ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 15, 2009

दुई तस्बिर आफै बोल्छन्


  • परसन्न मुद्रामा प्रधानमन्त्री माधवकुमार नेपाल । गलामा माला, हातमा फूल, मुहारमा मुस्कान । कुनै विजयोत्सवको नायकजस्तै । तर होइन, उनी त असोजको बाढीले घरबार गुमाएका, भोकै परेका र आफन्तविहीन बनेका सुदूरपश्चिमवासीलाई सहानुभूति दिन पो पुगेका हुन् । तर, उनका हातमा जनतालाई दिन एउटा चाउचाउ छैन, लिन फूलैफूलै ।
  •  बाढीपीडितलाई सहयोग गर्न सर्वसाधारणले जम्मा गरेको ४० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा थन्किएको छ, तर प्रधानमन्त्री खाली हात हेलिकोप्टरमा गए, सदरमुकामभन्दा पर गएनन् र बाढीपीडितलाई भेटेनन् । पीडित सर्वसाधारणले राहत चाहियो भन्दै बझाङका सिडिओ कार्यालय घेर्दा प्रधानमन्त्रीको हेलिकोप्टर उडिसकेको थियो ।
छत्र साउद/डडेल्धुरा
नेपालगन्जमा ठाकुरसिंह थारू

करोडौं खर्चेर सहानुभूति दिन आएका प्रधानमन्त्री नेपाल बाढीपीडितलाई राहतका नाममा हेलिकोप्टर देखाएर फर्किएका छन् । असोजको बाढीपहिरोले सुदूरपश्चिमलाई अस्तव्यस्त पारेको १० दिनपछि अवलोकन गर्न आएका प्रधानमन्त्रीले कुनै राहत नदिएपछि सर्वसाधारण निराश भएका छन् ।

१० दिनपछि प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री चढेको हेलिकोप्टर विभिन्न जिल्लाका सदरमुकाममा मात्रै बस्यो । सदरमुकामहरूमा पनि पाँच/सात मिनेट मात्रै बस्दै प्रधानमन्त्रीले राहत होइन, आश्वासन बाँडे । राहत अभावमा भोकभाकै बस्नु परिरहेको गुनासो गर्दै बाढीपीडितहरूले जिल्ला प्रशासन कार्यालय धाएर गुनासो गरिरहेका छन् ।

१७ असोज रातिदेखि सुरु भएको अविरल वषर्ापछि आएको बाढीले ६८ जनाको ज्यान लिएको थियो भने हजारौं विस्थापित छन् । त्यस्तै सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्ग अवरुद्ध छ । खाद्यान्न, औषधि र दैनिक उपभोग्य वस्तुको समेत अभाव छ । तर, सडक खोल्न डोजर चलाउने सुरसारसमेत छैन ।

बाढीपीडितहरू दस दिनदेखि भोकभोकै र खुला आकाशमुनि जीवन बिताउन बाध्य छन् । गृहमन्त्री भीम रावलले भ्रमण गरेको तीन दिनपछि सुदूरपश्चिम पुगेका प्रधानमन्त्रीले सार्वजनिक रूपमा राहत वितरणमा राज्य संयन्त्र कमजोर भएको स्विकारे । अब राहत तत्काल पुर्‍याउने आश्वासन दिएर फर्किए ।

डडेल्धुरामा प्रधानमन्त्री नेपालले प्रमुख जिल्ला अधिकारी राजेन्द्र घिमिरेलाई सोधे, 'रकम जिल्ला पुग्यो कि पुगेन ?' अर्थमन्त्री सुरेन्द्र पाण्डेतर्फ हेर्दै प्रजिअ घिमिरेले जवाफ दिए, 'आइपुगेको छैन, आशामा छौँ ।'

प्रधानमन्त्री हेलिकोप्टरमा आएर पनि प्रभावित क्षेत्र पुगेनन् । 'प्रधानमन्त्री आफ्नो गाउँमा पुग्ने आशा गरेका थियौँ,' मष्टमाडौंका हिक्मत देउवाले भने, 'राहत पाउनु त परै जाओस्, प्रधानमन्त्रीको मुखसमेत देख्न पाएनौँ ।' बाढी र भीषण पहिरोले डडेल्धुरामा मात्रै १४ जनाको मृत्यु भएको थियो । प्रशासनले अहिलेसम्म जिल्लामा भएको क्षतिको यकिन विवरणसमेत तयार गर्न सकेको छैन ।

बाढी प्रभावित क्षेत्रमा नगएका प्रधानमन्त्री नेपालले बझाङमा नेपाली सेनाको ब्यारेकमा पाँच-सात मिनेट बिताए भने अछाम र डडेल्धुरामा पनि त्यति नै समय बसेर फर्किए । प्रधानमन्त्रीले न कुनै पीडितलाई भेटे न कसैलाई राहत दिए । अर्थमन्त्रीलाई सँगै लिएर आएका प्रधानमन्त्रीले बाढीपीडितका लागि ठूलै प्याकेजको घोषणा गर्ने आशा गरेका स्थानीय नेता र सर्वसाधारण प्रधानमन्त्रीको हेलिकोप्टर उडेपछि निरास भए ।

हेलिकोप्टरबाटै कैलालीबाट बर्दियाको सदरमुकाम गुलरिया पुगेका उनले बाढीपीडितलाई सहयोग गर्ने आश्वासन दिए । त्यसलगत्तै नेपालगन्जको राँझा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बाढीपीडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने प्रतिबद्वता जनाए । 'राहत नपाएर एकजना जनता पनि भोकै नमरोस्, यसतर्फ हामी सचेत छौँ,' प्रधानमन्त्री नेपालले भने, 'त्यसैले बाढीपीडितका लागि राहतको मात्रा बढाउने प्रयासमा छौँ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by