ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 13, 2009

नेपाली डायस्पोरा


चरित्र, प्रवृत्ति र सम्भावना

नेपाली डायस्पोराका राम्रा र नराम्रा पक्ष अनि यसका विविधतामाथि केन्दि्रत रहेर 'नयाँ पत्रिका’ले प्रा.डा. सूर्य सुवेदीसँग केही महिनाअघि गरेको संवाद एनआरएन अंकका लागि हामीले अझ बढी सामयिक ठानेका छौँ ।


म ५२ वटा देश गएको छु । पछिल्लो एक दशकमा मैले युरोप, अमेरिका, क्यानाडा, अस्टे्रलिया, सिंगापुर, मलेसिया, जापान र खाडीका मुलुकहरू गरी ३०/३२ वटा देशका नेपाली डायस्पोराको जीवनलाई अलि नजिकबाट हेर्ने मौका पाएँ । यीमध्ये सबैभन्दा राम्रोसँग बसेको डायस्पोरा अमेरिका र बेलायतमा भेटेँ, सबैभन्दा दुःखसँग खाडी र मलेसियामा ।

संसारको कुनै पनि कुनामा भेटिन सक्छन् नेपाली । अफगानिस्तान र इराकमा तालिवान र अलकायदासँग फ्रन्टलाइनमा लडिरहेको सिपाही । बु्रनाइका सुल्तानको कुनै अंगरक्षक वा चौकीदार । सिंगापुरको कुनै पुलिस । दिल्लीका आवासीय क्षेत्रमा मध्यरातमा 'खबरदार' भन्दै चिच्याइरहेको कुनै बहादुर । बेल्जियमको एन्त्रोपमा कुनै पाकिस्तानीको पसलमा फोनकार्ड बेचिरहेको बिक्रेता । लन्डनका अस्पतालका भुइँ पुछिरहेको कुनै सफाइ-कर्मचारी । हिथ्रो एयरपोर्टको कुनै पोर्टर । साउदीको कुनै भेँडा गोठालो । इजरायलकी कुनै घरेलु कामदार । तर, नेपालीको परिचय क्रमशः सुकिलो र फराकिलो हुँदै गएको छ ।

विदेश जाने नेपाली तीन किसिमका छन् । पहिलो, अदक्ष जनशक्ति, जो तल्लोभन्दा तल्लो तहको काम गर्न जान्छ । त्यो खासगरी खाडी र दक्षिणपूर्वी एसियामा छ । अर्को, अर्धदक्ष समूह छ, जो युरोप-अमेरिका गरेर अध्ययन र सीप बढाउँछ, अनि त्यही समयमा अदक्ष मजदुरका रूपमा काम पनि गर्छ । अर्को, दक्ष जनशक्ति हो, जो ज्ञान र अवसरको खोजी एवं व्यक्तिगत-पारिवारिक समुन्नति तथा 'करिअर'का लागि जान्छ ।

नेपाली दक्ष जनशक्तिको संख्या खाडी र दक्षिणपूर्वी एसियामा झन्डै १० प्रतिशत छ । तर, तीमध्ये अधिकांश अदक्ष कामदारकै रूपमा कार्यरत छन् । युरोप-अमेरिकामा ३० देखि ४० प्रतिशत जनशक्ति दक्ष छ तर अधिकांशले दक्षताअनुरूप काम पाएका छैनन् । मुलुकबाहिर पनि दक्ष जनशक्तिकै रूपमा काम गर्ने दक्ष नेपाली जनशक्तिको संख्या दुईदेखि तीन प्रतिशत मात्र छ । निकै सानो नेपाली डायस्पोरा मात्र स्रोत-साधन सम्पन्न छ । तर, वास्तविक प्रोफेसनल मानिसले बेलायत र अमेरिकामा निकै राम्रो गरेका उदाहरण पनि छन् । बेलायतमा नेपाली डाक्टरको संख्या झन्डै तीन सय छ । प्रतिष्ठित बेलायती विश्वविद्यालयमा प्राध्यापनमै लागेका नेपाली पनि एक दर्जन भइसकेका छौँ ।

