ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 16, 2009

कोरियाली संस्थाद्वारा बाढीपीडितलाई ५८ हजार सहयोग

काठमाडौं, असोज २८ (नागरिक)- सुदूर तथा मध्यपश्चिमका बाढीपहिरो पीडित परिवारलाई सहयोग गर्न स्थापित नागरिक सहयोग कोषमा कोरियाको जोय टुगेदर नामक संस्थाले ५८ हजार रूपैयाँ सहयोग गरेको छ।
जोय टुगेदारका स्थायी महासचिव जङ्ग वन लिले शुक्रबार नेपाल रिपब्लिक मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीलाई सो रकम हस्तारण गरेका हुन्। जङ्गले आर्थिकरूपमा सो रकम ठूलो नभए पनि विपत्तिमा परेका सर्वसाधारणलाई केही राहत पुगोस् भनेर सहयोग गरेको बताइन्। 'पश्चिमको पीडा पूर्वमा रहेका नेपालीको पनि हो। एकले अर्कोलाई सहयोग गर्ने भावना नेपालीमा रहेकोले नागरिक दायित्व अनुसार राहत संकलन कार्य थालेको हौं' नेपाल रिपब्लिक मिडियाका प्रवन्धक निर्देशक ज्ञवालीले भने, 'यसले आम नेपालीलाई एकता गराउन मद्दत पुर्‍याउनेछ।'

नागरिक तथा रिपब्लिका दैनिकले थालेको राहत कोषमा जम्मा भएको रकम प्रधानमन्त्री दैविक उद्धार कोषमा बुझाइ त्यो स्थलगत पुग/नपुगेको अनुगमनका लागि घच्घचाउने ज्ञवालीले बताए। रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीले विदेशबाट समेत राहत रकम उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेकी थिइन्।

दशैंको टीका लगत्तै मध्य तथा सुदरपश्चिमका अविरल वर्षाका कारण करौडौं धनजनको क्षति भएको थियो। सुदूरपश्चिममा मात्र ५९ र मध्यपश्चिममा ६ जना सर्वसाधारणको मृत्यू भएको थियो। बालीनाली र अन्य धनजनको क्षतिविवरण सरकारले अद्यावधि गर्न सकेको छैन। सरकारले राहतका लागि तत्काल १५ करोड निकासा गरे पनि पीडितले राहत पाइनसकेको गुनासो गरेका छन्।

नागरिक राहत कोषमा सिटिजन इन्टरनेश्नल बैंक र बैंक अफ एशिया सुरुबाटै सहकार्यमा छन्। सुदूरपश्चिम सरोकार मञ्च र कैलाली उद्योग वाणिज्य संघसमेत सहभागी भएका छन्। बाढीपहिरो पीडितलाई सहयोग गर्न सिटिजन्स बैंकको ००१०००४१९० ZB र बैंक अफ एसियाको ०१ CA ०३२१९८ NPR ००१ नम्बरको खाता नम्बर खोलिएको छ। खातामा जम्मा भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको व्यवस्था मिलाइएको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by