ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

नक्कली शरणार्थीविरुद्ध मुद्दा

नयाँ पत्रिका - झापा 
भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेका तीन नेपालीसहित पाँचजनाविरुद्ध प्रहरीले ठगी तथा किर्ते जालसाझी मुद्दा दायर गरेको छ । काठमाडौंका उत्तम गुरुङ, धनकुटाका दीपेन मानन्धर र सोही ठाउँका जुबु गुरुङसहित अन्य दुई भुटानी शरणार्थीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दायर गरिएको हो । शरणार्थी बनाएर तीन नेपालीलाई अमेरिका पठाउन खोज्ने शरणार्थी शिविर बेलडाँगी-२ का पूर्वसचिव देवराज प्रधान र सोही शिविरको छाप्रा नम्बर ७८ का भुटानी शरणार्थी मकरबहादुर गुरुङलाई पनि सोही महलअन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन कार्कीले बताए ।

उनीहरू सबैलाई तीन दिनअघि झापाको दमकबाट प्रहरीले पक्राउ गरेको थियो । शरणार्थी बन्ने प्रक्रिया पूरा गरी पुनर्वासका लागि अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) समक्ष अन्तर्वार्ता दिन जानु अघिल्लो दिन ती नेपाली पक्राउ परेका हुन् । पक्राउ परेका तीनैजना नेपालीलाई मकरबहादुरले आफ्ना छोरा भएको बताउँदै शरणार्थीको परिचयपत्र दिलाएको अनुसन्धानका क्रममा खुलेको थियो । 'सो कामका लागि शिविर सचिव प्रधानले सहयोग गरेका रहेछन्,' कार्कीले भने ।

पक्राउ परेका तीनैजना नेपालीले गतवर्ष शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले उपलब्ध गराएको शरणार्थी परिचयपत्रसमेत लिएको खुलासा भएको छ । सो परिचयपत्र लिएपछि उनीहरूले शरणार्थीले पाउने सुविधासमेत लिँदै आएका थिए । घटनाको विषयमा प्रहरीले शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालयलाई जानकारी गराएको छ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by