तोरी र डोरीलाहुरेका कारण नेपालको छविमा ठूलो ह्रास ल्याएको छ । नेपालीहरू अर्कैका लागि लड्ने, अर्कैको भारी ओसार्ने र अर्कैको इँटा बोक्ने हुन् भन्ने छवि निर्मार्ण भएको छ । खासगरी खाडी र दक्षिणपूर्वी एसियामा नेपालको प्रतिष्ठामा ठूलो ह्रास आएको छ । विदेश पलायनले गर्दा पहाड निर्जनसरह हुँदैछ । युवा छैनन्, लासलाई काँध दिने मान्छे भेट्न कठिन हुँदैछ । पहाडको उत्पादकत्व गणितीय हिसाबले घटेको छ । पहाडी र हिमाली क्षेत्रमा दिगो जीवनयापनको सपना झन् घट्दै गएको छ ।

भारतीय र चिनियाँका तुलनामा नेपाली डायस्पोरा निकै कमजोर छ । यसको एउटा कारण शिक्षा हो । नेपालमा शिक्षाको गुणस्तरमा ह्रास आएपछि नेपालीले बाहिर गएर उपयुक्त प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ । फेरि, नेपाली महत्त्वाकांक्षी होइन, 'कम्प्रोमाइजिङ क्यारेक्टर' को छ । थोरै पैसामा पनि काम गर्न तयार हुन्छ । पछि पर्नुको अर्को मुख्य कारण के भने नेपाली कान्छो डायस्पोरा हो । अहिले विदेशमा गएर संघर्ष गरेको यो पहिलो पुस्ता हो जब कि भारत र चीनको तेस्रो पुस्ता छ त्यहाँ । हाम्रो डायस्पोरा अहिले पनि आफूलाई स्थापित गर्न संघर्षरत छ जब कि भारतीय र चिनियाँ निकै अघि छन् ।

दक्षिण एसियामा अरू डायस्पोरामा एकता छ । भारतीय सबैभन्दा पहिले आफूलाई भारतीय भनेर चिनाउँछन् र यही एउटा परिचयमा अडिन्छन् । नेपालीहरू पहिले कांग्रेस, एमाले वा माओवादी हुन्छन् या बाहुन, गुरुङ, नेवार, मगर हुन्छन्, अनि बल्ल नेपाली ।

अधिकांश नेपालीमा व्यावसायिक होइन, जागिरे मनोवृत्ति छ । किनकि जागिरे पृष्ठभूमिकै मान्छे बढी बाहिर गएका छन् । व्यवसाय गरे पनि रेस्टुरेन्ट बढी छन् । यो पाकिस्तानी र बंगलादेशीको सिको हो । जाँदा-जाँदै गर्ने र देख्ने काम त्यही भएर पनि यसो भएको छ । नेपालीहरू सामान्यतः 'रिस्क टेकर' होइनन्, जोखिम लिन्नन् । बाहिरतिर आइडिया बेच्ने हो, पुँजी बैंकबाट लिने हो । त्यसैले नेपालका तुलनामा व्यवसाय गर्न युरोप र अमेरिकामा निकै सजिलो छ, तर नेपालीसँग 'एक्सपोजर' छैन । पहिलो पुस्ता भएकाले धेरैलाई थाहा पनि छैन । फेरि, नेपाली सबैभन्दा पहिले घर किन्छन् । यसरी पुँजी त्यहीँ सकिन्छ । नेपालको संस्कार त्यहाँ पनि छ । अरू पाँच पाउन्ड छ भने दस पाउन्ड बनाउन खोज्छन्, नेपाली पाँच पाउन्डमै कसरी राम्ररी बाँच्न सकिएला भनेर सोच्छ । नेपाली सीमित सपना भएको जाति हो ।

