ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 14, 2009

होटेलवरिपरि मारिन्छन् धेरै गैँडा


खगेन्द्र पन्त-नयाँ पत्रिका/ काठमाडौं, २७ असोज
चितवन राष्ट्रिय निकुञ्जभित्र खोलिएका रिसोर्ट र होटेलवरिपरि सबैभन्दा धेरै गैँडा मारिएको पुष्टि भएको छ । पर्यटकको सुविधाका लागि निकुञ्जभित्र खुलेका होटेल विवादमा परेपछि नवीकरण भएको छैन । निकुञ्जभित्रका होटेलको दर्ता नवीकरण गर्ने/नगर्ने सम्बन्धमा चर्को विवाद चलिरहेका बेला व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत र साधन समितिले गैँडा सिकारसम्बन्धी प्रतिवेदन तयार गरेको छ । समितिको मंगलबारको बैठकमा प्रतिवेदन प्रस्तुत हुँदा होटेल सञ्चालक, सरोकारवाला, वातावरणविद् र वनमन्त्री दीपक बोहरासमेत उपस्थित थिए ।
समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार निकुञ्जभित्रका होटेल र रिसोर्टहरू रहेको एक किलोमिटर क्षेत्रभित्र मात्रै ४२ गैँडा मारिएका छन् । होटेलहरूको पाँच किलोमिटरको क्षेत्रभित्र मात्रै एक सय ७० गैँडा मारिएका छन् । त्यस्तै, १० किलोमिटरको क्षेत्रभित्र दुई सय ३२ गैँडा मारिएका छन् ।

समितिले पेस गरेको तथ्यांकअनुसार निकुञ्जभित्र अहिलेसम्म दुई सय ४६ गैँडा मारिएका छन् । तर, अचम्म ! होटेलहरू रहेको दस किलोमिटरभन्दा बाहिरको क्षेत्रमा अहिलेसम्म जम्मा १४ वटा गैँडा मात्रै मारिएका छन्, बाँकी सबै दस किलोमिटर क्षेत्रभित्रै मारिएका छन् ।

सबैको उपस्थितिमा समितिले यस्तो तथ्य सार्वजनिक गरेपछि होटेल सञ्चालकहरू भने 'आगो' भएका थिए । निकुञ्जभित्रका होटेलहरूले 'ब्रह्मलुट' मच्चाएको भनेको शब्दप्रति असहमति जनाउँदै होटेल सञ्चालकले सभासद्सित झगडा नै गरे ।

चितवन राष्ट्रिय निकुञ्जभित्रका सातैवटा होटेल/रिसोर्टको म्याद सकिएको छ । गत असार मसान्तभित्र ती सबैको करारनामा सकिएको छ । उनीहरूको नवीकरण गर्ने/नगर्ने सम्बन्धमा चर्को विवाद र बहस अहिले चलिरहेको छ ।

समितिले पेस गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै गैँडा वाइल्डलाइफ क्याम्पवरिपरि मारिएका छन् । क्याम्पको एक किलोमिटरवरिपरिको क्षेत्रमा मात्रै १० वटा गैँडा मारिएका छन् । त्यस्तै, पाँच किलोमिटरको क्षेत्रमा ४४ गैँडा मारिएका छन् भने दस किलोमिटरको क्षेत्रमा ६६ गैँडा मारिएको तथ्यांकमा छ । सो क्याम्पको दस किलोमिटरभन्दा बाहिरको क्षेत्रमा चारवटा गैँडा मात्रै मारिएका छन् ।

निकुञ्जभित्रको आइल्यान्ड जंगल लजवरिपरिको क्षेत्रमा ५२ गैँडा मारिएका छन् । लजको एक किलोमिटरभित्रको क्षेत्रमा ६ वटा र पाँच किलोमिटरभित्रको क्षेत्रमा ३४ गैँडा मारिएका छन् । समितिले पेस गरेको तथ्यांकअनुसार लजको दस किलोमिटर क्षेत्रभित्र ४८ गैँडा मारिएका छन् भने दस किलोमिटरभन्दा बाहिरको क्षेत्रमा चारवटा मात्रै मारिएका छन् ।

निकुञ्जभित्रको टाइगर टप्सवरिपरिको क्षेत्रमा ४२ गैँडा मारिएका छन् । सरकारी तथ्यांकअनुसार टाइगर टप्सको एक किलोमिटर क्षेत्रभित्र चार र पाँच किलोमिटर क्षेत्रभित्र ३६ गैँडा मारिएका छन् । त्यस्तै, दस किलोमिटर क्षेत्रभित्र ४२ गैँडा मारिएका छन् । टाइगर टप्सको दस किलोमिटरबाहिरको क्षेत्रमा भने एउटै गैँडा मारिएको छैन ।

सफारी नारायणी लजवरिपरिको क्षेत्रमा २८ गैँडा मारिएको सरकारी तथ्यांकमा उल्लेख छ । लजको एक किलोमिटरभित्रको क्षेत्रमा ६ र पाँच किलोमिटरभित्रको क्षेत्रमा १६ गैँडा मारिएका छन् । त्यस्तै, लजको दस किलोमिटरभित्रको क्षेत्रमा २६ गैँडा मारिएका छन् । सरकारी तथ्यांकअनुसार लजको दस किलोमिटरभन्दा बाहिरको क्षेत्रमा दुईवटा गैँडा मात्रै मारिएका छन् ।

