ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 14, 2009

गैरआवासीय नेपालीलाई लगानी गर्न आह्वान

काठमाडौं, असोज २८ (नागरिक)- चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन विदेशमा बस्ने नेपालीको लगानी, रेमिट्यान्सलगायत विविध आर्थिक मुद्दामा छलफलबाट सुरु भएको छ। मंगलबार उदघाटन क्रममा राष्ट्रपति रामवरण यादव, उपप्रधानमन्त्री सुजाता कोइराला र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले लगानीका लागि विदेशमा बस्ने नेपालीलाई आव्हान गरेका हुन्। राष्ट्रपति यादवले पूर्वाधार विकास, जलविद्युत आयोजना निर्माण, वातावरण न्यूनीकरणजस्ता क्षेत्रमा गैरआवासीय नेपालीलाई लगानी गर्न आग्रह गरे। उनले राजनीतिबाट टाढा रहेको यस व्यावसायिक संस्थाले नेपालको विकासका लागि आवश्यक दक्षता, सीप, पुँजी र प्रविधि ल्याउन सक्ने भएकाले उनीहरूको लगानीबाट प्रभावका विकास हुनसक्ने बताए।

महासंघका अध्यक्ष कुशकुमार जोशीले कानुन बनिसकेकाले लगानी अझै बढ्ने अपेक्षा गरेको बताए। एनआरएन, महासंघ र निर्माण व्यवसायी महासंघले काठमाडौं- हेटौंडा फास्ट ट्रयाक बनाउने प्रस्ताव सरकालाई दिएको बताए। जोशीले यस्ता पूर्वाधार योजनामा लगानी गर्न विदेशमा बस्ने नेपालीलाई अनुरोध गरे। 'एनआरएनबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्दै आएको छ,' उनले भने, 'एनआरएनले आर्जन गरेको सीप, पुँजी र प्रविधि नेपालमा उपयोग गर्ने कार्यलाई संस्थागत स्वरूप दिनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो।'

लगानीका लागि गरिएको आव्हानलाई सम्बोधन गर्दै एनआरएनका अध्यक्ष उपेन्द्र महतोले नेपाल आर्थिकरूपमा मात्र कामजोर भएको बताए। 'यो खाडल विदेश बस्ने नेपालीले पुर्न सक्छन्। विदेशी दातृ निकायमा मात्र निर्भर नहोऔं। हामी पनि केही गर्न सक्षम हुदैं आएका छौं, महतोले भने, 'सबै ठिक भएपछि विदेशी नै आउँछन्। अहिले नेपालीका लागि लगानीको वातावरण छ।' नेपालीले नेपाल बनाउन सुरु गरेमा विदेशी यहाँ आउन लाममा बस्ने उनले बताए। 
'नेपाललाई विदेशीले भन्दा विदेशमा बस्ने नेपालीले राम्र बुझेका छन्। र, उनीहरूले लगानी ल्याउन सक्नेछन,' उनले भने। समृद्ध र धनी भनिएका मुलुकमा समेत शान्ति सुरक्षाको समस्या रहेको उनले बताए। 'यस अर्थमा हेर्दा नेपाल स्वर्ग जस्तो देखिन्छ,' उनले भने। आवतजावत सहज बनाउन र लगानी गर्न सजिलो बनाउन मात्र एनआरएनले दोहोरो नागरिकता खोजेको महतोले बताए। 'राजनीति गर्न, संवैधानिक निकायमा नियुक्तिका लागि खोजिएको होइन,' उनले दोहोरो नागरिकता आंशिक अधिकारका लागिमात्र भएको स्पष्ट पारे।

परराष्ट्रमन्त्री कोइरालाले गैरआवासीय नेपालीलाई नागरिकता दिने सम्बन्धमा सरकार सचेत रहेको र सहमतिका आधारमा निर्णय लिइने बताइन्। एनआरएन सम्बन्धी ऐन २०६४ तथा यसको नियमावली २०६६ ले गैरआवासीय नेपालीले नेपालमा घरजग्गा खरिद गर्न, बैंक खाता राख्न, लगानी गरी त्यसको लाभ फिर्ता लैजाने व्यवस्था गरेको छ।

कोइरालाले एनआरएनलाई समेत समेटेर लगानी प्रवर्द्धनका लागि सल्लाहकार बोर्ड गठन गर्ने, उनीहरूमार्फत् आर्थिक कुटनीति अगाडि बढाउने, नेपाल बिजनेस फोरम गठन गर्ने र रेमिट्यान्स पठाउनेलाई विशेष सुविधा दिइने जानका दिइन्।


सम्मेलनको सत्रमा अर्थसचिव (राजस्व) कृष्णहरि बास्कोटाले नेपालमा लगानीको वातावरण छैन भन्ने भनाइ गलत भएको बताए। सरकारले विशेष सुरक्षा योजना ल्याएको र पूर्वाधार निमार्णमा जोड दिएको उनले बताए। उनले ढुक्क भएर नेपालमा पुँजी लगाउन आग्रह गरे।

'शान्त र समृद्ध नेपाल हाम्रो साझा सपना' भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा ५२ देशका ५ सयभन्दा बढी एनआरएनको सहभागिता छ। विश्व आर्थिक मन्दीको अवस्थामा वैदेशिक रोजगा, आर्थिक कुटनीति, लगानी व्यापारलगायत विभिन्न १० सत्रमा छलफल सुरु भएको छ। छ वर्षदेखि सुरु भएको एनआरएन सञ्जाल विस्तार भई ५५ देश पुगेको छ।

एनआरएनको तर्फबाट हालसम्म ३० करोड अमेरिकी डलर अर्थात् करिब २० अर्ब रुपैयाँ लगानी भित्रिएको छ। एनआरएनले नेपालका बैंक, सञ्चार, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन्। सम्मेलनमा नयाँ नेतृत्व चयन र चौथो विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by