अधिकांश नेपाली युवा पढ्न भनेर जान्छन्, तर पढ्दैनन् । क्षणिक लाभ हेर्छन् र अदक्ष काममै सीमित हुन्छन् । सुरुमा उतै बस्ने भन्ने सोच र प्रवृत्ति थिएन । तर, ग्लोबलाइजेसनले सिर्जना गरेको अवसर अनि नेपालको बिग्रँदो राजनीतिक-आर्थिक स्थितिले पनि उतै बस्ने प्रवृत्ति बढ्यो । यसबाट रेमिटेन्स बढ्यो । नेपाल राष्ट्र संसारभरि छरियो । 'हामी नेपाली मेचीदेखि महाकाली' भन्ने राष्ट्रिय गीत नै अपुरो भयो किनकि नेपाली अब संसारभरि छरिइसक्यो । दोस्रो पुस्ताको नेपालीले राम्रो गर्‍यो भने नेपालमा लगानीका दृष्टिले धेरै सुविधा हुनेछन् । डायस्पोराको दोस्रो र तेस्रो पुस्ताले भारत र चीनलाई दिएजस्तो योगदान नेपालीको दोस्रो पुस्ताले पनि दिन सक्छ । अनि, त्यही देशको नीति-निर्माण र नेपालसम्बन्धी दृष्टिकोणमा पनि प्रभाव पार्न सक्छ ।

उतै बस्ने प्रवृत्तिका नराम्रा पक्ष पनि छन् । धरान र पोखराजस्ता लाहुरेका सहरको रंग खुइलिँदै छ । पेन्सन कम पाउने र श्रम गर्न नसक्नेले दुःखको जीवन बिताएका छन् । लाहुरेका छोराछोरी दिग्भ्रमित भएर ड्रग्समा लागेका र कतिपय त पहिलो पुस्ता नै बिगि्रएको पनि छ ।

सबै युवा विदेश हिँडेपछि, दक्ष र अदक्ष दुवै बाहिर गएपछि देश कसले बनाउँछ भन्ने प्रश्न पनि उठ्ला । तर, मलाई त्यस्तो लाग्दैन । योजनाको कुरा हो, भिजन भयो भने गएका र्फकन्छन्, जाने तयारीमा रहेकाहरू पनि अडिन्छन् । आखिर कतार पनि त कतारीले होइन, दक्षिण एसियालीले बनाएका हुन् । कतारीलाई त बेल्चा समाउन पनि आउँदैन । एउटा बेलायतीले भन्यो- 'हाम्रो उपनिवेश गएको छैन । हिजो पनि हामीसँग नोकर थिए, आज पनि छन् । हिजो नोकर राख्दा हामीलाई लाञ्छना लगाइन्थ्यो, हामी 'साम्राज्यवादी' मानिन्थ्यौँ । आज सिद्धान्तवादी भएरै नोकर राख्छौँ ।'

कतारमा चारजना अदक्ष नेपालीबराबर एउटा अर्धदक्ष दक्षिण भारतीयले कमाउँछ । चारजना अर्धदक्ष भारतीयबराबर एक लेवनानी वा इजिप्सियनको कमाइ छ । चार लेवनानीबराबर एक पूर्वी युरोपेली र चार पूर्वी युरोपेलीबराबर एक प|mेन्च वा जर्मनेलीले कमाउँछ । र, तिनको पनि डेढी बेलायती र अमेरिकीले कमाउँछन् ।

डायस्पोराले दिन सक्ने पहिलो करा हो, ज्ञान । दोस्रो, सीप । तेस्रो, प्रबन्धकीय कौशल । चौथो, अनुभव । र, पाँचौं, पैसा । नेपालमा निकै ठूलो लगानी गर्न सक्ने नेपाली लगभग डेढ दर्जन छन् । अत्यन्त ठूलोचाहिँ औंलामा गन्न सकिनेछन् ।

एकथरी नेपाली डायस्पोरालाई पलायनवादी र स्वार्थी मान्छन् । तर, त्यो गलत हो । राष्ट्रवादको भीमनिधि मोडललाई ग्लोबलाइजेसनले फेल गराइसकेको छ । मैले भारत-नेपाल सम्बन्धको कानुनी पक्षमाथि किताब लेखेँ, बेलायतमा बसेर । त्यो स्तरको ग्रन्थ नेपालमा भएको भए म लेख्न सक्दिनथेँ । अहिलेको दुनियाँमा तपाईं कहाँ हुनुहुन्छ भन्ने कुराले निकै कम अर्थ राख्छ ।