त्यस्तै, चितवन जंगल लजको दस किलोमिटरभित्रको क्षेत्रमा २४ गैँडा मारिएका छन् । सो लजको एक किलोमिटरभित्रको क्षेत्रमा आठ र पाँच किलोमिटरभित्रको क्षेत्रमा १२ गैँडा मारिएको सरकारी तथ्यांक छ । निकुञ्जको टेम्पल टाइगर रिसोर्टवरिपरिका क्षेत्रमा पनि २४ गैँडा मारिएका छन् । सरकारी तथ्यांकअनुसार रिसोर्टको एक किलोमिटरभित्रमा आठ र पाँच किलोमिटरभित्रको क्षेत्रमा १४ गैँडा मारिएका छन् । त्यस्तै, दस किलोमिटरभित्रको क्षेत्रमा २० गैँडा मारिएका छन् भने दस किलोमिटरभन्दा बाहिरको क्षेत्रमा चार गैँडा मारिएको सरकारी तथ्यांकमा छ ।

निकुञ्जभित्रका होटेलमध्ये सबैभन्दा कम गैँडा मचान वाइल्ड लाइफ रिसोर्टवरिपरि मारिएको सरकारी तथ्यांक छ । सो रिसोर्टको एक किलोमिटरभित्रको क्षेत्रमा दुई र पाँच किलोमिटरभित्रको क्षेत्रमा ६ गैँडा मारिएका छन् ।

वातावरण र वन्यजन्तुविद्हरूले निकुञ्जभित्र होटेल सञ्चालन गर्दा जैविक विविधता संरक्षणमा बाधा पुगेको, वन्यजन्तुको वासस्थानमा अप्ठ्यारो उत्पन्न भएको तथा होटेलवरिपरि अधिकतम गैँडा मारिएको भन्दै निकुञ्जभित्रका होटेलहरूको नवीकरण नगर्न सुझाब दिइरहेक छन् । त्यस्तै, स्थानीय मध्यवर्ती क्षेत्रका बासिन्दाले पनि चोरी-सिकारी बढेको भन्दै होटेलहरूको नवीकरण नगर्न दबाब दिइरहेका छन् ।

गैँडाविशेषज्ञ तथा संसद्को प्राकृतिक स्रोत र साधन समितिका सहसचिव डा. रवि शर्मा अर्याल निकुञ्ज र जैविक विविधता संरक्षणका लागि निकुञ्ज स्थापना गरिएकाले पर्यटनका नाममा निकुञ्जभित्र होटेलहरू राख्न नहुने बताए । 'होटेलहरूका कारण जैविक विविधतामा बाधा भइरहेको छ, पर्यटन भनेको दोस्रो प्राथमिकताको विषय हो,' उनले भने ।

कार्यक्रममा होटेल सञ्चालकहरूका तर्फबाट टेम्पल टाइगरका वसन्तराज मिश्रले आफूहरूले वन्यजन्तु संरक्षण गरेको दाबी गरे । आफूहरूले ४४ वर्षदेखि मिहिनेत गरेर निकुञ्जलाई विश्वमा चिनाएको उनको दाबी छ । 'गैँडाको संख्या बढ्दाचाहिँ हामीलाई कुनै प्रोत्साहन नहुने, संख्या घट्दा भने हामीमाथि आरोप लगाउने ?' उनले भने ।

निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आएका स्थानीय बासिन्दाले भने होटेलका कारण निकुञ्जमा चोरी-सिकारी बढेको आरोप लगाउँदै होटेलका नाउँमा ब्रह्मलुट मच्चाएको आरोप लगाए । होटेल सञ्चालकले भने आफूहरूलाई समितिमा बोलाएर अपमान गरेको भन्दै सभासद् रमेश रिजालसित झगडा नै गरे । सभासद्लाई इंगित गर्दै उनीहरूले भने, 'यस ठाउँमा मान्छे बस्छन् कि, जंगली जनावर ? हामीलाई यहाँ अपमान गर्न बोलाउने ?' समितिमै आएका व्यवसायीले यस्ता शब्द बोल्दा पनि सभासद् रिजाल भने चुप्प थिए ।


सफारी नारायणी लज
०-१ किमिभित्र ६
१-५ किमिभित्र १०
५-१० किमिभित्र १०
१० किमिबाहिर २
चितवन जंगल लज
०-१ किमिभित्र ८
१-५ किमिभित्र १२
५-१० किमिभित्र ४
१० किमिबाहिर ०
गैँडा वाइल्ड लाइफ क्याम्प
०-१ किमिभित्र १०
१-५ किमिभित्र ३४
५-१० किमिभित्र २२
१० किमिबाहिर ४
टाइगर टप्स
०-१ किमिभित्र ४
१-५ किमिभित्र ३२
५-१० किमिभित्र ६
१० किमिबाहिर ०


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by