप्त गर्ने अन्य माध्यम पनि भएको बताए तर त्यसबारे थप विवरण दिन मानेनन्। सव्यसाची पंडाले प्रधानमन्त्री मनमोहन सिंहले बुद्धिजिवीमा माओवादीको प्रभाव बढेको भन्ने भनाइलाई पनि दुष्प्रचार भनेका छन्। उनले भने, 'बुद्धिजिवीलाई माओवादी भनेर मार्ने षडयन्त्र हो। कलकत्तामा हामीले देखेका छौं कसरी बुद्धिजिवीलाई माओवादी भनेर मारिएको थियो।'
उनले भने, 'बुद्धिजिबीले शोषित, पीडित जनताको चिन्ता गरिरहेको छन् र उनीहरूको कुरा माओवादीको कुरा जस्तो लागिरहेको छ यसको मतलब बुद्धिजिवी माओवादी हुन भन्ने होइन।'


'आतंकवादी होइनौं'



प्रधानमन्त्री सिंह माओवादी आन्तरिक सुरक्षाको सबैभन्दा ठूलो खतरा भएको बताउँदछन् र भारत सरकार पत्रिकामा विज्ञापन प्रकाशित गरिरहेको छ जहाँ माओवादीलाई नृशंस हत्यारा भन्ने गरिएको छ।
बेलाबेलामा उनीहरूलाई 'आतंकवादी' भन्ने गरिएको छ। माओवादी आन्दोलन 'आतंकवादी आन्दोलन'मा परिणत भएको हो भनी सोधिएको प्रश्नमा पन्डाले माओवादीलाई क्रान्तिकारी भन्न सकिन्छ तर आतंकवादी भन्न सकिदैंन भने।

उनले भने, 'पुँजीवादी, जमिन्दार र साम्राज्यवादीका लागि हामी आतंकवादी हुन सक्छांै तर आम जनताका लागि हामी आतंकवादी होइनांै। 'आन्तरिक सुरक्षाको प्रश्नमा उनले भने, 'माओवादी आन्दोलन मनमोहन सिंह सरकार लागि खतरा हो तर देशको आंतरिक सुरक्षाका लागि कुनै खतरा होइन।' आफ्नो कर्तव्य पूरा गरिरहेको निर्दोष प्रहरी र दोस्रो सरकारी कर्मचारी मारिएको प्रश्नमा उनले 'हेर्दा उनीहरू आफ्नो काम गरेरहेको देखिन्छन् तर जुन संघर्षमा छन् त्यसमा कर्मचारी वा प्रहरीहरू कसको आदेश पालना गरिरहेका भन्ने महत्वपूर्ण हुन्छ' भने।

यसपछि उनले प्रहरीले अत्याचारी र माओवादी भनेर निर्दोष आदिवासीलाई हत्या गर्नु, महिलासँग बलात्कार गर्नुबारे प्रश्न उठाए। उनले प्रहरीले साथीहरूलाई नक्कली मुठभेडमा मारेको आरोप पनि लगाए।

अन्य संगठनसँगको सम्बन्ध


चीनको माओवादी सरकारबाट भारतीय माओवादीलाई समर्थन प्राप्त हुन्छ होला आमधारणा माओवादी नेताले गलत भएको बताए। उनले भने, 'पहिलेको चीन र अहिलेको चीनमा धेरै अन्तर छ। माओको मृत्युपछि चीनले जुन बाटो अपनायो, त्यो क्रान्तिको बाटो होइन, त्यो पूँजीवादी बाटो हो। अहिले त्यहाँ पूँजीवादी अर्थव्यवस्था छ।'
नेपालका माओवादीका विषयमा उनले भने, 'हतियार बन्द आन्दोलन गरेर केही मानिस भड्काउमा पर्छन्, नेपालमा पनि त्यही भएको हो। त्यहाँ पार्टीका मानिसले दलाल पूँजीवादीसँग सम्झौता गरेका छन्।'
नेपालका माओवादीले हतियार छाड्नुलाई उनी साम्राज्यवादीको अघि हतियार समर्पण मान्छन् र उनलाई सुधारवादी भन्छन्।

श्रीलंकाली लिट्टेको पराजयलाई भारतका माओवादीले एउटा शिक्षाका रूपमा लिएको छ। पन्डाले लिट्टेको गल्ती औंल्याउदै भने, 'गुरिल्ला छापामार युद्धको सबैभन्दा ठूलो खतरा आफ्नो शक्तिलाई धेरै आँक्ने कार्य हुन्छ, लिट्टेले त्यही गल्ती गर्‍यो।' तर भारतको अन्य विद्रोही आन्दोलनसँगको सम्बन्धबारे प्रश्नमा सचेत हुँदै उनले जवाफ दिए, 'यो विषयमा जानकारी गराउन सकिँदैन। माओवादी यस प्रकारको संगठन कुनै दिन एकसाथ आओस भन्ने चाहन्छ।' पूर्वोत्तर भारतका विद्रोही संगठनसँग सम्बन्ध स्वीकार गर्दै उनले जम्मु कश्मिरका संगठनलाई न्यायोचित ठहर्‍याए।



भविष्यको योजना 

भविष्यको योजनाको प्रश्नमा उनले माओवादी आन्दोलनमा पाँच/दश वर्षको योजना नबनाउने बताए।  तर माओवादी छापामार युद्धलाई दोस्रो स्तरमा अर्थात चलायमान युद्धको स्तरमा लैजान चाहेको भन्दै उनले भने 'पिपुल्स गुरिल्ला लिबरेसन आर्मी(पिजिएलए)लााई शक्तिशाली बनाउन चाहेका छौ।' एउटा प्रश्नको जवावमा उनले देशको केही हिस्साको आदिवासीबाट माओवादी आन्दोलनलाई साथ प्राप्त भए पनि दलित साथ पर्याप्त मात्रामा प्राप्त गर्न असफल भएको बताए।

मध्यमवर्गको समर्थनबारे उनले भने, 'जुन सहरमा आन्दोलन छैन, त्यहाँका मानिसँग हामी कसरी जोडिन्छौं?'
उनले भने, 'सरकार जति प्रचार-दुष्प्रचार गरिरहेको छ र जति आतंक फैलाइ रहेको छ, माओवादीलाई साथ दिनेलाई दमन हुन्छ भनेर, त्यसले मानिस सिधै सम्पर्कमा आउन डराइरहेका छन्। '


असहमति


तर, उडिसाका प्रहरी महानिर्देशक पदबाट सेवानिवृत्त भएका र केन्द्रीय गुप्तचर संयन्त्रमा काम गरिसकेका एसएन तिवारी माओवादी २ सय वटाभन्दा बढी जिल्लामा फैलिसकेको सरकारी अनुमान सही ठहर्‍याउँछन्।
उनले भने, 'सरकारले झुठो प्रचार गरिरहेको माओवादीले जे भन्दै आएका छन्, यसमा म सहमत छैन।'
उनले भने, 'देशका केही राज्य छत्तीसगढ, आन्ध्र र उडिसा, बिहार, झारखण्डमा यिनीहरू आक्रमण स्टेजमा छन् तर धेरै अन्य राज्यमा माओवादी गुरिल्ला जोन बनाउन सक्रिय रहेका छन्।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by