गुणराज लुइँटेल/मणि दाहाल, काठमाडौं असोज २७- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै नेपालीमाझ खुशी जोडिएको छ। त्यसको कारण हो : अमेरिकाको इन्डियाना विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक एलिनोर ओस्ट्रोमले नेपालमा रहेर गरेको साझा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी अध्ययन। पुरस्कारको घोषणासँगै अमेरिकाको न्यू मेक्सिको युनिभर्सिटीका प्राध्यापक आलोक बोहोराले 'नेपालमा गरिएको अध्ययनले अर्थशास्त्रतर्फको नोबेल प्राप्त गर्यो' शीर्षकमा इमेल पठाएका छन्। उनी लेख्छन्, 'यो वर्षका अर्थशास्त्रतर्फका नोबेल पुरस्कार प्राप्त गर्नेमध्य एक, इन्डियाना युनिभर्सिटीकी एलिनोर ओस्ट्रोम, नेपालमा गरिएको अनुसन्धानका निम्ति पुरस्कृत भएकी छिन्।
'ओस्ट्रोमको अनुसन्धानले स्थानीय समुदायले सदैव जंगल, ताल र मत्स्यपालनजस्ता साझा प्राकृतिक स्रोतको बाहिरीया निकायले थोपरेको भन्दा राम्रोसँग व्यवस्थापन गर्न सक्छन् भन्ने देखाएको' नोबेल कमिटीले बताएको छ। उनीसँगै यस विधामा पुरस्कृत ओलिभर विलियमसनले समेत सामुदायिक संस्थाको भूमिकाबारे अनुसन्धान गरेका छन्।
अर्थशास्त्रतर्फको यसपटकको पुरस्कारले यसअघिका परम्परालाई दुई हिसाबले तोडेको छ। पहिलो, सन् १९६८ मा पुरस्कार स्थापना भएको ४० वर्षपछि महिलालाई प्रदान गरिएको छ। दोस्रो, यो पुरस्कार अर्थशास्त्र विधामा सीमित रहेकोमा यसपटक समाजशास्त्र विधातर्फ पुगेको छ। यो पुरस्कार अर्थशास्त्र विधाले मात्र पाउनुपर्छ भन्नेलाई बेखुसी तुल्याए पनिसामुदायिक अधिकारका विषयमा गरिएको अध्ययनलाई पुरस्कृत गरेर यस क्षेत्रमा कार्यरत धेरैलाई उत्साहित तुल्याएको छ।
ओस्ट्रोमका नेपालसम्बन्धी अध्ययनलाई आधार मानेर विद्यावारिधी पूरा गर्ने गैर सरकारी संस्था महासंघका अध्यक्ष नेत्र तिमल्सिना खुशी व्यक्त गर्दै नागरिकसँग भन्छन्, 'सामुदायिक अधिकारका लागि क्रियाशील हाम्रा लागि योभन्दा ठूलो खुसीको कुरा के हुन सक्छ?'
'समुदायकले प्राकृतिक स्रोतको व्यवस्थापन गर्यो भने त्यो निजी क्षेत्रले भन्दा राम्रो गर्न सक्छ भन्ने उदाहरण उनले नेपालबाटै प्रस्तुत गरेकी छिन्,' आफ्नो विद्यावारिधीका क्रममा उनका लिटरेचरकै आधारमा फ्रेमवर्क तयार पारेको स्मरण गर्दै तिम्सिनाले भने।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सले ओस्ट्रोमलाई उनको आर्थिक सुशासनबारे गरेको विश्लेषणका लागि' यो पुरस्कार प्रदान गरेको जनाएको छ। कमिटीले कसरी सामाजिक संस्थाहरूले द्वन्द्वलाई रोक्न सफल हुन्छ भन्ने विषयमा उनको अध्ययन केन्द्रित रहेको जनाएको छ।
अमेरिकी टेलिभिजन सिएनएनसँग कुरा गर्दै ओस्ट्रामले भनेकी छन्, 'कर्मचारीसँग कहिलेकाहीं सही सूचना नहुन सक्छ, जब कि नागरिक र स्रोतका उपभोक्तासँग सँधै हुने गर्छ।'
पुरस्कार प्राप्त गरेपछि प्रतिक्रिया दिदै उनले आफूले ५ करोड ३७ लाख रुपैया के गर्ने भनेर नसोचेको बताएकी छिन्। उनले अधिकांश अनुसन्धान नेपाल, केन्या र नाइजेरियामा केन्द्रित गरेको इण्डियाना विश्वविद्यालयले जनाएको छ।
उनले सन् १९८८- ९१ सम्म नेपालमा विकेन्द्रीकरणः वित्तीय तथा व्यवस्थापन परियोजनाको सदस्यका रूपमा काम गरेकी थिइन्। त्यसैगरी फोर्ड फाउण्डेसनका सिंचाइँसम्बन्धी परियोजना प्रमुख तथा राष्ट्रसंघीय विकास कार्यक्रमको तराई क्षेत्रमा पार्क एण्ड पिपुल्स परियोजनाको प्रमुख अनुसन्धानकर्ताका रूपमा काम गरेकी थिइन्।
पुरस्कार प्राप्त गरेपछि स्वीडिस टेलिभिजनलाई प्रक्रिया दिदै उनले पुरस्कार जित्ने पहिलो महिला हुँदा आश्चर्यचकित भएको बताइन्।
पुरस्कार घोषणाका क्रममा नेपाललाई उल्लेख गरिएका कारण यसले सकारात्मक प्रभाव पार्ने साझा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा कार्यरत नेपालीले बताएका छन्। उनको यो अध्ययनले स्थानीय सामुदायिक संस्थाले प्रजातन्त्रलाई समेत प्रचलनमा ल्याउन मद्दत पुग्छ भन्ने पुष्टि भएको धारणा उनीहरूको छ।
'प्रजातान्त्रिक अभ्यासलाई प्रचलनमा ल्याउन समेत स्थानीय सामुदायिक संस्थाले सहयोग पुर्याउन सक्छ,' तिम्सिना भन्छन्, 'यसले प्रजातन्त्रलाई सुदृढ गर्नसमेत मद्दत पुग्छ।'
उनले गरेका अनुसन्धान र दर्जनौं प्रकाशनमा नेपाललाई समावेश गरिएको छ। यतिमात्र होइन, उनीसँग अनुसन्धान गर्ने नेपाली विज्ञहरूले समेत प्राज्ञिक क्षेत्रमा योगदान गरिरहेका छन्। केहीले उनको प्रत्यक्ष मार्गदर्शनमा विश्वविद्यालयको अनुसन्धान समेत पूरा गरेका छन्।
No comments:
Post a Comment