ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 17, 2009

दिदीबहिनीका नजरमा माओवादी नेता



नेत्र पन्थी/ नयाँ पत्रिका
माओवादी नेताहरू चाडबाडलाई त्यति महत्त्व दिँदैनन्, तर आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पाउने हरेकका अधिकारलाई भने सम्मान गर्नेे बताउँछन् । उनीहरू दसैँ-तिहारजस्ता चाडपर्व मनाउन कसैलाई रोकतोक गर्दैनन् । र, आफूहरू पनि मनाउनमा व्यस्त देखिँदैनन् । अहिले तिहार लागेको छ नेपालीलाई । तर, माओवादी नेतालाई तिहारको त्यति चटारो छैन । तैपनि, उनीहरूका दिदीबहिनीचाहिँ तिहारमा आ-आफ्ना दाजुभाइलाई टीका लगाउन उत्साहित रहेछन् । युद्धकालमा टीका लगाउन नपाएका माओवादी नेताका दिदी-बहिनीले यसपालि आफ्ना दाजुभाइका निधारमा टीका र गलामा मखमली फूलको माला पहिराउन चाहेका छन् ।

हरेक वर्ष तिहार आउँदा माओवादी अध्यक्ष प्रचण्डकी बहिनी अप्सरा भण्डारीलाई दाजुभाइको खुबै सम्झना आउँछ । तर, प्रचण्ड ठहरिए राजनीति गर्ने मान्छे, बहिनीले चाहेका बेला भेट्न सक्दिनन् उनलाई । अप्सरा भन्छिन्, 'कहिले मेलापर्वसित उहाँको विचारको तालमेल मिल्दैन, कहिले समय र परिस्थिति मिल्दैन । त्यसैले, तिहारमा नियमित भेट हुँदैन ।' तर हरेक तिहारमा याद आउँछ उनलाई आफ्ना दाजुभाइको । 'सँगै बसेर मनाउन पाए त राम्रो हुने थियो नि,' उनले सुनाइन्, 'हामी पाँच बहिनी छौँ । म जेठी हुँ । एउटी बहिनी छैनन् अहिले । यसपालि तिहारमा पनि दाइसँग भेट हुदैन । म चितवनमा छु, उहाँ विदेश जानुभएको छ ।'

प्रचण्ड र उनकी बहिनी अप्सराको तिहारमा भेट नभएको यसपालि १६ वर्ष हुन्छ । उनले विगत सम्भिइन्, 'उहाँसँग १५ वर्षअगाडि बागबजारमा तिहार मनाइएको थियो ।'

पहिला-पहिला टीका लगाउँथे प्रचण्डले । प्रचण्ड भूमिगत भएपछि तिहारको परम्परा नै हराएजस्तो भयो उनका बहिनीहरूलाई । 'दुई-चार वर्ष त बढी नै नरमाइलो लाग्यो,' अप्सरा भन्छिन्, 'पछि त बानी पर्न थाल्यो । फेरि दाइले टीका लगाएर के हुन्छ र भन्नुहुन्छ । यसैमा चित्त बुझाउँछौँ । प्रायः यस्ता चाडबाडमा भेट्न नआए पनि फोनचाहिँ गर्नुहुन्छ ।'

उता माओवादीका अर्का नेता सिपी गजुरेल गौरवकी बहिनी वैदेही निरौलालाई यसपालि दाइलाई टीका लगाइदिने ठूलो धोको छ । तर, शुक्रबारसम्म उनको चाहना पूरा हुने हो कि होइन, केही टुंगो छैन । 'यसपालि त दाइलाई टीका लगाउने मन छ, फोनबाट कुरा गरेकी छु, तर आउने/नआउने निश्चित भएको छैन,' उनले सुनाइन्, 'पूर्व जानुभाछ, आउने/नआउने टुंगो भएको छैन । मैले निम्तो पठाएकी छु ।'

शान्तिवार्तापछि तीनवटा तिहार आए, तर अहिलेसम्म भेट भएको छैन गौरव र उनकी बहिनीको । 'शान्ति-प्रक्रियामा आएको पहिलो वर्ष उहाँ जेलबाट नछुट्दै तिहार आयो । पोहोर साल उहाँ तिहारका बेला युरोपमा हुनुहुन्थ्यो । यसपालि त दाजुलाई टीका लगाउने मन छ,' गौरवकी बहिनी निरौलाले भनिन्, 'कान्छो दाइलाई बर्सेनि टीका लगाउँछौँ । ठुल्दाइ (गौरव) लाई टीका नलगाएको त २० वर्षभन्दा बढी भयो । यसपालि हुनुहुन्छ टीका लगाउन पाइएला कि भन्ने आश छ, तर दाइले मिल्यो भने मात्र आउँछु भन्नुभाछ ।'

