ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 11, 2009

ल्हासा रेलमार्ग नेपाल ल्याउन आग्रह

काठमाडौं, असोज २५ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले तिब्बतको ल्हासासम्म आइपुगेको रेलमार्ग नेपालसम्म विस्तार गर्न र द्विपक्षीय नाकामा पूर्वाधार निर्माणमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन्। 'तिब्बतको ल्हासासम्म आइपुगेको रेलमार्ग नेपालसम्म जोड्न र सीमा नाकाहरूमा पूर्वाधार निर्माण गर्न म (चीन सरकारलाई) आग्रह गर्छु' राजधानीमा शनिबारदेखि सुरु सप्ताहव्यापी चिनियाँ महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, 'यसो भएमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ बढ्नेछ। चीन नेपालको व्यापार साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले व्यापारिक सम्बन्धलाई विस्तृत बनाउन नयाँ ढंगले सोच्नुपर्ने औल्याए। चीनसँग बढ्दो व्यापार घाटाप्रति उनको संकेत थियो। नेपालको चीनसँग वार्षिक २२ अर्ब रूपैंयाभन्दा बढीको व्यापार घाटा छ।

प्रधानमन्त्री नेपालले व्यापार घाटा न्यून गर्नका लागि नेपाली ४ सय ९७ उत्पादन सामग्रीलाई विनाभन्सार चिनियाँ बहारमा पहुँच उपलब्ध गराउन आग्रह गरे। कम्युनिष्ट पार्टी नेतृत्वको चिनियाँ व्यवस्थाले ६ दशकमा गरेको प्रगति अवलोकन गर्न र त्यसबाट फाइदा लिन नेपालीहरू उत्सुक रहेको बताउँदै उनले दुईदेशबीच पर्यटन आउजाउ बढाउनुपर्ने औल्याए।

'नेपाल पर्यटक लोभ्याउने सुन्दर देश हो, चिनियाँ पर्यटन भित्राउन सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्नेछ' उनले भने, 'चीन नेपाली जनताको रुचीभित्र पर्छ, चिनियाँ विकासले हामीलाई अनौठो अनुभव दिनेछ। दुई देशबीच (जनस्तरमा) आउजाउका लागि ठोस रूप दिनुपर्छ।'

प्रधानमन्त्री नेपालले नेपालको पर्यटन, कृषि, जडिबुटी प्रशोधन, जलस्रोत र पूर्वाधार निर्माणमा चिनियाँ व्यवसायीलाई लगानी गर्न आग्रह गर्दै लगानी सुरक्षाका लागि सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता जनाए।। उनले भने, 'जलस्रोत, पर्यटन, कृषि, जडिबुटी प्रशोधन, र पूर्वाधार निर्माणमा लगानी गर्न म (चिनियाँ व्यवसायीलाई आग्रह गर्छु। त्यसका लागि आवश्यक वातावरण बनाउन नेपाल सरकार तयार छ।'

क्षेत्रीय शान्ति र आपसी हितका लागि नेपाल-चीन सम्बन्ध बलियो र बहुआयमिक बनाउनुपर्ने उनले बताए। 'हामीबीच जनस्तरमा सम्बन्ध अझ व्यापक, बलियो र बहुआयमिक बनाउन आवश्यक छ' प्रधानमन्त्रीले भने 'यसो हुन सके यस क्षेत्रमा शान्ति र हित कायम हुनेछ।' नेपालले चीनसँगको सम्बन्ध फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्‍याउन चाहेको उनको भनाई थियो।

प्रधानमन्त्रीले नेपाल र चीनबीच एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको उल्लेख गर्दै यसलाई अझ 'व्यापक र सामाजिक' बनाउनुपर्ने औल्याए।
नेपालले दुई देशबीच १६ सय वर्षदेखि 'ऐतिहासिक र मैत्रीपूर्ण' सम्बन्ध रहेको उल्लेख गर्दै यो निरन्तर सुदृढ हुँदै गइरहेको बताए।

कम्युनिष्ट शासन लागू भएयता ६० वर्षयता चीन विश्वमा शक्तिशाली र महत्वपूर्ण राष्ट्रका रूपमा उदाएकोमा छिमेकी नेपालले समेत गर्व गरेको उनले बताए। 'नेपालले चीनको प्रगतिमा गर्व गरेको छ' यही अक्टोबर १ मा कम्युनिष्ट शासन स्थापनाको हिरक जयन्ती मनाएकोमा उनले बधाई दिँदै भने, 'नेपल-चीन सम्बन्ध दुई देशबीच सीमानामा रहेका हिमाल झैं अटल छ।'

प्रधानमन्त्रीले नेपाली भूमिमा चीनविरोधी कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याए। 'नेपालले चीन विरोधी कुनै पनि गतिविधिलाई छुट दिने छैन' उनले भने, 'एक चीन नीतिप्रति हामी प्रतिबद्ध छौं।' चीनले नेपालभित्र र संयुक्त सीमा क्षेत्रमा स्वतन्त्र तिब्बत पक्षधरहरुको प्रदर्शन रोक्न नेपाललाई दबाब दिँदै आएको छ।

1 comment:

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by