बीसौँ शताब्दीको सुरुमै एउटा बेलायती लेखकले नेपाललाई फोहोरको थुप्रो र 'क्राउडेड' देश भनेको थियो । नेपालले अब नेपालभित्रै आफ्नो जनसंख्या थेग्न सक्दैन । हिमाल र पहाडलाई विकास नगरी त झन् त्यो सम्भावना अलिकति पनि छैन ।

नेपालका लागि सबैभन्दा आकर्षक गन्तव्य अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडा हुन् । छिटो पैसा कमाउने हिसाबले जापान पनि । यसअघि नेपाली लाहुरे भएर या बि्रटिस फौजमा जान्थे या दिल्लीमा चौकीदारी गर्थे । अब दायरा फराकिलो भयो । श्रमको विविधता र भूमण्डीकरणले यो सम्भव भयो ।

मलाई लाग्छ, लाहुर जाने प्रवृत्ति अझै दस वर्षसम्म बढ्छ । सरकारले दीर्घकालीन सोच देखायो भने पनि दस वर्षअघि यो क्रम घट्दैन । त्यो सोच देखिएन भने त यो क्रम झन् बढ्छ । दक्षिण एसियाकै तुलनामा आउन पनि नेपाललाई दस वर्ष लाग्छ । राजनीतिक-कागजी उपलब्धि त भएको छ । तर, जनताको प्रत्यक्ष दैनिक जीवनमा के फरक परेको छ ?

डायस्पोरालाई नेपालसँग जोड्ने कडी थुप्रै छन् । पहिलो, नेपालीत्वको भावना र संस्कार । धेरैका दुईतिर परिवार छन् । हामी नेपाली सुरुदेखि नै बहुसांस्कृतिक सोचका हुनाले बाहिर घुलमिल गर्न सजिलो छ । हामीमा सानो राष्ट्रको अनुभूति छ । यो असुरक्षाको अनुभूतिले पनि नेपालीलाई जोडेको छ ।



कहीँ गएर पनि नछुट्ने नेपालीका बानी थुप्रै छन् । नेपाल बिग्रियो भन्ने, अनलाइन पढ्ने, गुणस्तर भए पनि नभए पनि लोकल पत्रिका निकालिहाल्ने, नेपालीकै बीचमा नेता हुनुपर्ने, सकेसम्म धेरै गफ दिनुपर्ने । दक्षिण एसियामै सबैभन्दा गफाडी जाति नेपाली हो । नेतागिरीका कारण नेपालका अधिकांश पार्टीले तोरी र डोरीलाई शोषण गर्छन् । चन्दा लिन्छन् । तर, केही दिन्नन् । संविधानसभामा गैरआवासीय नेपालीका एउटा पनि प्रतिनिधि छैन । अधिकांश नेपालीले गर्ने 'पोलिटिकिङ' हो, 'पोलिटिक्स' होइन । पोलिटिक्समा आस्था हुन्छ, नीति हुन्छ, पोलिटिकिङमा केही हुन्न ।

हरेकपटक नेपाल आउँदा यस्तो सुन्दर बनाउन सकिने देश दिनदिनै भत्किरहेको र बिग्रिएको छ भन्ने लाग्छ । बेलायतमा म अस्ति आउनुभन्दा डेढ महिनाअघिसम्म घाम लागेन । नेपाल आउँदा विचित्रको प्रकृतिको मुस्कानले स्वागत गरेको पाएँ । प्रकृतिले वरदान दिएको र राजनीति श्राप दिएको मुलुक हो यो । अक्षम, मौकापरस्त र संस्कारहीन नेताहरूको झुन्ड हाबी छ, सबै दलमा ।



विदेशीहरू भन्छन्- नेपालीहरू जानाजान देश बिगार्दै छन् । विभिन्न प्रकृतिविद् र वैज्ञानिकहरू नेपाललाई साह्रै माया गर्छन्, नेपालीलाई भन्दा नेपाललाई । तर, त्यो मायाको सदुपयोग गर्ने क्षमता राजनीतिक नेतृत्वमा देखिएन ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by