जनयुद्ध सुरु हुनुभन्दा पहिला पनि भूमिगत नै थिए गौरव । 'युद्ध सुरु नहुँदा नै उहाँ भूमिगत हुनुहुन्थ्यो । त्यतिबेला लुकेर घर आएर टीका थाप्नुहुन्थ्यो,' उनले सुनाइन्, 'युद्ध सुरु भएपछि त घर आउनै गाह्रो भयो, त्यसपछि भेटै हुन छाड्यो ।' बहिनी निरौलाका अनुसार गौरवलाई सयपत्री फूलको माला मन पर्छ । तिहारमा उनलाई खसीको मासु चाहिने भएपछि दुई बहिनीले दाजुभाइका लागि यसको जोहो गर्ने गर्थे । 'उहाँलाई खसीको मासु मन पथ्र्यो,' २०/२५ वर्षअगाडिको तिहार सम्झँदै गौरवकी ४९ वषर्ीया बहिनीले भनिन्, 'टीका लगाएपछि उहाँले हामीलाई दक्षिणा पनि दिनुहुन्थ्यो । चलनअनुसार पैसा दिनुहुन्थ्यो ।'

माओवादी स्थायी समिति सदस्य तथा पार्टीसचिव पोष्टबहादुर बोगटी दिवकारकी बहिनी मैयाँ बोगटीलाई पनि हरेक वर्ष तिहार आउँदा आफ्ना दाजुभाइको याद आउँछ । तर, उनको तिहार त्यति रमाइलो हुने गर्दैन । 'के गर्ने परिस्थिति नै त्यस्तै भएपछि । तिहारजस्तो पर्वमा पनि दाजुभाइसँग बस्न नपाइने भयो,' उनले भनिन्, 'सँगै बसेर रमाइलो गर्न पाए त राम्रै हुन्थ्यो भन्ने लाग्छ । तर, समय र विचारले साथ दिँदैन । तैपनि, चित्त बुझाउँछौँ ।'

दिवाकरकी बहिनी मैयाँले आफ्ना दाजुसँग तिहार मनाउन नपाएको १३ वर्ष भएछ । 'युद्धकालमा त सँगै मनाउने कुरै थिएन, शान्तिकालमा पनि अरू समयमा भेट हुन्छ, तर तिहारमा भेट हुन पाएको छैन ।' यसपालि पनि दाइसँग तिहारमा भेट नहुने भएपछि मैयाँको चित्त दुखेको छ । 'उहाँ विदेश (दिवाकार साता लामो भ्रमणका लागि शनिबार न्युजिल्यान्ड जाँदै छन्) जाने रे तिहारमा । यसपालि पनि भेट नहुने भो,' उनले भनिन, 'सँगै बस्न पाइएला यसपालिको तिहारमा भनेकी थिएँ, तर नहुने भो ।'

'युद्धकालभन्दा पहिले टीका लगाउँथ्यौँ, रमाइलो हुन्थ्यो,' मैयाँले आफ्नो पारिवारिक कुरा खोल्दै भनिन्, 'मेरा एक भाइ र एक दाइ हुनुहुन्छ ।' उनले दाइलाई सेलरोटीदेखि अरू परिकार र मौसमअनुसारका फलफूल खुवाउने गरेको सुनाइन् तिहारमा । 'तिहारमा दाइले घरमा रमाइलो गर्न रुचाउनुहुन्थ्यो । उहाँ हामीलाई कहिले कपडा, कहिले पैसा दिनुहुन्थ्यो,' मैयाँ भन्छिन् ।

माओवादीका अर्का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीका दुई बहिनी छन्, कमला र विष्णु । आफ्ना दाजुसँग तिहारमा टीका लगाउने योजना थियो कान्छी बहिनी विष्णुको, तर यसपालि टीका लगाउन नमिल्ने भएको छ ।

उनले लामो समयपछि पोहोर साल आफ्ना दाजुलाई टीका लगाइदिएको बताइन् । 'जनयुद्धकालमा दाइ भूमिगत भएपछि टीका लगाउने अवसर नै पाइएन,' उनले सुनाइन्, 'युद्ध सुरु भएपछि एकपटक मात्र टीका लगाउने मौका आयो ।' रायमाझीकी बहिनीलाई तिहारमा आफ्ना दुई दाइको याद आउँछ । 'उहाँ राजनीति गर्ने मान्छे यस्तै बेला-मौकामा भेट हुने आश गर्छु, तर उहाँहरू कता-कता भएपछि भेटै हुँदैन,' उनले सुनाइन्, 'जनयुद्ध सुरु हुनुअघि त हामी तिहारमा धेरै रमाइलो गथ्र्यौं ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by